STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शिक्षक र स्वास्थ्यकर्मीका गुनासा तलब छैन, तनाव मात्रै

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ४, बुधबार

“अहिले त ऋण पत्याउन पनि छोडे साहुले, जागिर खाएर ऋण खोज्नुपर्ने, त्यही नपाएर अहिले छोराछोरीको अध्ययन र घरखर्च चलाउनै गाह्रो भएको छ”, राँसा मालापानी स्वास्थ्यचौकी जुम्लाका इञ्चार्ज हर्कबहादुर रावतले दुखेसो पोख्दै भन्नुभयो । हिमा गाउँपालिकास्थित अन्नपूर्ण माविको प्रावि तहमा कार्यरत शिक्षक प्रेमबहादुर सिंहको गुनासो पनि त्यस्तै छ । “केही समयका लागि भनेर ऋण÷सापटी लिएका थिएँ, दिने मानिसले माग्न थालेपछि फोन बन्द गर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “तलब आउने वित्तिकै दिन्छु भनेर पैसा ऋण लिएँ तर आज पाँच महीना भयो, स्थानीय सरकारलाई तलब खुवाउनुपर्छ भन्ने मतलब नै छैन ।” गुठीचौर गाउँपालिकाका स्वास्थ्य संयोजक बालाराम नेपालीले लामो समयको सङ्घर्षपछि अब तलब पाउने आशा रहेको बताउनुभयो । “अब सम्भवतः दुई÷चार दिनभित्रै शिक्षक तथा कर्मचारीको खातामा तलब जान्छ”, उहाँले भन्नुभयो, “फागुनसम्मको तलब सबैले पाउँछन् ।” यता तिला गाउँपालिकाका स्वास्थ्य संयोजक जगदीश नेपालीले असोजदेखिको तलब भत्ता खान नपाउँदा ऋणी हुनुपरेको गुनासो गर्नुभयो । “आजका दिनसम्म सुत्केरीहरुले यातायात खर्च पाएका छैनन्”, संयोजक नेपालीले भन्नुभयो, “स्वयंसेविकाले पोशाक भत्तासमेत पाएका छन् ।” तलब नपाउँदा बालबालिकाको अध्ययन पनि प्रभावित भएको उहाँको दुखेसो थियो । स्थानीय सरकारको कमजोरीका कारण शिक्षा तथा स्वास्थ्यका कर्मचारीले दुःख खेप्नु परेको शिक्षक रणबहादुर रावतले बताउनुभयो । तलब नपाउँदा शिक्षक, स्वास्थ्यकर्मीले तनावमा काम गर्नुपरेको उहाँको भनाइ थियो । काम गरेर पाउने ज्यालाका निम्ति पनि सरकारसँग लामो लडाइँ गर्नुपरेकोमा उहाँले रोष प्रकट गर्नुभयो । अब भने जुम्ला जिल्लामा कार्यरत शिक्षा र स्वास्थ्यका करीब एक हजार ७४१ शिक्षक कर्मचारी र स्वास्थ्यकर्मीले दोस्रो चौमासिक तलब खान पाइने अपेक्षा गरेका छन् ।
Categorized in राष्ट्रिय