STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सन्दर्भ : गुथि विधेयक– अबको युद्ध, नेवारहरुको अन्तिम युद्ध हो !

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २९, बुधबार

देशभित्र अहिले आदिवासी जनजाति नेवारहरुको अन्तिम लडाइँ शुभारम्भ भाको छ । खै, के लेखौं ? कहाँबाट लेखुँ ? धेरै छन् लेख्ने चीजहरु । अँ, असार १३ गते नेपालभरिका सम्पूर्ण हलहरुमा रिलिज हुन लागेको ‘कीर्तिपुर ः द लिजेण्ड अफ कीर्तिलक्ष्मी’ ऐतिहासिक फिल्मबाट सुरु गरौं । जुन फिल्म आजको परिस्थितिसंग पनि सम्बन्धित फिल्म हो । किनकि यो फिल्म कीर्तिपुर र गोर्खाली राजा पृथ्वीनारायण शाहसंग सम्बन्धित युद्धको एउटा कालखण्डको सत्य घटनामा आधारित ऐतिहासिक फिल्म हो ।

हुनतः यो फिल्मको निर्माण ८–९ बर्ष अगाडि नै भएको थियो । तर त्यो बेलाको शासक भनुँ या गृहमन्त्रालयले पृथ्वीनारायण शाहलाई ‘भेलेन’को रुपमा उभ्याइएकोमा आपत्ति जनायो । कालु पाण्डेको शीर काटेकोमा आपत्ति जनायो । सेन्सर गरेर सीनहरु काट्न लगाइयो । फिल्म युनिटको मेहनत र परिश्रममा त्यो बेलाको गृहमन्त्रालयले कुठाराघात गरियो ।

के, कीर्तिपुरेको लागि पृथ्वीनारायण शाह ‘दुश्मन–भेलेन–शत्रु’ हैन त ? जुन ठाउँमा आक्रमण गर्ने मान्छे उक्त ठाउँको ‘हिरो’ पक्कै पनि हुँदैैन । सबलाई थाहा भएकै कुरा हो । त्यसैले पृथ्वीनारायण शाहले कीर्तिपुरमा आक्रमण गरेर युद्ध विपरित चरित्र देखाई कीर्तिपुर आफ्नो कब्जामा लियो, त्यसैले कीर्तिपुरेको लागि शत् प्रतिशत पृथ्वीनारायण ‘भेलेन’ हो । इतिहासले देखाएको सत्यता हो ।

हो, कीर्तिपुरको युद्धमा पृथ्वीनारायणका काजी यानिकी प्रधानमन्त्री कालु पाण्डेको शीर काटेको थियो । शीर काटे पनि कालु पाण्डे १०÷२० मिटर दौडेको थियो भन्ने इतिहास छ कीर्तिपुरमा । ‘कीर्तिपुर’ फिल्ममा पनि फिल्मी युनिटले त्यही दृष्य देखाएको थियो । तर त्यो बेलाको गृहमन्त्रालयलाई आपत्ति भो कालु पाण्डेको शीर काटेको र शीर नभाको कालु पाण्डे भागेको !

