STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

संविधान संशोधनका लागि सडकमा जानुपर्ने अवस्था आउनसक्छ : प्रचण्ड

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र ३०, बुधबार

काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संविधान संशोधनका लागि सडकमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।

पार्टीका तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृति दिवसमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा प्रचण्डले संविधान बनाउने बेला नै आफूहरुले फरक मत राखेको बताए ।

राजनीतिक दलहरुबीच सहमति गरेर अघि बढ्न चाहेको भन्दै प्रचण्डले भने, ‘तर जरुरी पर्‍यो भने हामी सडकमा जानुपर्ने हुनसक्छ ।’ दिवंगत नेता बोगटीलाई सम्झिँदै अध्यक्ष प्रचण्डले अहिले माओवादीका माथिल्लो तहका नेताहरु बिग्रिएको स्वीकारसमेत गरे । तर, जनता र कार्यकर्ताहरु नबिग्रिएको र क्रान्तिकारी आन्दोलनका लागि तयार रहेको उनले बताए ।

प्रचण्डले देश देश झण्डैझण्डै प्रतिगमन र प्रतिक्रान्तितिर जाने अवस्थाबाट देशलाई आफूहरुले जोगाएको जिकिरसमेत गरे ।

‘प्रचण्ड’ले आउँदो निर्वाचनपछि माओवादी पहिलो बन्ने दाबी पनि गरेका छन्। ‘हामीले जनयुद्ध सुरु गर्दा पनि कसैले पत्याएका थिएनन्, शान्ति प्रक्रियामा आएपछि पनि पहिलो पार्टी हुन्छ भनेर कसैले पत्याएका थिएनन्,’ उनले विगत स्मरण गर्दै भने, ‘जनतालाई प्रचण्डलाई देखियो, एकपटक छुन पाए हुन्थ्यो भन्ने थियो, तर विपक्षीहरुले बन्दुक देखाएर दुई/चार सिट ल्याउँछ भन्थे ।’

उनले अहिलेको गठबन्धन (कांग्रेस-माओवादी-एकीकृत समाजवादी र जसपाबीचको गठबन्धन) निर्वाचनसम्म जान सक्ने संकेत पनि गरे। गठबन्धन कायमै रहे चुनाव गठबन्धनको दुई तिहाइ आउने उनको भनाइ छ।

देशमा प्रतिक्रान्ति, प्रतिगमन नहोस् भनेर संविधान गणतन्त्र र लोकतन्त्रका पक्षपातीहरुको गठबन्धनलाई अगाडि लिएर जाने कुरालाई पहिलो प्राथमिकतामा राख्ने प्रचण्डले बताए।

अहिले आफ्नो पार्टीमा रहेका माथिल्लो नेताहरू बिग्रिएकाले पार्टी रुपान्तरण र पुनर्गठन गर्नुपर्ने बेला आएको प्रचण्डले बताए। यद्यपि, तल्लो तहका कार्यकर्ता र जनता अहिले पनि माओवादी र आन्दोलनप्रति प्रतिबद्ध रहेको प्रचण्डको भनाइ छ। प्रचण्डले दुईपटक आफूले सरकारको नेतृत्व गरेको र छोटो समयमै माओवादीबाट १०० भन्दा बढी मन्त्री बनाएको स्मरण पनि गरे ।

Categorized in राजनीति