STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सन्दर्भ: नेपालको अस्तित्त्व बचाउने एकिकरणकर्ता खास कसलाइ मान्ने ?

Janjati Khabar – रोशन श्रेष्ठ | २०७८ पौष २७, मंगलबार


एक साथी लेख्नुहुन्छ:
"नेपाललाई पछिसम्म गोर्खा लेख्ने अङ्ग्रेजी साम्राज्य थियो जसको आजसम्म उदाहरण गोर्खा रेजिमेन्ट र राइफल्स आजसम्म छ भारत र इङ्ल्याण्डमा । ... आजको नेपाल भूगोलको केन्द्र त्यस बखतको बलशाली एव सप्पन्न उपत्यका राज्यहरुमा वाइवल प्रचार र ब्यापार संभावना दुबै बोकी केहि युरोपेली छिरिसकेका थिए । ... उता भारततिर लगभग मुगल साम्राज्य नाम मात्रको थियो । सैनिक र प्रशासन अङ्ग्रेजी इष्ट इन्डिया कम्पनीमा पुगिसकेको थियो । यस्तो परिबेशमा युरोपको फ्रान्स, इङ्ल्यान्ड जस्तो स्टेट नेशन अवधारणा पृथ्वीनारायण शाहले नै बुझेका रहेछन । "
यहाँ माथि तिनथोप्लो रहेको ठाउँमा साथीले अन्य थुप्रै कुरा उल्लेख गरेका थिए, तर प्रसंग नअलमलियोस भनी तिनलाइ हटाएर पेश गरिएको छ।
वि.सं. १९८५ (करीब ९० बर्ष अघी) मात्रको कुरा हेर्दा देखिन्छ कि नेपालको हुलाक टिकटमा "गोर्खा सरकार" लेखिन्थ्यो। त्यो शव्द अंग्रेजी साम्राज्यले लेखिदिएको होइन । ढाँट र झूठमा अन्धो भएर के फाइदा?
धेरैलाइ विश्वास दिलाइएको छ "पृथ्वीनारायणले जे गरे त्यो नगरेका भए नेपाल भन्ने स्वत्रन्त्र राष्ट चै आज हुन्नथ्यो"। यो झूठ हो, किन कि उनले गोर्खालाइ विस्तार गरेका थिए, नेपाल हानेका थिए, कज्याएका थिए।
मावली जाँदा सानो गरीब देशको राजकुमार, तराइमा जमिन नभएको भनेर हेपाइ खाएको इखमा पृथ्वीनारायण गोर्खालाइ शक्तिशाली बनाउन हिडेका हुन, नेपाल हत्याएर धनी र ठूलो देशको राजा बन्ने उनको सपना पुरा भएको हो। जुम्लामा त अचेल पनि सरकारी कर्मचारीलाइ गोर्खाली भन्नेहरु बाँकि छन्। सिक्किम, कालिम्पोङ, धरान, धनकुटा, बाग्लुङ जताततैका मानिसहरु काठमाँडौ जानलाइ 'नेपाल जाने' भन्ने गरेकाहरु जिउँदै भेटिन्छन्।
पृथ्वीनारायण नभए नेपाल देश हुन्नथ्यो' भन्ने खाले कुराहरु बच्काना कुरा मात्र हो। मुगललाइ कमजोर बनाउने ब्रिटिशको योजना-नीति अनुसार भारत-तिब्बतको ब्यापारिक करिडर बनेको नेपालको अर्थतन्त्र ध्वस्त बनायो उसले।
नेपालको राजा आफैं भैकन आफ्नै जनतालाइ आतंकमुनी पिल्सेर कज्याउन नाक-कान काटेको कुरा छोपेर "बाइबल बोक्नेहरु" छिराएको कुरालाइ उछाल्नुको कुनै तुक छ?
तात्कालीन नेपालको सम्पन्नताबाट लोभिएर छिर्नेहरु बाइबल मात्र होइन बेद, कुरान, बोक्नेहरु पनि थिए । नागा, नाथ, वैष्णवि, मुस्लिम, जैन, क्रिस्तान सबैखाले मान्छेहरु आवतजावत गर्थे मल्लकालीन नेपालमा। तर आन्तरिक कलह, ओभर कन्फिडेन्स र गलत सैन्य नीतिका कारण समृद्ध मल्लराज्य गोर्खालीसामू पतन भए, त्यो राजनीतिक पतन पश्चात नेपालको समृद्धियात्रामा पूर्णविराम लाग्यो।
यदि गोर्खाले गरेको सिमाना विस्तारलाइ नै एकिकरण मान्ने भए राजेन्द्रलक्ष्मी शाह र बहादुर शाहले खासमा एकिकरण गरेको मान्नुपर्छ। उनीहरुले जति सिमाना विस्तार गरे, त्यति त पृथ्वीनारायणले पनि गरेको थिएन। किन राजेन्द्रलक्ष्मी शाह र बहादुर शाह जस्ता बीर-बिरांगना पात्रहरु एकिकरणकर्ता नमानिएको होला? यिनले नेवारको नाक-कान नकाटेको भएर एकिकरणकर्ता नमानिएको हो त?
