STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

श्रम तथा उपभोक्ता हित समितिलाई मेयर शाक्यले दिए जवाफ

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ कार्तिक २४, सोमबार

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ गरिखानेहरुको सपनाको सहर भएको  बताउनु भएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिदैँ उहाँले सडकमा कसैले पनि मागि खानुपर्ने अवस्था आयो भने उनीहरु सबैलाई व्यवस्थापन गर्ने दायित्व काठमाडौँ महानगरपालिकाको हो भनि भन्नुभयो र उहाँ ले त्यही जिम्मेवारी निर्वाह गर्ने कोसिस गरिरहेकाे कुरा बताउनु भयो र यस्तो अवस्थामा एकले अर्कालाई दोषारोपण गरेर भन्दा पनि सबै मिलेर अघि बढ्नुपर्छ र यो सबैको दायित्व पनि हो भनि भन्नु भयो ।

शाक्यले खुलामञ्चमा निशुल्क खाना खुवाएको विषय सबैको सरोकार भित्र परेको भन्दै त्यसलाई व्यवस्थापन गरेरै देखाउने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले खाना खुवाउनकै लागि विभिन्न विदेशी संस्था र स्वदेशबाट समेत आर्थिक सहयोग उठाउनु पर्ने र चन्दा माग्नु पर्ने आवश्यकता नरहेको भन्दै आवश्यक सहयोग गर्न महानगरपालिका तयार रहेको पनि जानकारी गराउनुभयो ।  

उहाँले अहिले पनि श्रम गरी खानेहरुका लागि कुनै समस्या नभएको भन्दै श्रम गरी खानेहरुलाई प्रोत्साहन गर्न सबैसँग आग्रह गर्नुभयो । 

मेयर शाक्यले  संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको समन्वयमा पाँच हजार बेडको आइसोलेन बेड निर्माण गर्ने भनेको स्मरण गराउँदै कतिपय अवस्थामा महानगरपालिकाले नै निर्माण गर्ने भनी समाचार आएको र त्यसमा केही भ्रम पर्न गएको बताउनुभयो । उहाँले पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको र त्यसमा पनि काठमाडौँ महानगरपालिकामा अझ संक्रमण दर बढीरहेको भन्दै स्थानीय, प्रदेश र केन्द्र सरकारको समन्वयमा व्यवस्थापन गर्नुको अर्को विकल्प नरहेको प्रष्ट पार्नुभयो ।

अस्पताल पुग्ने वित्तिकै आइसियु नै चाहिन्छ भन्ने माग सरकारले  पूरा गर्न नसक्ने भन्दै त्यो बारेमा जनतालाई बुझाउन नसकेकाले केही समस्या भएको उहाँको भनाई थियो । 

उहाँले काठमाडौँ महानगरपालिकासँग आर्थिक अभाव नरहेको भन्दै समन्वय भयो भने जटिल समस्यालाई पनि समाधान गर्न तयार रहेको जानकारी पनि दिनुभयो ।

उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका शाक्यले कोरोना संक्रमणको बेला उपत्यकाका १८ वटै नगरपालिकाकाले एक्लाएक्लै होइन समन्वयमा अघि बढ्नुपर्छ भनेर पटक–पटक योजना बनाई अघि बढेको पनि स्मरण गराउनुभयो ।  उहाँले केही सञ्चारमाध्ययमले शिर्षक तोडमोड गर्दा आम नागरिकमा भ्रम पैदा हुने गरेको भन्दै त्यस्ता विषयमा सजग हुन र नागरिकलाई तथ्य सूचना प्रवह गर्न आग्रह गर्नुभयो । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमल प्रसाद श्रीवास्तवले अहिलेसम्म स्थानीय तहले गरेका काम सकारात्मक भए पनि थप समन्वय गरेर अघि बढ्दा अझ राम्रो हुने बताउनुभयो ।  सांसद भिमसेन दास प्रधानले समन्वयको अभावमा समस्या हुने गरेको भन्दै समन्वय गरेर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले खुलामञ्चमा  खाना खुवाउनेहरुलाई व्यवस्थापन गर्ने नाममा त्यत्तिकै छाड्न नमिल्ने भन्दै समन्वय गरेर स्थान तोकेरै खाना खुवाउने व्यवस्था गर्न आग्रह गर्नुभयो । 

त्यसैगरी सांसदहरु विन्दा पाण्डे, अभिषेक प्रताप शाह, देवेन्द्र पौडेल, माया ज्ञवाली, सोमप्रसाद पाण्डे, एलपी साँवा लिम्बू, प्रकास रसाइली, श्रम मन्त्रालयका सहसचिव, वैदेशिक रोजगार विभागका महानिर्देशक  कुमार प्रसाद दहाललगायतले पनि कोभिड १९ महामारीको मारमा परेका श्रमिकहरुको व्यवस्थापनका लागि मन्त्रालय र स्थानीय तहहरुले गरेका व्यवस्था, गर्नुपर्ने प्रयासलगायतका बारेमा मेयरहरुलाई सुझाव दिनुभएको थियो ।

Categorized in उपत्यका