STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सरकारसँग ऋण लिएर आयल निगमले आईओसीलाई पठायो १३ अर्ब बढी भुक्तानी

Janjati Khabar – Janjati Khabar | २०७८ माघ १०, सोमबार

माघ १०, काठमाडौं - सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई १३ अर्ब बढी भुक्तानी गरेको छ ।

निगमले मूल्य स्थिरीकरण कोषबाट १ अर्ब ८० करोड लिएर जनवरी महिनाको दोस्रो किस्ताबापतको रकम आईओसीलाई भुक्तानी गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।  निगमले सोमबार आईओसीलाई १३ अर्ब २० करोड रुपैयाँ पठाएको छ ।

सञ्चित बचत शून्यमा पुगेसँगै आईओसीलाई तिर्नुपर्नेमध्ये एक अर्ब ८० करोड अपुग भएपछि निगमले उक्त रकम उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको थियो । मूल्य स्थिरीकरण कोष सञ्चालक समितिको शुक्रबारको बैठकले आईओसीलाई तिर्न अपुग एक अर्ब ८० करोड रुपैयाँ निगमलाई उपलब्ध गराउने निर्णय गरेको थियो ।

कोष सञ्चालक समितिको अध्यक्ष वाणिज्य तथा आपूर्ति सचिव रहने व्यवस्था छ । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा स्थिरिता कायम गर्न २०७१ मा ‘पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य स्थिरीकरण कोष (सञ्चालन) नियमावली’ जारी गरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार उकालो लाग्दा निगमको घाटा पनि चुलिँदै गएको छ । पेट्रोलियम पदार्थको खरिद मूल्य बढ्दै जाँदा मूल्य समायोजन नगर्ने हो भने निगम थप घाटामा जाने जानकारको भनाइ छ । सरकारसँग पैसा मागेर जनवरी महिनाको दोस्रो किस्ता बुझाएका निगमका अधिकारी आईओसीलाई अर्को महिनाको किस्ता कसरी बुझाउने भन्ने चिन्तामा छन् ।

निगमले दोस्रो किस्ताबापत आईओसीलाई २३ तारिखमा रकम बुझाउनुपर्ने भएपनि आइतबार आईओसी बन्द भएका कारण एक दिनपछि भुक्तान गरेको हो । निगमले प्रत्येक अंग्रेजी महिनाको ८ र २३ तारिखमा आईओसीलाई पेट्रोलियम पदार्थ खरिद गरेबापतको रकम भुक्तानी गर्दै आएको छ । रासस

Categorized in राजनीति