STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शैक्षिक प्रमाणपत्र कीर्ते प्रकरण : सांसद शर्मासहित ५ जना सिआइबीको फन्दामा

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण २५, बिहिबार

काठमाडौं - शैक्षिक प्रमाणपत्र कीर्ते प्रकरणमा नेपाल प्रहरीको केन्‍द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाली कांग्रेसका सांसदसमेत रहेका डा. सुनिलकुमार शर्मासहित  ५ जनालाई पक्राउ गरेको छ ।

बिहीबार सिआइबीले सांसद शर्मासहित डा. रामबाबु यादव, डा. एरिना यादव, अमृत चौधरी र डा. रञ्जित कुमार यादवलाई पक्राउ गरेको हो ।

शर्मा काठमाडौंबाट पक्राउ परेका हुन् भने रञ्जितकुमार यादव महोत्तरी पिपराबाट र अमित चौधरी पक्राउ कोहल्बी–८ बाट परेका हुन्। यस्तै, अमृत चौधरी टिचिङ अस्पतालका डाक्टर हुन् । सिआइबीले अपरेसन चार्ली फोक्टर अन्तर्गत उनीहरुलाई पक्राउ गरेको हो ।

सांसद शर्मामाथि एमबीबीएस अध्ययनका लागि उनले पेश गरेको आईएस्सीको प्रमाणपत्र नक्कली रहेको र उक्त प्रमाणपत्र भारतबाट ल्याएको सिआइबीको दाबी छ ।

सांसद शर्मालाई किन पक्राउ गरेको भन्नेबारे जानकारी लिइरहेका छौँ : कांग्रेस

 

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीका सांसद डा. सुनिल शर्मालाई प्रहरीले पक्राउ गरेकोबारे जानकारी लिइरहेको बताएका छन् । बिहीवार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टी संसदीय दलको कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पार्टीले सांसद शर्मा पक्राउबारे जानकारी लिइरहेको र किन र के कारणले पक्राउ गरिएको भन्ने आधिकारिक जानकारी लिइसकेपछि पार्टीको धारणा बनाउने बताए । उनले संसद चलिरहेको बेलामा कुनैपनि पक्राउ गरेमा तत्काल त्यसको जानकारी सम्बन्धित संसदमा जानकारी गराउनुपर्ने र त्यसबारेमा पनि सभामुखलाई सांसद शर्मा पक्राउ परेको जानकारी तत्काल गराएको हो वा होइन भन्नेबारेमा जानकारी लिने काम गरिरहेको बताए ।

उनले हाउस चलिरहेको बेलामा देवानी मुद्दामा सांसदलाई पक्राउ गर्न नपाइने र सरकारवादी फौजदारी मुद्दामा पक्राउ गर्न पाइएपनि कुन फौजदारी मुद्दा हो, के कसुर गरेका हुन् ? के छानबिन गर्ने कुरा हो ? यसमा आधिकारिक जानकारी लिएपछि मात्रै काँग्रेसले आफ्नो धारणा बनाउने बताए ।

उनले भने, ‘सुनिल शर्मालाई पक्राउ गरेको बारेमा हामीलाई भर्खर जानकारी भएको छ । के कारणले, किन उहाँलाई पक्राउ गरेको भन्ने बारेमा जानकारी लिइरहेका छौँ । त्यसपछि के का लागि र किन पक्राउ गरेको भन्नेकुरा थाहा पाएपछि यसबारेमा आफ्नो धारणा सार्वजनिक गर्नेछौँ । संसद चलिरहेको बेलामा कुनैपनि माननीय सदस्यलाई पक्राउ ग¥यो भने तत्काल त्यसको जानकारी जुन हाउसको उहाँ सदस्य हो त्यसको जानकारी सभामुखलाई दिनुपर्ने हुन्छ, सभामुखलाई त्यसको जानकारी दिएको छ की छैन, त्यो पनि बुझिरहेका छौँ । जानकारी दिँदा के मुद्दा, किन र कसरी पक्राउ गरेको भन्ने आएपछि हामी बोल्नेछौँ । हाउस चलिरहेको बेलामा देवानी मुद्दामा पक्राउ गर्न पाइँदैन, सरकारवादी फौजदारी मुद्दामा पक्राउ गर्न पाइने हो । कुन फौजदारी मुद्दा हो, के कसुर गरेका हुन् ? के छानबिन गर्ने कुरा हो ? यसमा आधिकारिक जानकारी लिनेछौँ ।’

 

प्रमुख सचेतक लेखकले काँग्रेस संसदीय दलको कार्य सम्पादन समितिको बैठकले शुक्रवार बस्ने संसदीय दलको बैठकबारे एजेण्डाहरु तय गर्नुका साथै त्यसको पूर्व तयारीको बारेमा छलफल भएको बताए । कार्यसमितिको बैठक बस्यो । संसद कसरी प्रभावकारी रुपमा सञ्चालन गर्ने, बजेट कसरी प्रभावकारी काार्यन्वयन गर्ने भन्ने सन्दर्भमा सदनमा रहेका विचाराधिन विधेयक संसदमा ल्याउने कुरामा शुक्रवार बस्ने संसदीय दलको बैठकमा छलफल हुने बताए । काँग्रेस सदनको अवरोध चाँडोभन्दा चाँडो हट्नुपर्छ भन्ने पक्षमा रहेको बताए ।

सांसद शर्मा पक्राउबारे संसदलाई जानकारी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले प्रतिनिधिसभा सदस्य सांसद सुनिलकुमार शर्मा पक्राउबारे संसद सचिवालयलाई जानकारी गराएको छ ।

‘नेपालको संविधान (२०७२) को धारा १०३ को उपधारा ६ बमोजिम प्रतिनिधिसभाका सदस्य सुनिलकुमार शर्मा पक्राउ परेको यसै पत्रद्वारा सम्माननीय सभामुख समक्ष सूचना एवं जानकारी गराइएको व्यहोरा सादर अनुरोध गरिएको छ’, सिआइबीका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा हस्ताक्षरित सभामुखलाई सम्बोधन गरिएको पत्रमा उल्लेख छ ।

उक्त पत्रमा शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको कसूरमा प्रचलित कानून बमोजिम अनुसन्धान गर्नुपर्ने भएकाले उक्त कसूरमा संलग्न जिल्ला मोरङ, क्षेत्र नं ३ का नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्षतर्फको निर्वाचित सांसद सुनिलकुमार शर्मा पक्राउ परेका उल्लेख छ ।

सिआइबीका अनुसार कतिपय चिकित्सकहरुले भारतीय नक्कली प्रमाणपत्र पेश गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकाले कानून बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको नेपाल मेडिकल काउन्सिल, बाँसबारीबाट सूचना प्राप्त भएको जनाइएको छ ।

सोही क्रममा शैक्षिक प्रमाणपत्र प्रमाणीकरण सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरबाट शर्माको आइएससीको सर्टिफिकेट नट भेरिभाइड लेखी आएको उल्लेख गरिएको छ ।

Categorized in अपराध-दुर्घटना