के हो यो ? प्रजातान्त्रिक गणतान्त्रिक देशका शासकहरुको हविगत यतिसम्म गिरेको छ भनेर यसबाट पुष्टि हुन्छ । जुन तन्त्र, राजाको तन्त्रलाई जरादेखि उखेलेर प्रजातन्त्र र गणतन्त्रको उद्घोष भएको देशमा इतिहासमा उल्लेखित सत्य घटनालाई उजागर गर्दा पनि आपत्ति प्रजातन्त्र–गणतन्त्र मुकुण्डोधारी शासकलाई । के राजतन्त्र प्रजातन्त्र र गणतन्त्रको शत्रु हैन र ? भेलेन हैन र ? दुश्मनसंग भएको एउटा कालखण्डको इतिहासलाई अहिलेको पुस्तालाई देखाउने सूत्रधारहरुको प्रतिभाप्रति किन आपत्ति जनायो प्रजातान्त्रिक गणतान्त्रिक मुलुक नेपालका शासकहरुले । के सच्चा इतिहासलाई छोप्नु पर्ने हो त प्रजातान्त्रिक गणतान्त्रिक देशमा ? यसबाट सम्पूर्ण जनसमुदायलाई अवगत होस् कि, राजतन्त्रको अन्त्य भएकै हो, तर राजतन्त्रको भूत–प्रेतआत्मा प्रजातान्त्रिक गणतान्त्रिक शासकहरुमा जागृत छ । राजतन्त्रको कानूनलाई शिरोपर गरिरहेका छन् । हामी अहिलेका शासकहरुको शैली पंचायतकालको परिस्थितिसंग तुलना गरौं । नेपाली कांग्रेस नै भनुँ, कम्युनिष्ट नै भुनँ, राप्रपाको त कुरै छोडौं । सबभन्दा देश पहिले बिगार्ने नेपाली कांग्रेस नै हो, अनि कम्युनिष्ट । राप्रपा त प्रजातन्त्र बस्त्रधारी राजतन्त्रका रक्षक हुन्, बनाउँदैन देश ।

अब यहाँ कुरो उठ्यो । पार्टी बन्यो, पार्टीले देश चकनाचूर बनायो । सही तथ्य हो । कसैले नकार्न सकिंदैन । अबको स्थिति भनेको कांग्रेस, कम्युनिष्ट, राप्रपा पार्टीको मान्छे म, पार्टीले जे भन्छ त्यै गर्छु भनेर बस्ने स्थिति यो पक्कै पनि हैन । जुनसुकै पार्टीको होस, हामी एक होऔं । हामी आदिवासी जनजाति नेवारहरु सब एक होऔं । पार्टीलाई पराकाष्ट गरौं । यहाँ आदिवासी जनजाति नेवारहरुको पहिचान गुम्ने स्थितिमा उथलपुथल भइरहेको वातावरण छ काठमाडौं उपत्यका हाल । जुन जातिले नेपालको पहिचान विश्वसामू गर्वका साथ दिइरहेका छन् अहिलेसम्म, तिनीहरुलाई नै बिस्थापित गर्ने बाटोतिर यो सरकार लम्किरहेको छ । सडक बिस्तारको नाममा ऐतिहासिक संग्रहालय रुपी बस्तीहरु, सम्पदाहरु ध्वस्त पारिरहेका छन् । फाष्ट ट्रायकको नाममा विश्व सम्पदामा उल्लेखित ऐतिहासिक बस्तीलाई उदांगो पार्न तम्तयार छन् । अहिले गुथि विधेयकको माहोलमा नेवार समुदायको इतिहास नै खोसेर लिने दाऊ सरकारले गरिरहेका छन् । आखिर किन ?

पृथ्वीनारायण शाहले काठमाडौंकी नेवारनी केटी पनि बिहे गरेको इतिहास छ । जुन अहिलेका जल्दाबल्दा चर्चित नेताहरुले पनि काठमाडौं उपत्यकाका नेवारनीहरुसित बिहे गरेर मज्जाले बसिरहेका छन् । यो के हो त ? पृथ्वीनारायण शाहको राजनीतिक यात्रा ‘कपी’ गरेको हैन त ती आजकलका नेताहरुले ?

बुझ्नुस् विभिन्न पार्टीका जनसमुदायहरु, पार्टी पहिले आको हो कि ? हाम्रो पहिचान, हाम्रो परम्परा–संस्कृति–रीतिरिवाज ? यदि हाम्रो पहिचान नै रहेन भने पार्टीको नेता–कार्यकर्ता भएर के गर्ने ? कसैले आफ्नो पहिचान माग्यो भने के दिने ? यति बुझ्नुस् कि, अहिलेका शासकहरुको खेल, आदिवासी जनजाति नेवारहरुलाई प्यारालाइसिसको भुँमरीमा कोचेर यो काठमाडौं उपत्यकामा रजाइँ गर्ने तिनिहरुको दाऊ ?

