STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सरिताको हत्यामा पारिवारिक संलग्नता

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २४, मंगलबार

मण्डन देउपुर नगरपालिका–६ सिपाघाटकी २५ वर्षीया सरिता दुलालको हत्यामा परिवारका अन्य सदस्यसमेतको संलग्नता रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । उनका श्रीमान् सुदीपले सरिताको हत्या आफूले गरेको स्वीकारे पनि घटनाको प्रकृतिका आधारमा परिवारका अन्य सदस्यलाई समेत हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अनुसन्धानबाट परिवारको अन्य सदस्यसमेतको संलग्नता देखिँदैछ, हिरासतमा राखी थप अनुसन्धान गर्दैछौँ ।” प्रहरीले सरिताका श्रीमान् सुदीप, ससुरा पिताम्बर, सासु गङ्गा, जेठाजु केशव, जेठानी सङ्गीतालाई हिरासतमा राखी थप अनुसन्धान गर्न सोमबार १० दिनको म्याद थपेको छ । प्रहरीले वैशाख १३ गते सरितालाई घाँटीमा नीलडाम भएको अवस्थामा मृत फेला पारेको थियो । अघिल्लो दिन राति हत्या भएको र भोलिपल्ट मात्रै परिवारले प्रहरीलाई खबर गरेको अनुसन्धानबाट खुलेको छ । सरिताको हत्यापछि श्रीमान् सुदीप फरार अवस्थामा रहनु, भुइँतलामा बस्दै आएकी सरिताको घाँटीमा डोरीले कसेको नीलडामसहितको शव माथिल्लो तलामा भेटिनु, बिहान १० बजे मात्रै घरका अन्य व्यक्तिले सरिता मृतक अवस्थामा भेटिएको भनी प्रहरीलाई खबर गर्नुले कर्तव्य गरी मारेको हुनसक्ने जनाउँदै मृतकका दाजु मण्डन देउपुर नपा–४ चैनपुरका कृष्णप्रसाद दाहालले वैशाख १३ गते नै प्रहरीमा जाहेरी दर्ता गर्नुभएको थियो । प्रहरीले जोहरीका आधारमा सोही दिन गाउँ छाडेर भाग्ने तरखरमा रहेका श्रीमान् सुदीप तथा परिवारका अन्य सदस्यलाई गिरफ्तार गरेको थियो । घटनाको प्रकृति शङ्कास्पद देखिएपछि प्रहरीले शिक्षण अस्पताल काठमाडाँैमा मृतकको शव परीक्षण गराएको छ । परीक्षण रिपोर्टले पनि श्रीमान् एक्लैबाट सरिताको हत्या नभएको देखाएको प्रहरीले जनाएको छ । सरिताको रहस्यमय मृत्यु भएको जनाउँदै स्थानीय महिलाले वैशाख १७ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा दबाबपूर्ण प्रदर्शन गरी सत्यतथ्य छानबिनको माग गरेका थिए । स्थानीयका अनुसार चार वर्षअघि सरितासँग विवाह गरेका सुदीप दुई वर्षदेखि मानसिक रोगी थिए । सुदीप र सरिता बाबुआमासँगै एउटै घरको भुइँतलामा बसेको भए पनि खाना भने अलग्गै खाँदै आएका थिए ।
Categorized in अपराध-दुर्घटना