STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

साफको फाइनलमा पुग्न चाहन्छौँ : कप्तान किरण

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन १४, बिहिबार

काठमाडौं - नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बू (चेन्जोङ)ले साफ च्याम्पियनसिपका सबै खेल जित्दै फाइनलमा पुग्ने टोलीको योजना रहेको बताएका छन् । बिहीबार प्रतियोगिताको प्रि-म्याच पत्रकार सम्मेलनमा बोल्दै उनले साफका सबै खेल महत्त्वपूर्ण हुने बताएका हुन् ।

उनले भने, ‘साफका सबै खेल महत्त्वपूर्ण हुनेछन् । हामी सबै खेल जित्दै फाइनल पुग्न चाहन्छौँ ।’  १३ औँ संस्करणको दक्षिण एसियाली खेलकुद प्रतियोगिता साफ च्याम्पियनसिप भोलिदेखि माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा आयोजना हुँदै छ ।

प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंका र बंगलादेश भिड्ने छन् । नेपालले भोलि नै राति ९ः ३० बजे आयोजक माल्दिभ्सको सामना गर्नेछ ।

खेलअघि बोल्दै कप्तान किरणले नेपाली टोलीमा युवा र अनुभवी खेलाडीको राम्रो तालमेल रहेको र उत्कृष्ट नतिजाका लागि खेल्ने बताए । ‘हामीसँग युवा तथा अनुभवी खेलाडीको राम्रो तालमेल छ । हामी उत्कृष्ट नतिजाका लागि मैदानमा उत्रनेछौँ ।’

यस्तै, किरणले माल्दिभ्सलाई घरेलु दर्शक र मैदानको फाइदा हुने भए पनि त्यसले खासै नेपाली टोलीलाई फरक नपर्ने प्रतिक्रिया दिए ।

यता, नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले नेपाली टोलीको तयारी राम्रो रहेको बताउँदै सुरुवाती खेलमा माल्दिभ्ससँग खेल्न कठिन हुने बताए । प्रशिक्षक किरणले प्रतियोगिताको बलियो टोली इण्डिया र माल्दिभ्स रहे पनि आफूहरूले उपाधि दाबेदारी प्रस्तुत गर्ने बताएका छन् ।

प्रि-म्याच पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्तुताइरी भने अनुपस्थित थिए ।

Categorized in खेलकुद