पृथ्वीनारायण शाह गोरखाको झुप्रो दरबारमा बसी राज गर्ने आर्थिक रुपमा कमजोर पाखे राजा थियो । जब उनले काठमाडौं उपत्यका दर्शन गर्यो, तब उस्को मनमा स्थार्थ सिर्जित भो कि यो नेपाल देशको राजा हुन पाए, दशौं एघारौं जुनीलाई पार हुन्थ्यो । (त्यो बेला काठमाडौं उपत्यका बाहिरका मानिसहरुले काठमाडौं उपत्यकालाई ‘नेपाल’ भनिन्थ्यो । अहिले पनि कुनै कुनै ज्येष्ठ नागरिकहरु काठमाडौं उपत्यकालाई ‘नेपाल’ नै भन्नेहरु छन् ।)

ध्रुत पृथ्वीनारायण शाहको मनमा स्वार्थ उब्जनी भइसकेपछि भक्तपुरका राजकुमारसंग मित लायो । यो उसको चलाकीपन मात्र हो कि काठमाडौं उपत्यकामा सजिलै पस्नको लागि । अनि पृथ्वीनारायण शाहले काठमाडौंकी नेवारनी केटी पनि बिहे गरेको इतिहास छ । जुन अहिलेका जल्दाबल्दा चर्चित नेताहरुले पनि काठमाडौं उपत्यकाका नेवारनीहरुसित बिहे गरेर मज्जाले बसिरहेका छन् । यो के हो त ? पृथ्वीनारायण शाहको राजनीतिक यात्रा ‘कपी’ गरेको हैन त ती आजकलका नेताहरुले ? अब बुझ्नुस् ‘दालमे कुछ काला है’ ।

पृथ्वीनारायण शाहको स्वार्थ काठमाडौं उपत्यकाको राजा हुने, यानिकि नेपालको राजा हुने । तर सिंगो मुलकु नेपालको राजा हुने हैन । त्यो बेला बाइसे–चौबिसे राज्य थियो । काठमाडौं उपत्यका जित्नको लागि त बाटो चाहियो । ती बिचका बाइसे चौबिसे राज्यहरुसंग पनि लडाइँ गरेर जितेर आउनै पर्यो । लडाइँ गर्यो, ती राज्यहरु जितेर आयो, काठमाडौं उपत्यका छिर्यो । यसलाई नाऊँ दियो–नेपाल एकीकरण । पृथ्वीनारायण शाहको त्यो बेलाको पाईला नेपाल एकीकरण होइन, मात्र काठमाडौं उपत्यकामा राजा हुने । उस्को तस्बीर हेर्नुस् कि एकीकरण गर्ने मान्छेको चोर औंला आफूतिर सोझ्याएको छ । यो भनेको ‘एक’ हैन, मात्र ‘म’ हो । बस्, यही हो, ‘काठमाडौं उपत्यकाको अबको हुने राजा म हुँ’ मात्र भनेको हो त्यो पृथ्वीनारायण शाहको तस्बीरले । भन्छन् नि ‘तस्वीर आफै बोल्छ’ भनेर । बस त्यही हो । तस्वीरमा इतिहास–सत्यता–वास्तविकता लुकेको हुन्छ भन्छन् नि, त्यही हो पृथ्वीनारायण शाहको औंलारुपी तस्वीरको पहिचान पनि ।

अब, अहिलेका नेताहरुको पनि कुरा त गर्ने पर्यो नि, हालका अधिकांश चर्चित नेताहरुले पनि काठमाडौं उपत्यकाका नेवारनीसंग बिहे गरी बसिरहेका छन्, राजनीति गरिरहेका छन्, देशको शासन सत्ता आफ्नो हातमा लिइरहेका छन् । दुरुस्त त्यो बेलाको पृथ्वीनारायण शाहको रणनीतिको ‘कपि’ ती नेताहरुले गरेका छन्– पृथ्वीनारायणले जस्तै काठमाडौंका नेवारनी बिहे गरेर । पृथ्वीनारायण शाहको स्वार्थ काठमाडौं उपत्यकाको मात्र राजा हुने हो, आफ्नो पुस्तालाई मजबुत बनाउँने हो । आजकलका नेताहरुमा काठमाडौंमा बस्ने, तन्न पैसा कमाउने । कसरी कमाउने त पैसा ? काठमाडौं उपत्यकाका सुन्दर जग्गा जमिनहरुको दलाली गरेर । पृथ्वीनारायण शाह र आजकलका नेताहरुमा फरक यति मात्र हो । लाइन एउटै, धार एउटै, गोत्र पनि एउटै ।

