STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

संविधानमाथि आक्रमण हुने खतरा छ ः महामन्त्री कोइराला

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ७, मंगलबार

नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपालको संविधानमाथि आक्रमण हुने खतरा रहेको बताउनुभएको छ । खोटाङको दिक्तेलमा आज आयोजित पार्टीको दोस्रो चरणको राष्ट्रिय जनजागरणसभा समापन कार्यक्रममा उहाँले संविधानमाथि आक्रमण हुने सम्भावना देखिएकाले सबै मिलेर संविधानलाई जोगाउनुपर्नेमा जोड दिनुभयो । महामन्त्री डा कोइरालाले नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको वर्तमान सरकार काण्डैकाण्डको सरकार भएको आरोप लगाउनुभयो । “निर्मला हत्याकाण्ड, बुढीगण्डकी काण्ड, बालुवाटारको जग्गा काण्डजस्ता काण्डैकाण्डले भरिएको यो सरकारलाई नेपाली जनताले चिन्नुपर्ने बेला आएको छ”, उहाँले भन्नुभयो, “यो सरकारले कुनै माखो मार्नेवाला छैन । आजका मितिसम्म विकासको कुनै योजना तर्जुमा गर्न सकेको छैन । अब नेपाली जनताले सोच्ने र प्रतिकार गर्ने बेला आएको छ ।” उहाँले काङ्ग्रेसलाई कसैले हराउन नसक्ने भए पनि गुट–उपगुटले आफैँ ध्वस्त भएको बताउनुभयो । “काङ्ग्रेसको विचार र इतिहास सुन्दर छ । तर, पार्टीलाई गुट–उपगुटले ध्वस्त पारेको छ”, उहाँले भन्नुभयो, “एउटाले टिकट पाए सबैले जिताउनु पर्नेमा हराउनुपर्छ भनेर लाग्छन्, अनि कहाँबाट काङ्ग्रेसको जित हुन्छ १ तिक्तताले हामीलाई धरासायी पारेको छ । आगामी दिनमा आपसमा रहेको तिक्ततालाई अन्त्य गरेर अगाडि बढ्नुपर्छ ।” हालसम्म काङ्ग्रेसले गरेका राम्रा कामको प्रचार नगरिएको उल्लेख गर्नुहुँदै महामन्त्री कोइरालाले अबका दिनमा काङ्ग्रेसको योगदानको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो । “नेपालमा भएका महत्वपूर्ण परिवर्तन काङ्ग्रेसको नेतृत्वमा भएको छ”, उहाँले भन्नुभयो, “प्रचारप्रसार गर्न नसक्दा यसको फाइदा अरुले उठाइरहेका छन् ।” नेपाली काङ्ग्रेस खोटाङले आयोजना गरेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दर्जनौँ कार्यकर्ता काङ्ग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशी कार्यकर्तालाई महामन्त्री कोइरालाले अबिर लगाएर स्वागत गर्नुभएको थियो । सरकारमा बसेर संविधानको विरोध गर्नु निर्लज्जताको पराकाष्ठा ः नेता थापा धनुषा ः नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले सरकारमा बसेर संविधानको विरोध गर्नु निर्लज्जतको परकाष्ठा भएको आरोप लगाउनुभएको छ । नेता थापाले सत्तामा बसेर सरकारको निर्णयको बर्खिलापमा उत्रिने उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई गाईजात्रे शैलीको सङ्ज्ञा दिँदै आलोचना गर्नुभयो । सरकारमा बसेर संविधान दिवस यही असोज ३ गते देशभर हर्षउल्लासका साथ मनाइरहँदा समाजवादी पार्टीले बहिष्कार गरेको थियो । यसलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य थापाले आपत्ति जनाउनुभएको हो । जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा नेता थापाले प्रदेश नम्बर २ को सरकारतर्फ सङ्केत गर्दै भन्नुभयो, “उपप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष यादवसँग भिड्न नसक्ने प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले सरकारमै बसेर विरोधाभाष अभिव्यक्ति दिनु निर्लज्जताको पराकाष्ठा हो ।” नेता थापाले अधिकारको नाममा लडिरहेको देखाउन जनतालाई भ्रममा नपार्न प्रदेश सरकारलाई आग्रह गर्दै आफ्ना अध्यक्षसँग लडेर सङ्घीय सरकारबाट बाहिरिएर देखाउन चेतावनी दिनुभयो । उहाँले अहिलेको संविधानमा केही कमजोरी रहे पनि जनताको संविधान रहेको भन्दै संविधानको रक्षा गर्दै संशोधनका लागि काङ्ग्रेस लागीपर्ने बताउनुभयो ।
Categorized in राजनीति