STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

श्रीलङ्कामा राजापाक्षेको घरमा आगजनी

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख २८, बुधबार

एजेन्सी - चरम आर्थिक सङ्कटमा फसेको मुलुक श्रीलङ्काको अवस्था पछिल्लो समय निक्कै तनावग्रस्त बनेको छ ।

त्यहाँ सत्तापक्ष र सर्वसाधारणबीच झडप एवम् हिंसात्मक प्रदर्शन भइरहेका छन् । प्रदर्शनमा उत्रिएका सर्वसाधारणले निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको घर जलाइदिएका छन् । निवर्तमान प्रधानमन्त्रीकै घरमा आगजनी गरिएपछि मुलुकभर कफ्र्यू आदेश जारी गरिएको छ ।

कफ्र्यू उल्लङ्घन गर्नेलाई तत्काल गोली हान्ने आदेशसहित सुरक्षाकर्मी परिचालन गरिएको छ । सबै ठाउँमा सुरक्षा उपस्थिति बढाइएको छ । श्रीलङ्का यतिबेला चरम आर्थिक सङ्कटमा फसेको छ ।

त्यहाँका नागरिकले सरकारविरुद्ध लामो समयदेखि आन्दोलन गरिरहेका छन् । पछिल्लो समय आन्दोलन हिंसात्मक झडपमा परिणत भइरहेको छ । प्रदर्शनका क्रममा सोमबार एक जना सत्तारुढ सांसदसहित पाँच जनाको मृत्यु भएको छ ।

घटनापछि प्रधानमन्त्रीले राजीनामा दिए । तर पनि सर्वसाधारणले भने आन्दोलन झन् चर्काएका छन् । यतिबेला श्रीलङ्कन नागरिक सबैभन्दा निक्कै आक्रोसित बनेका छन् । घरमा आगजनी गरिएपछि प्रधानमन्त्रीसहित उनको परिवारलाई सुरक्षाकर्मीले उद्धार गरेका थिए ।

स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रुग्यास प्रहार र हवाई फायर गर्नुपर्ने अवस्था आएको हो । प्रधानमन्त्रीको परिवारलाई अहिले पूर्वोत्तर क्षेत्रमा रहेको त्रिनकोम नौसैनिक अड्डामा लगेर राखिएको छ ।

आन्दोलनरत नागरिकले निवर्तमान प्रधानमन्त्रीसहित राजनीतिक दलका ५० भन्दा बढी नेताहरुको घरमा आगजनी गरेको बिबिसीले जनाएको छ । घरमा आगजनी हुन थालेपछि नेताहरु अन्यत्र शरण लिन पुगेका छन् ।

कफ्र्यू आदेश जारी भएपछि मङ्गबार श्रीलङ्काका सडकहरु सुनसान देखिए । राति भने हिंसात्मक प्रदर्शन भएको बिबिसीले जनाएको छ । सरकारविरुद्धको आन्दोलन सुरु भएपछि अहिलेसम्म श्रीलङ्कामा सात जनाको मृत्यु भइसकेको छ । दुई सयभन्दा बढी घाइते भएका छन् ।

प्रदर्शनकारीले गाडीहरुमा आगजनी र तोडफोड गरेका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षेको घर अगाडि ठूलो सङ्ख्यामा प्रदर्शनकारी भेला भएर प्रदर्शन गरेका छन् । उनीहरुले राष्ट्रपतिको पनि राजीनामा माग गरिरहेका छन् ।

Categorized in अन्तर्राष्ट्रिय