STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

संसद् भवनमा खटिएका ३२ सुरक्षाकर्मीको जिम्मेवारी खोसियो

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण १४, सोमबार

काठमाडौं - नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी निरीक्षकसहितको टोलीलाई प्रहरी प्रधान कार्यालय, नक्सालले एकैसाथ जिम्मेवारीबाट हटाएको छ ।

लघुवित्तका ऋणीहरुको टोली संसद् भवन परिसरभित्र प्रवेश गरेपछि गृह मन्त्रालयको नेतृत्वमा संसद् भवन परिसरमा खटिएको सुरक्षा टोलीलाई हटाइएको हो । प्रहरी उच्च स्रोतका अनुसार, यसरी जिम्मेवारीबाट हटाइनेमा इन्स्पेक्टरसहित ३२ जना छन् । 

सोमबार दिउँसो भएको घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाइसकेको छ । समितिमा काठमाडौं प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।

निषेधित क्षेत्र पार गरेर संसद् भवनभित्र छिरेको आरोपमा प्रहरीले ४९ जना लघुवित्त पीडितलाई नियन्त्रणमा लिएको छ । यसपछि सभामुख देवराज घिमिरेले पनि प्रहरी प्रमुख वसन्त कुँवरलाई फोन गरेर चासो राखेका थिए ।

Categorized in राष्ट्रिय