STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सगरमाथाको आरोहण सुरु, कामीरिताले तोडे आफ्नै कीर्तिमान

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २५, शनिबार

यस वर्षको वसन्त याममा सगरमाथा (८,८४८.८६ मिटर) हिमालको आरोहण सुरु भएको छ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले नेतृत्व गरेको १२ जनाको शेर्पा आरोहीले डोरी टाँग्ने (रोप फिक्सिङ) का क्रममा शुक्रबार साँझ सगरमाथाको चुचुरामा पुगेपछि आरोहणका लागि बाटो खुला भएको हो ।

डोरी टँगाइ टोली साँझ ६:०० बजे चुचुरामा पुगेर आरोहणको ढोका खोलेसँगै सर्वोच्च शिखर सगरमाथाको पहिलो आरोहण सुरु भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन पर्यटन विभागले जनाएको छ । विभागका निर्देशक मीरा आचार्यले रोप फिक्सिङसँगै सगरमाथा आरोहण सुरु भएको जनाउँदै आरोहणमा संलग्न टोलीलाई बधाई ज्ञापन गरिन् ।

सेभेन समिट ट्रेक्समार्फत गएको शेर्पा टोलीले सगरमाथा आरोहण खुलाएको हो । सगरमाथाको आधार शिविरमा रहेका निर्देशक आचार्यले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन्, ‘सगरमाथा हिमचुलीमा आज २०२१ मे ७ तारिखका दिन बेलुकीको ६ बजे रोप पुगेको छ । यस वर्षको सगरमाथाको पहिलो समिट भएको छ । कामीरिता शेर्पाले नेतृत्व गरेको रोप फिक्सिङ टिमलाई बधाई ।’

सगरमाथाको आधार शिविरबाटै कुरा गर्दै निर्देशक आचार्यले कीर्तिमानी आरोही कामीरितासहितको शेर्पा आरोहीले चुचुरामा पुगेसँगै व्यावसायिक आरोहण शुरु भएको बताइन् । उनले गतभन्दा अघिल्लो वर्षका तुलनामा सात दिनअघि नै सगरमाथाको आरोहण सुरु गरेर नेपालको व्यावसायिक आरोहणको सकारात्मक सन्देश विश्वभर गएको जानकारी दिइन् । सन् २०१९ को सगरमाथा आरोहण मे १४ तारिखदेखि सुरु भएको थियो । सगरमाथा आरोहणका लागि २० दिन बाँकी रहेकाले आरोहण व्यवस्थापनमा हरहमेसा तवरले जुटेको निर्देशक आचार्यले बताइन् ।

रोप फिक्सिङ टोलीमा कामीरिता, तेञ्जिङ शेर्पा, मिङ्मातेञ्जिङ शेर्पा, मिङ्माजोजी शेर्पा, फुरतेन्जी शेर्पा, ल्हाक्पानोर्बु शेर्पा, फुर्बाछिरिङ शेर्पा, छेटेनजोर्जी शेर्पा, तेन्जिङग्याल्जेन शेर्पा र फुर्बाकुसङ शेर्पा  छन् ।

कामीरिताले तोडे आफ्नै कीर्तिमान

वसन्त यामको जारी आरोहणमा सगरथाको चुचुरामा २५ औँ पटक पुगेर कामीरिताले आफ्नै यसअघिको २४ पटकको विश्वकीर्तिमान तोडेका छन् । कामीरिताले २५ औँ कीर्तिमान बनाउन सफल भएको निर्देशक आचार्यले बताइन् । यो आरोहणबाट असहज परिस्थिति भए पनि नेपालको पर्वतारोहण सुरक्षित रहेको सन्देश जानाका साथै सगरमाथाको नयाँ कीर्तिमान थपिएको विभागको बुझाइ छ ।

सन् २०१९ को वसन्त आरोहण वैशाख ३१ गतेदेखि शुरु भएको थियो । उक्त वर्ष ४१ आरोही समूहका तीन सयभन्दा बढीले सगरमाथा आरोहण गरेका थिए । सन् २०१८ मा सगरमाथा आरोहणका लागि ३८  आरोहण समूहका ३६४ आरोहीले आरोहण अनुमति लिएका थिए । सन् २०१७ को वसन्त याममा सगरमाथा आरोहणका लागि ४३ आरोही समूहका ३६६ स्वदेशी तथा विदेशीले सगरमाथा आरोहण गरेका थिए । सन् २०१६ मा ३८  समूहका ३०० भन्दा बढी आरोहीले सगरमाथाको चुचुरो चुमेका थिए ।

Categorized in राष्ट्रिय