STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

संस्थापक अध्यक्षबारेको भ्रामक कुरा सच्याउन पत्रकार महासंघ लाई अपिल

Janjati Khabar – विजयरत्न असंबरे | २०८० माघ २७, शनिबार

नेपाल पत्रकार महासङ्घ (तत्कालीन नेपाल पत्रकार संघ)को संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेको तथ्य स्पष्ट हुँदाहुँदै महासंघले सो सत्यतथ्य को बेवास्ता गरेकोले अादिबासी जनजाति पत्रकार महासंघ फोनिज ले विरोध गरेको  छ । नेपाली पत्रकारिताको इतिहासमा वि.सं.२००८ साल वैशाख ९ गते पहिलो पटक नेपाल पत्रकार सङ्घ गठन गरेर सभापतिका रूपमा नेपालका पत्रकारलाई सङ्गठित गर्दै नेतृत्व प्रदान गर्ने व्यक्ति सत्यनारायण बहादुर श्रेष्ठ नै हुन् । यो तथ्यलाई नामेट पार्नु भनेको उहाँको योगदानको अवमूल्यन गर्नु हो र इतिहासलाई नामेट पारेर नेपाल पत्रकार महासङ्घ नेपाली पत्रकारहरुको साझा र नेतृत्व संस्था हुन सक्दैन भन्दै  नेपाल पत्रकार महासङ्घले यस तथ्यलाई बेवास्ता गर्दै आएको कुरा फोनिजले एक वक्तव्य मार्फत जनाएको छ । त्यसैगरी नेवाः पत्रकार राष्ट्रिय दबूले पनि महासंघलाई सो गलती सच्याउन अपिल गरेको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले यो विषय नेपाल पत्रकार महासङ्घलाई अवगत गराइसक्दा पनि गम्भीरतापूर्वक लिएको छैन भनि सो वक्तव्य मा उल्लेख गरिएको छ । महासङ्घ यसरी इतिहास नामेट पार्दै अगाडि बढ्दा गत साल फोनिजले महासङ्घको सबै संरचनाहरुमार्फत इतिहास सच्याउन र आगामी दिनमा संस्थापकको विषय टुङ्गो नलागेसम्म यस सम्बन्धि कुनै पनि गतिविधि नगर्न आग्रह गरेको थियो । तर, सोही गलत तथ्यलाई नै स्थापित गर्ने गलत मनसायका साथ पुस्तक प्रकाशन गर्नेलगायतका गतिविधि अगाडि बढाएको विभिन्न सञ्चारमाध्यमबाट जानकारी प्राप्त भएको छ । गलत तथ्यलाई नै निरन्तरता दिने महासङ्घको कदमप्रति फोनिजको गम्भीर ध्यानाकर्षण भएको छ । 

महासङ्घको प्रतिष्ठान प्रदेशले पत्रकार महासङ्घका अध्यक्षहरुको जीवनी समावेश गरेर ‘अग्र अनुहार’ नामक पुस्तक प्रकाशन गर्न लागेको सो पुस्तकमा गलत तथ्यकै आधारमा संस्थापक अध्यक्षको विषय समावेश गरिएको छ । त्यसै ले फोनिज ले विज्ञप्तिमार्फत सो प्रकाशन रोक्न जोडदार माग गरेको छ । सो पुस्तक प्रकाशन हुँदा पत्रकार महासङ्घको इतिहास र गरिमामा गम्भीर प्रश्न उठ्ने फोनिजको ठहर छ । 

वक्तव्यमा फोनिजले नेपाली पत्रकारिताका धरोहरका रूपमा यसरी पूर्वजहरुको सम्मान गरिनु र गाथा निर्माण गरिनु आफैमा प्रशंसायोग्य कुरा हो भन्दै नेपाली पत्रकारिताको इतिहासमा यति गहकिलो कार्य हुँदै गर्दा नेपाल पत्रकार संघका संस्थापक सभापति श्रेष्ठको जीवनी समावेश नहुनु, उहाँको योगदानलाई अबमूल्यन गरिनु, उहाँका बारेमा पुस्तकमा कतै केही उल्लेख नहुनु जस्ता कार्यले गम्भीर संशय पैदा गरेको छ भनि उल्लेख गरिएको छ ।

 प्रतिष्ठान प्रदेशको सो प्रकाशन तत्काल रोकियोस् भन्दै र यदि, अब पनि गलत इतिहासलाई नै प्रश्रय दिने कार्य भएमा फोनिज महासङ्घको यस्तो गलत दुस्साहसविरुद्ध देशव्यापी आन्दोलनमा जान वाध्य हुनेछ भनि फोनिजका महासचिव  मिलन लिम्बू र नेवाः पत्रकार राष्ट्रिय दबूका सचिव राजु नापित द्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

Categorized in राष्ट्रिय