STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शनिबारसम्म वर्षा र हिमपातको सम्भावना

Janjati Khabar – Janjati Khabar | २०७८ माघ २०, बिहिबार

माघ १९, काठमाडौँ - पश्चिमी वायुको प्रभावले आगामी शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

बुधबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाबले बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुन सक्नेछ । त्यस्तै बागमती, मधेस प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार देशैभरि सामान्यदेखि पूर्ण बदली रहने र शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम महाशाखाले जनाएको छ ।

प्रदेश १, मधेस, बागमती तथा गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावनाका साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यस प्रणालीको प्रभावले बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा बागमती र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै, पहाडी तथा तराईका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

शुक्रबार देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रही देशका पहाडी तथा तराईका धेरै स्थानमा मेघ गर्जन चट्याङ/असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै गण्डकी तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

शनिबार गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहनुका साथै उक्त प्रदेशका पहाडी तथा तराई भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आइतबारदेखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रूपमा सुधार हुने महाशाखाले जानकारी दिएको छ ।

Categorized in स्वास्थ्य-मौसम