अनि, प्रजातान्त्रिक गणतान्त्रिक मुलुक नेपालका शासकहरुले ‘कीर्तिपुर ः लिजेण्ड अफ कीर्तिलक्ष्मी’मा देखाइएका सत्यतथ्य, ऐतिहासिक र बास्तविक घटनाको दृष्यमाथि आपत्ति जनायो । किन जनाउँदैन त आपत्ति ? हामी आफ्नो पितालाई कसैलाई हेपेको, कुरा काटेको सहन्छौं त ? अहँ सहदैनौं हामी । ठिक यही त हो नि, जस्को रणनीति आफूहरुले ‘कपि’ गरेको छ, त्यसको नराम्रा पक्ष जुन बास्तविक सत्यतथ्य एवं इतिहासमा उल्लेखित भए पनि ती दृष्यहरु राख्न हिच्किदैन त ? यही हो बुझ्नुस् आदिवासी जनजाति नेवार समुदायहरु ।

त्यो बेलादेखि पृथ्वीनारायण शाह काठमाडौंको दरबारमा मोजमस्तीले बस्यो । आफ्नो पूख्र्यौली ठाउँ गोरखाको विकास गरेको छ । छैन, सबलाई थाहा भएकै कुरा हो । अनि हालका नेताहरु काठमाडौंमा नेवारनी च्यापेर बसिरहेका छन्, आफ्नो पुख्र्यौली ठाउँ जिल्लाको विकास गरेका छन् त ? अब, तपाईहरु नै भन्नुस् छ कि छैन ?

बस् तिनीहरुलाई मात्र काठमाडौं, जुन पृथ्वीनारायण शाहभन्दां सयौं सयौं बर्ष अडाडि स्वर्गरुपी देश, स्वर्णनगरीको रुपमा स्थापित काठमाडौंको विकास गर्न चाहन्छन् । विकासको नाममा फाष्ट ट्रायक, सडक–बस्ती–एतिहासिक सम्पदा ध्वस्त गरिरहेका छन् । नेवारहरुको पहिचान रुपी ती धरोहरहरु नष्ट भएपछि भोलि नेवार रहँदैन तिनीहरुको धारणा । अनि, उपत्यकाका सुन्दर खुल्ला जग्गा जमिन सम्म फराकिला बाटो पुग्यो भने मालामाल हुन पाइन्छ भन्ने तिनीहरुको ढोंगी बिचार ।