नेपाल देशको अस्तित्त्व स्थापित गरेको राजालाइ एकिकरणकर्ता मान्ने भए इतिहास खोतलेर हेरौं। देशको नाउँमा गोर्खा शव्द छाडेर नेपाल शव्द प्रयोग गरी यो मेची-महाकाली फैलिएको देशलाइ नेपाल भनी अन्तर्राष्ट्रीय नक्सामा स्थापित गर्ने पहिलो राजा को हो? त्यो राजा त्रिभुवन हो। उनी राज्यभिषेक हुँदा गोर्खा सरकारका राजा थिए, र उनैको शासनकालमा देशको नाउँ नेपाल भनी प्रख्यात भएर गयो। यो सत्यतथ्य हो। तर किन उ नभए नेपाल रहन्नथ्यो भनेर त्रिभुवनको चर्चा गरिदैन? यिनलाइ नेपाल-एकिकरणकर्ता किन नमानिएको होला? यिनले पनि नेवारको नाक-कान नकाटेको भएर एकिकरणकर्ता नमानिएको हो त?
राजा त्रिभुवनकै पालामा भारतका विस्तारबादी नेता बल्लभ भाइ पटेलले नेपाल हडप्ने सोच राखेको कुरा इतिहासमा सप्रसंग उल्लेख छ। पटेललाइ नेहरुले रोके, र रोक्नु पर्ने परिस्थितिको जस तात्कालिन राजाको हैसियतले त्रिभुवनले पाउनुपर्छ। यसर्थ पनि 'फलाना नभए नेपाल रहन्नथ्यो' भन्नेखाले कुरा गर्दा त्यो 'फलाना'को भनेको 'त्रिभुवन' हो भन्नु पर्ने हो, तर भनिदैन, किन? त्रिभुवन नै वास्तवमा आधुनिक नेपालको पहिलो राजा हो। त्रिभुवन नै जनतासित हातेमालो गर्दै निरंकुश शासनको पकडबाट देशलाइ मुक्ति दिन गद्दि दाउमा हालेर बिदेशिएको राजा हो। त्रिभुवन नै बल्लभभाइ जस्ता विस्तारबादीको कुदृष्टिबाट देश शिकार हुन बचाउने राजा हो। तर पनि उनलाइ बडामहाराजधिराज मानी जयजयकार गर्न तपाइहरु चाहनुहुन्न, किन? किन कि उनले नेवारको नाक-कान काटेन - कुरो त्यहि हैन र?
सुगौलि सन्धि पश्चात त नेपाल पूर्णतया बेलायती-भारती छाँयामा रह्यो। यदि नेपाल संयुक्त राष्ट्रसंघमा सदस्य बन्न असफल भएको भए यतिञ्जेल नेपालको हालत तिब्बत-सिक्किम भन्दा फरक नहुने रहेछ भन्ने कुरा इतिहास बुझेका सबैलाइ थाहा छ।नेपालको अस्तित्त्व स्थापित गरी स्वतन्त्र राष्ट्रको रुपमा उभ्याउन सबैभन्दा ठूलो कोशेढुंगा भनेको नै नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता पाउनु हो। त्यसको निमित्त कति स्ट्रगल भयो, इतिहास बुझेकाहरुलाइ त्यो पनि थाहा छ। तात्कालीन सोभियत संघले भारतको इशारामा नेपाललाइ सदस्यता दिनु हुँदैन भनी भिटो प्रयोग गरेको थियो। संरासंघको सदस्यता पाउन नसकेका ताइवान, हंगकंग, मकाउ, तिब्बत आदि को हालत त देखीरहनु भएकै होला। नेवार संपदाहरु (मठमन्दीर, रंजनालिपि, नेपाल सम्बत, बौद्ध धर्मशास्त्र, प्रचलित नेपाललिपिका पुरानो स्रेस्ताहरु, मल्लकालीन सिक्काहरु आदि) प्रमाणको रुपमा राखी नेपालको छुट्टै अस्तित्त्व छ भन्ने दाबि प्रमाण र अमेरिकाको कूटनीतिक साथसहयोग पाएपछि नेपालले संरासंघको सदस्यता पायो र नेपालको अस्तित्त्वमाथि बिदेशी कुदृष्टिको जोखिम हटेर गयो। यसरी नेपालको अस्तित्त्व बचाएको त महेन्द्रले हो। तर महेन्द्रलाइ पनि 'उ नभए नेपालको अस्तित्त्व हुन्थेन' भनी तारीफ गरिन्न, किन? यिनले पनि नेवारको नाक-कान नकाटेको भएर एकिकरणकर्ता नमानिएको हो त?
नेपाल रहन्छ वा रहन्न सित पृथ्वीनारायणभक्तहरुको चासो 'देखावटी' मात्र हो, किन कि 'नेपाल'को अस्तित्त्व राख्नको निमित्त महत्त्वपूर्ण योगदान दिने राजारानीहरुलाइ ओझेल पारेर, कुतर्क गर्दै, नाक-कान काट्ने पृथ्वीनारायणको मात्रै जयगान गर्नुपछाडि के स्वार्थ छ? दुखेको घाउमा नुनचुक छर्न मजा आउने परपीडक सोचाइ नहुँदो हो त यो कुरा बर्षेनी दोहोरिने थिएन ।
कुरा बुझौं, सहि इतिहास जानौं।
Categorized in विचार