STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सडकमा उत्रिन प्रचण्ड-माधवकाे अपिल

Janjati Khabar – Janjati Khabar | २०७७ माघ ५, सोमबार

काठमाडाैं – संविधानको रक्षाका लागि सडकमा उत्रिन नेकपाकाे प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपालले अपिल गरेका छन् ।

सोमबार विज्ञप्ति जारी गर्दै उनीहरूले प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटनको कदमले गणतन्त्र र संविधाननै धरापमा परेकाले त्यसलाई जोगाउन सडक संघर्ष जरुरी रहेको उनीहरूको भनाइ छ ।

‘तत्कालीन अवस्थामा पार्टी अध्यक्ष र प्रधानमन्त्रीसमेत रहेका केपी ओलीद्वारा चालिएको असंवैधानिक कदमले संविधानको मूल मर्म र भावनामा प्रहार गरेको छ', विज्ञप्तिमा भनिएको छ, 'अहिले यो विषय सर्वोच्च अदालतमा विचाराधीन छ । सर्वोच्च अदालतले संविधानको अक्षर, मूल मर्म र भावनालाई गहिरोसँग आत्मसात गरी संविधानसम्मत फैसला नगरेसम्म नेपालको संविधान कार्यान्वयनमा अवरोध उत्पन्न भएको अवस्था छ ।’

प्रधानमन्त्रीको प्रतिगामी कदमले आन्दोलनका समस्त उपलब्धिहरू समाप्त हुने दिशातर्फ अघि बढेकाले संविधान र लोकतन्त्रको पक्षमा दृढतापूर्वक सडकमा उत्रिन उनीहरूको अपिल छ । ‘देशमा क्रमशः स्थापित हुँदै गइकाे स्थिरता, शान्ति र लोकतन्त्रको जगमै प्रहार गर्ने गरी तथा नागरिकका मौलिक हक समाप्त पार्ने गरी प्रतिनिधिसभा विघटनको घोषणा गरिएको हुँदा यसका विरुद्ध लाग्नु र प्रतिगमनविरोधी आन्दोलनलाई सहयोग गर्नु सबै जागरुक नागरिकको कर्तव्य हुन आउँछ', विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमलाई परास्त गरेर मात्र देशको लोकतन्त्र जोगिनेछ, राष्ट्रियता बलियो हुनेछ । त्यसैले प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्रलाई समाप्त पार्ने षड्यन्त्रलाई पराजित गर्न र प्रतिनिधिसभा पुनर्स्थापना गर्ने अभियानलाई साथ दिन आमनेपालीसमक्ष हाम्रो हार्दिक अनुरोध छ ।’

प्रधानमन्त्री ओलीले भ्रम फैलाएको भन्दै त्यसबारे सजग हुन समेत उनीहरूले अपिल गरेका छन् ।

Categorized in राजनीति