यो लक्ष्य पूरा गर्न नेवार समुदायलाई कमजोर पार्नु पर्यो सर्वप्रथम काठमाडौं उपत्यकामा, नेवार समुदाय बलियो छ उपत्यकामा । हाल जुन गतिविधि भइरहेका छन् यसैको परिणाम हो । नेपालभाषालाई हेपाहा प्रवृत्तिबाट टाढा राखेर जिभ्रो काटिदिए जस्तै, सडक बिस्तारबाट हातखुट्टा भाँचिदिए जस्तै, अब नेपाल सरकारकै गुथि संस्थानले गुथि विधेयक ल्याइदैछ नेवारहरुलाई जिउँदो लाश बनाउँनको लागि । करिब ३०० वर्ष अगाडिदेखिको शासकसितको युद्ध हो यो नेवार समुदायहरुको, जुनबेलादेखि पृथ्वीनारायणको राज भो, त्यो बेलादेखि शोषित हुँदै आइरेका नेवार समुदाय, जनताको गणतन्त्र प्रजातन्त्र आए पनि ती नेवार समुदाय किन शोषित ? जस्ताको तस्तै, नेवार समुदायमा राजतन्त्र र प्रजातन्त्र गणतन्त्रमा खासै कुनै परिवर्तन आएन । कारण, उहिलेको पृथ्वीनारायण र अहिलेका शासकहरु जस्ताको तस्तै एउटै रणनीति बोकेर काठमाडौं उपत्यका छिरेका ‘सुरुसुरुका पाखेहरु’ हुन् । जसरी एक सुन्दरी नारीमाथि सबको नजर पर्छन्, त्यसरी नै देशको सुन्दर ठाउँ काठमाडौं उपत्यकामाथि दुष्ट आत्माहरुको गिद्धे दृष्टि पर्यो । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका आफ्नो कब्जामा लिइसकेपछि केही कुबिचारका दरबारियाहरुलाई नेवारहरुको संस्कृतिक परम्परा जात्रापर्वको अगुवा बनाइदियो । त्यसबाट नेवार समुदायलाई पृथ्वीनारायण शाहको पैंताला मुनि पारियो । अब, अहिलेका शासकहरुले जसरी पृथ्वीनारायण शाहले दरबारियालाई प्रयोग गरियो त्यसरी नै नेवार समुदायलाई अन्त्य नै गर्ने उद्देश्यले गुथि विधेयक ल्याई गुथि संस्थानलाई प्रयोग गरियो । पुरानो एउटा चर्चित विज्ञापन छ, ‘मम्मी, हात्ती बलियो कि हात्ती छाप चप्पल बलियो ?’ आमा भन्छन्, ‘उस्तै उस्तै हो नानु ।’ त्यो बेलाको पृथ्वीनारायण शाहको रणनीति र अहिलेको सरकारको रणनीति पनि उस्तै उस्तै हो । बुझ्नुस् जनसमुदाय ।

हुनतः गुथि संस्थानले गुथि विधेयक ल्याउने एउटा खेल खेले जस्तो लाग्छ । जसरी १९४७ मा भारतमा प्रजातन्त्र बहाली भो, ब्रिटिश सरकारले भारत छोड्नु पर्ने भो । त्यो बेला ब्रिटिश सरकारले भारतलाई टुक्रा पारी पाकिस्तान बनाई दियो, बंगलादेश बनाई दियो । अनि भारत र पाकिस्तानलाई झगडाको चक्रब्यूहमा पारी कश्मिर विवाद उत्पन्न गराई दियो । जुन कश्मिर विवाद अहिले सम्म पनि आलै छन् । त्यसरी नै गुथि संस्थानका कर्मचारीहरुले गर्न खोजेको हो कि ? अब गुथि संस्थान प्राधिकरण बनेर प्रदेशमा जाने निश्चित भईसकेको छ । गुथि संस्थानका कर्मचारीहरु आफ्नो दरिलो अधिकारबाट बञ्चित हुने अवस्था आको ठानी यसरी गुथि विधेयक ल्याई आदिवासी जनजाति नेवार समुदायको गुथि तहसनहस पारी ती गुथिका अमूल्य जग्गा जमिनहरु स्वाहा गर्न खोजेको हो कि जस्तो पनि आभास हुन्छ । यहाँ सचेत रहनु होला नेवार समुदायहरु ।

वास्तवमा नेपालमा प्रजातन्त्र गणतन्त्र आकै हो । राजतन्त्र पनि गाकै हो । एउटा कुरा, राजतन्त्रबाट राजा ज्ञानेन्द शाह मात्र गाको हो, ज्ञानेन्द्रको राज्यसत्ता मात्र पदच्यूट भाको हो । पृथ्वीनारायण शाहको रणनीति, सिद्धान्त गाको हैन । त्यही सिद्धान्तका सिंढी चढी अहिलेको सरकारले रजाइँ गरिरहेका छन् । बुझ्नुस् जनसमुदायहरु ।

