सातौँ धाम शैल्यशिखर पूजन जात्रा लाग्दै
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ३०, सोमबार
देशकै सातौँ धामका रूपमा रहेको शैल्यशिखर धाम तथा मालिकार्जुन मन्दिरमा लाग्ने पूजन जात्राको यात्रा आरम्भ भएको छ । हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन लाग्ने शैल्यशिखर मालिकार्जुनको पूजन जात्राको यात्रा आज बिहानदेखि आरम्भ भएको हो ।
दार्चुलाको मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने शैल्यशिखर धाममा हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन र कार्तिक शुक्ल त्रयोदशीका दिन शिखर पूजन जात्रा लाग्ने गर्दछ । शिखर धाम पूजापाठ गर्न मालिकार्जुन मन्दिरबाट बिहानै शिखरको यात्रा आरम्भ भएको मालिकार्जुन विकास समितिका सचिव जनकसिंह धाँमीले जानकारी दिनुभयो ।
मालिकार्जुन गाउँपालिका वडा नं ३ स्थित भण्डारी घरबाट शिखरको यात्रा आरम्भ हुने गरेको छ । आजको शिखर जात्राका लागि दार्चुला, बैतडी, डडेल्धुरालगायतका सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा छिमेकी राष्ट्र भारतको उत्तराखण्डबाटसमेत श्रद्धालु भक्तजन मालिकार्जुन आएका छन् । शिखर जात्राका लागि टाढाबाट आउने भक्तजन आइतबार साँझ मालिकार्जुन मन्दिर पुगेका थिए । मालिकार्जुन पुगिसकेका भक्तजनको शिखर यात्रा बिहानै शुरु भएको स्थानीय रामसिंह धाँमीले बताउनुभयो ।
पवित्र मनले शैल्यशिखरको दर्शन गर्नाले पूण्यप्राप्ति हुने, मनोकामना पूरा हुनुका साथै निःसन्तानलाई सन्तान सुखसमेत हुने जनविश्वास रहिआएको छ । हिन्दू धर्मावलम्बीको आस्थाको धरोहर मानिने शैल्यशिखर धामको दर्शन गर्न विवाहित महिला तथा व्रतबन्ध गरेका पुरुष १५ दिन अगाडिदेखि नै शुद्ध भएर पवित्र मनले शिखर जात्राको यात्रा गर्ने गर्छन् । शिवलिङ्गका रूपमा परिचित शिखर धाममा मालिकार्जुन तथा भागाश्री अर्थात शिव–पार्वतीको मुख्य बासस्थान रहेको जनविश्वास रहेकाले विभिन्न स्थानबाट दर्शन गर्न आउने भक्तजनको भीड लाग्ने गरेको छ ।
शिखर दर्शन गर्न जानेले १५ दिनअघिदेखि नै मासु, प्याज, लसुनजस्ता चिज खानु हुँदैन । बिहानै शिखर धाम जाँदा विभिन्न बाजागाजा बजाउने, फाग झोडो, लोक भजन गाउँदै मडको भण्डार घरबाट भक्तजन जाने गर्छन् । मन्दिरको दर्शन गरेपछि उनीहरु पुनःमालिकार्जुन मन्दिरमा फर्किएर पूजन कार्य गरेर जात्रा समापन हुने गरेको धाँमीको भनाइ छ ।
Categorized in राष्ट्रिय


