STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

श्रीमान हत्याको आशङ्कामा श्रीमती पक्राउ

Janjati Khabar | २०८० मङ्सिर २०, बुधबार

उदयपुर,  त्रियुगा नगरपालिका–५ दमौटी गाउँमा आफ्नै श्रीमान्को हत्या गरी जङ्गलको झाडीमा शव लुकाएको कसुरमा श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार श्रीमान्को हत्या कसुरमा पक्राउ पर्ने दमौटीकी ४० वर्षीया निरकुमारी राई रहेको प्रहरीले जनाएको छ । निरकुमारीले श्रीमान् ६० वर्षीय श्याम राईको हत्या गरी नजिकै जङ्गलको झाडीमा शवलाई स्याउलाले छोपेर राखेको अवस्थामा मङ्गलबार स्थानीयले देखेपछि घटनाका बारेमा प्रहरीमा खबर गरेका थिए । घटनाको अनुसन्धान सुरु गर्दा नै हत्याको कसुरमा संलग्न भएको प्रमाणसहित निरकुमारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताउनुभयो । प्रारम्भिक अनुसन्धानअनुसार निरकुमारीले श्यामको हत्या गरेको स्वीकार गरिसकेको प्रहरी जनाएको छ । श्रीमान् दैनिक मादक पदार्थ सेवन गरेर घर आउने र घरमा झगडा गर्ने गरेका कारण आफूले सहन गर्न नसकी हत्या गरेको निरकुमारीले बताएको प्रहरीको भनाइ छ । हत्यामा अन्य व्यक्ति पनि संलग्न रहे नरहेका विषयमा पनि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

 

Categorized in अपराध-दुर्घटना