STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शुभारम्भ म्युजिकल जर्नीद्वारा कथा सङ्ग्रह ‘अनुत्तरित प्रश्न’ माथि अन्तरसंवाद

Janjati Khabar – विजयरत्न असंबरे | २०८० फाल्गुण २०, आइतबार

नेपालको संगीत र साहपत्यमा समर्पित शुभारम्भ म्युजिकल जर्नीको आयोजनामा शनिबार पुस्तक समर्पण तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा समीर पाख्रिनको नवीनतम कृति कथा सङ्ग्रह ‘अनुत्तरित प्रश्न’ समर्पण तथा परिचर्चा भएको हो भने सो कार्यक्रमका प्रमुख अतिथि पूर्व सचिव तथा लेखक रामचन्द्रमान सिंह रहेका थिए भने विशिष्ट अतिथिमा प्राध्यापक तथा वरिष्ठ गजलकार डा. सनत कुमार वस्ती, बहुप्रतिभाका धनी लेखक तथा चलचित्र निर्देशक प्रकाश सायमी आदि रहेका थिए ।

कार्यक्रममा कवि राजेन्द्र श्रेष्ठ नेपाली, मुक्तककार मानबहादुर भुजेल, वरिष्ठ थेरापिस्ट एमी ताम्राकार, मीठो स्वरका धनी गायिकाहरु रोजी श्रेष्ठ र एन्जेला श्रेष्ठ आदिको उपस्थिति रहेको थियो ।

प्रकाश सायमीद्वारा सञ्चालित उक्त कार्यक्रममा प्रमुख अतिथि रामचन्द्रमान सिंहले समीर पाख्रिनको नवीनतम कृति ‘अनुत्तरित प्रश्न’ बारे आफ्नो धारणा राख्ने क्रममा कथाहरूका भाषा ,शैली सरल र शिष्ट रहेको, पढदै जाँदा अधिकांश कथाहरू हाम्रै गाउँघर, टोल र परिवेशमा घटित घटनाहरूमा आधारित रहेको जस्तो लाग्ने र कथा पठनीयसँगै सबैजसो कथाले पाठकलाई कुनै न कुनै तवरले सन्देश दिन सफल रहेको बताउँदै कथाकारको उत्तरोत्तर प्रगति र कृतिगत सफलताको कामना गरेका थिए ।

मन्तव्यकै क्रममा डा. वस्तीले सायमीको माध्यमबाट नयाँ स्रष्टाहरूसित भेटघाट र परिचय हुन पाएकोमा खुसी व्यक्त गरे । डा.वस्तीले आफू कथा सङ्ग्रहभित्र प्रवेश गरिनसकेको तर प्रमुख अतिथिको टिप्पणीले भने उत्साहित बनेको बताए ।

कार्यक्रमका सञ्चालक प्रकाश सायमीले पाख्रिनको कथा सङग्रह ‘ अनुत्तरित प्रश्न’ को पनि आफू पहिलो पाठक बन्न पाएको र शुभारम्भ म्युजिकल जर्नीको तत्वाधानमा यो पुस्तक समर्पण तथा परिचर्चा कार्यक्रम आयोजन गर्न पाएकोमा आभार व्यक्त गरे ।

मन्तव्यकै क्रममा मुक्तक संग्रह ‘सङ्गति विसङ्गति’ का कृतिकार मान बहादुर भुजेलले ‘अनुत्तरित प्रश्न’ भित्र समेटिएका कथाहरू जो सुकैले पनि छर्लङ्ग बुझ्ने, रोचक र जनचेतनामूलक रहेको बताए ।

कवि राजेन्द्र श्रेष्ठ, गायिकाद्वय एन्जिला श्रेष्ठ र रोजी श्रेष्ठले पनि कथा पढेर निकट भविष्यमा प्रतिक्रिया व्यक्त गर्ने भन्दै कृतिगत सफलताको कामनाका साथै मीठो गीत सुनाएर कार्यक्रममा उपस्थित सबैलाई हर्षविभोर तुल्याए ।

वरिष्ठ थेरापिष्ट तथा साहित्यानुरागी ऐमीले आफ्नो मुम्बई बसाई र त्यहाँको आफ्नो अनुभूति र ओशोबारे आफ्नो धारणा सबै समक्ष पस्कँदै अन्त्यमा कथाकारप्रति कृतिगत सफलताको कामना राखिन् ।

यी बाहेक रामचन्द्रमान श्रेष्ठद्वारा लिखित ‘पाल्पादेखि तासकन्दसम्म छरिएका सम्झनाहरू’, डा.सनत कुमार वस्तीको ‘ महफिल गजल’ तथा राजेन्द्र श्रेष्ठको कवितासङ्ग्रह ‘आइ पो हाल्छ कि ’ पुस्तक पनि उपस्थित स्रस्टामाझ आदान–प्रदान भयो ।

कार्यक्रमको उत्तरार्द्ध मा कथाकार समीर पाख्रिनले नवीनतम कृति अनुत्तरित प्रश्नमाथि आफ्नो छोटो भनाईमा सङ्ग्रहित कथाहरू विभिन्न समयमा विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भइसकेका बताए । उनले यो पुस्तक सयभन्दा बढी प्रति अग्रिम रूपमा अनलाइन मार्फत खरिद गर्ने पाठकमित्रहरू र आर्थिक सहयोग गर्ने दाताप्रति हार्दिक कृतज्ञता प्रकट गरे ।

कथासङ्ग्रह अनुत्तरित प्रश्नका सबैजसो कथामा बुढ्यौली उमेरका पात्रहरूको कथा–ब्यथा व्यक्त भएको, भूमिका उल्लेख्य रहेको साथै कथाले साहित्य–धर्म निर्वाह गर्न भरमग्दुर प्रयास गरेको बताउँदै कार्यक्रमलाई बिट मारेका थिए ।

Categorized in साहित्य-कला