STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

संयुक्त राष्ट्रसंघका महासचिवको सल्लाहकारमा नेपालका देबकुमार सुनुवार मनोनित

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ पौष ८, बुधबार

 

आदिवासीहरूको लागि संयुक्त राष्ट्रसंघको स्वेच्छिक कोष संचालनका लागि एसिया र प्रशान्त क्षेत्रका आदिवासी जनजातिहरूको प्रतिनिधिको रुपमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इण्डिजिनियस टेलिभिजनका अध्यक्ष देब कुमार सुनुवारलाई आफ्नो सल्लाहकारको रुपमा मनोनयन गर्नु भएको छ । सुनुवारको कार्यकाल सन् २०२१ जनवरी देखि सन् २०२३ अन्त्यसम्म रहनेछ । २०२१ जनवरी १ देखि उनले कार्यभार सम्हाल्नेछन् । कोष संचालनका लागि सुनुवारले महासचिवलाई एसिया र प्रशान्त क्षेत्रका आदिवासीहरूको तर्फबाट सल्लाह दिनेछन् । सुनुवारसँगै कन्गोका डायल मोचिरे, क्यानाडाका मार्जोलेन एटिने, डेनमार्कका टुकुमिङग्वाक न्याक्जेर ओल्सेन र बेलिजका पाब्लो मिसलाई पनि मनोनयन गर्नुभएको छ । 

एशिया र प्रशान्त क्षेत्रका सल्लाहकारको रुपमा चुनिएका सुनुवारले स्वीजरल्यान्डको जेनेभास्थित मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको मुख्य कार्यालयमा फेलोको रुपमा सन् २०१० मा आदिवासीहरूको मानव अधिकारसम्बन्धी प्रशिक्षण प्राप्त गरेका छन् । आदिवासीहरूको क्षेत्रमा काम गर्ने संयुक्त राष्ट्रसंघको निकायहरूसँग निकट भई काम गरेका सुनुवार आदिवासीहरूको क्षेत्रमा संयुक्त राष्ट्रसंघले गरेको कार्यहरूबारे जानकार छन् । 

उनी संयुक्त राज्य अमेरिकाको बोस्टनस्थित कल्चरल सर्भाइभल नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको एसिया र प्रशान्त क्षेत्रको संयोजकको रुपमा कार्यरत छन् । सुनुवारले सन् २०१५ देखि संयुक्त राष्ट्रसंघ अन्तर्गत इण्डिजिनियस मिडिया ककसको नेतृत्व गर्दै आएका छन् । उनले संयुक्त राष्ट्रसंघको रेडियो, टेलिभिजनमा आदिवासीहरूको आवाज समेट्न र आदिवासीहरूले संचालन गरेको सञ्चारमाध्यमलाई सहयोग पुर्याउन संयुक्त राष्ट्रसंघभित्र स्थान उपलब्ध गराउन योगदान पुर्याउदै आइरहेका छन् । 

सुनुवारले अन्तर्राष्ट्रिय कानून र मानव अधिकार; राजनीतिशास्त्र; आमसंचार तथा पत्रकारितामा स्नातकोत्तर गरेका छन् । संयुक्त राज्य अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था कल्चरल सर्भाइभलका एसिया कार्यक्रम संयोजक समेत रहेका सुनुवार हाल काठमाडौं स्कुल अफ लमा अन्तर्राष्ट्रिय कानून अध्यापन गर्दछन् । आदिवासी पत्रकारिताको क्षेत्रमा विगत १५ वर्षदेखि कलम चलाउँदै आइरहेका सुनुवार नेपालका आदिवासीहरूद्वारा संचालित पहिलो सामुदायिक टेलिभिजन, इण्डिजिनियस टेलिभिजनका संस्थापक अध्यक्ष हुन् ।

Categorized in व्यक्तित्व