सर्वोच्च कमाण्डर गणेशमान सिंहले भन्नुभएको ‘काठमाडौंका जनताहरु भेंडा हुन्’ भन्ने तथ्य परिमार्जित भईसक्यो अब । अब त ‘काठमाडौंका मात्र हैन सम्पूर्ण नेपालका जनता भेंडा हुन्’ भने पनि फरक पर्देन होला । किनकि, यस्ता कुराहरु थाहा हुँदाहुँदै पनि चुनावको समयमा त्यही नेता, पार्टीको पछि लाग्छन्, भोट दिन्छन्, जिताउँछन्, देश लुट्न जनताले नै छूट दिन्छन् । जनताले नै साथ दिन्छन् ।

आदिवासी जनजाति नेवारहरु शाहवंशको लागि त शत्रु नै भयो । अहिलेको प्रजातान्त्रिक गणतान्त्रिक देश नेपालमा ती आदिवासी जनजाति नेवारहरु अहिलेको शासकहरुको लागि किन शत्रु सावित भो त ? किनकि शाहवंश व र अहिलेको शासकहरुको रणनीतिक सिद्धान्त समानान्तर रेखातिर छन् । यसको उदाहरण, नेवारहरुले जुनसुकै आन्दोलन गरे पनि, शान्तिपूर्ण आन्दोलन, धर्ना अनि विरोध कार्यक्रम होस्, त्यो कार्यक्रममा किन दमन हुन्छ त सरकारबाट ? यस्तो दमन त पंचायतकालमा हुने हो । अहिलेको प्रजातान्त्रिक गणतान्त्रिक राष्ट्रमा पंचायत शैलीबाट दमन किन हुँदैछ त ? बुझ्नुस् जनसमुदायहरु, प्रजातन्त्र र गणतन्त्र त देखावती नाटक मात्र हो, शैली पद्धति सब पंचायतकै रणनीति र सिद्धान्तमा चलिरहेका छन् । यानि कि राजतन्त्र–पृथ्वीनारायणको रणनीतिमा लिप्त छन् अहिलेको सरकार । अनि हुँदैन त दमनको शैली पनि पुरानै प्रजातान्त्रिक गणतान्त्रिक मुलुकमा ।

अब शासनसत्तासंग यो युद्ध आदिवासी जनजाति नेवार समुदायको लागि अन्तिम युद्ध हो । यो स्वयंसिद्ध तथ्य हो । अहिले पनि नेवारहरुले आफ्नो हक अधिकारको लागि सम्पूर्ण नेवार समुदाय एकजूट भई एउटै छानामुनि बस्दैन र गुथि संस्थानले ल्याएको गुथि विधेयकलाई बेवास्ता गर्यो भने यो नेपालबाट, यो काठमाडौं उपत्यकाबाट सकियो नेवारहरु । यो ठोकुवाका साथ भन्न सकिने सत्यता हो । नेवारहरु अब ‘एकादेशको कथा’मा मात्र सीमित हुनेछ । अब पनि नेवारहरु पार्टीकै गुणगानमा लाग्छन् भने नेवारहरुको पहिचान सकियो । कुनै पनि ठुल्ठुला पार्टी आदिवासी जनजाति नेवार समुदाय हितको लागि छैन यहाँ । त्यसैले यो नै नेवार समुदायको अन्तिम युद्ध हो । बुझ्नुस् अब नेवार समुदायले पार्टीगत रुपमा विभाजन हुनेकि पार्टी त्यागी एक हुने । जब नेवार समुदाय अन्त्य हुन्छ नेपालमा, तब यो देश नेपाल पनि अन्त्य हुन्छ । स्वाभाविक रुपमा, यो नेपालको पहिचान नै नेवार समुदायले विश्वसामू दिइरहेको छ । त्यसैले भन्छु कि ‘नेवार रहन्न त नेपाल पनि हुन्न ।’

यहाँ जनकवि दुर्गालाल श्रेष्ठको एक कविताको हरफ याद आयो, “झी, झीगु निम्तिं मखुसां, नेपाल निम्तिं म्वायेमाः, झीपिं दु धैगु चिं हे नेपालयागु आत्मा...” अर्थात् हामी नेवार, हाम्रो लागि नभए पनि, नेपालको लागि बाँच्नुपर्छ, हामी छ भन्ने प्रमाण नै नेपालको आत्मा ।

Categorized in विचार