सम्बन्ध विच्छेदका कारण बालश्रमको बढ्दै
Janjati Khabar | २०८२ माघ १७, शनिबार
भोजपुर,सम्बन्ध विच्छेदका घटनाले बालबालिकाको जीवनमा असर पार्न थालेको छ । पारिवारिक विखण्डनसँगै अभिभावकको संरक्षण, माया–ममताबाट वञ्चित बालबालिका श्रममा धकेलिन थालेका छन् ।
वैवाहिक सम्बन्ध टुट्ने क्रम बढ्दै जाँदा धेरै बालबालिका विद्यालय छोडेर रोजगारीमा लाग्न बाध्य भएका छन् । आमा–बुवाको सम्बन्ध विच्छेद सिर्जित आर्थिक अभाव, भावनात्मक अस्थिरता तथा अभिभावकत्वको कमीका कारण उनीहरू घरेलु काम, होटल, सवारीसाधन मर्मत गर्ने ग्यारेज, कृषि तथा साना उद्योगमा श्रम गर्न विवश भेटिन्छन् ।
साल्पासिलिछो गाउँपालिकाका एक १६ वर्षीय बालक खेतबारी जोत्नेदेखि अर्मपर्म तथा ज्यालादारी काम गर्दछन् । पारिवारिक बेमेलका कारण घरखर्च धान्न बाध्य भएर अरूको खेतबारीमा काम गर्नुपरेको बालकको भनाइ छ । स्थानीय सामाजिक अभियन्ताहरूका अनुसार सम्बन्ध विच्छेदपछि आमाबुवामध्ये एक जना रोजगारीका लागि बाहिरिनु, अर्काले पर्याप्त आम्दानी गर्न नसक्नु तथा पारिवारिक जिम्मेवारी कमजोर हुनु बालश्रम बढ्नुका मुख्य कारण बनेका छन् । अभिभावकको निगरानी र सहाराको अभावमा बालबालिका पढाइभन्दा श्रमतर्फ उन्मुख हुने गरेको उनीहरूको भनाइ छ ।
सम्बन्ध विच्छेदपछि बालबालिकाको संरक्षण, शिक्षा र मानसिक स्वास्थ्यमा राज्य तथा स्थानीय तहले विशेष ध्यान दिनुपर्ने देखिएको छ । अभियन्ता सम्झना प्रधानका अनुसार बुवा–आमाको सम्बन्ध विच्छेदपछि पर्ने मनोवैज्ञानिक असरले बालबालिकाले पढाइ छाड्ने,आफन्तकहाँ गएर बस्ने तथा विभिन्न खालका काममा संलग्न हुने गतिविधि बढ्दै गएको छ ।
पारिवारिक बेमेलले बालबालिकालाई श्रममा धकेल्ने अवस्था सिर्जना हुने उहाँको भनाइ छ ।बालश्रम न्यूनीकरणका लागि परिवार परामर्श सेवा, अभिभावक सचेतना, विद्यालयमा पुनः भर्ना कार्यक्रम तथा सामाजिक सुरक्षा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन् ।
सम्बन्ध विच्छेदको सामाजिक यथार्थसँगै त्यसबाट उत्पन्न बालश्रमको समस्यालाई समयमै सम्बोधन नगरे भविष्यमा अशिक्षा, गरिबी र सामाजिक विकृतिको चक्र अझै गहिरिने सरोकारवालाहरूको चिन्ता छ ।
नननननननननननन
चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग
काठमाडौँ, १७ माघः नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरकारसँग उचित सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न माग गर्नुभएको छ ।
एमालेको ओखलढुङ्गा काठमाडौँ सम्पर्क मञ्चले आज काठमाडौँमा आयोजना गरेको चुनावी भेलालाई सम्बोधन गर्दै उहाँले चुनावमा धाँधली वा अवाञ्छित क्रियाकलाप हुन नदिन शान्ति, सुरक्षाको प्रभावकारी व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । उहाँले जिल्लाको विकास गर्ने र जनताको समस्या बुझ्ने युवा नेत्री अस्मिता थापालाई उम्मेवार बनाएकाले मतदातासँग उहाँलाई मत दिन आग्रह गर्नुभयो ।
उम्मेदवार थापाले ओखलढुङ्गाका जनताले दिएको मत गलत कार्यमा प्रयोग नगर्ने भन्दै सकारात्मक काम गरेर असल छोरी र असल जनप्रतिनिधिका रूपमा प्रमाणित गर्ने दाबी गर्नुभयो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा ओखलढुङ्गा जिल्ला इन्चार्ज यज्ञराज सुनुवारले युवा महिला उम्मेदवार पाउँदा ओखलढुङ्गामा ठूलो उत्साह आएको धारणा राख्नुभयो ।


