STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

व्यवसायीले पेट्रोलियम पदार्थमा अतिरिक्त मूल्य नलिने

Janjati Khabar – Janjati Khabar | २०७७ माघ १, बिहिबार

काठमाडौं – आजबाट पेट्रोलियम पदार्थमा प्रतिलिटर ५० पैसा बढी मूल्य लिने निर्णयबाट पेट्रोलियम व्यवसायीहरु पछि हटेका छन् ।

कमिसन वृद्धि नभएको भन्दै पुस २१ गते बसेको पेट्रोलियम पदार्थ बिक्रेताहरुको संस्था पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले माघ एक गतेदेखि उपभोक्ताबाटै कमिसन उठाउने निर्णय गरेको थियो ।

व्यवसायीहरुको मागका सन्दर्भमा निगमले गृहकार्य थालेका कारण तत्कालका लागि आन्दोलनका कार्यक्रम स्थगन गरिएको एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले बताए ।

अबको सात दिन निगमको निर्णय कुर्ने र माग पुरा नगरे आन्दोलन थाल्ने अर्यालको भनाइ छ ।

तर, आयल निगमले भने व्यवसायीले भने जति कमिसन बढाउन नसकिने जनाएको छ । व्यवसायीलाई अन्याय परेको हुन सक्ने भएपनि उनीहरुले मागे जतिनै कमिसन वृद्धि गर्न नसकिने निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् ।

निगमसँग गरेको करार विरुद्ध गएर व्यवसायीले उपभोक्तासँग थप मूल्य लिए त्यो दण्डनीय हुने उनको भनाइ छ ।

सञ्चालन खर्च बढेको भन्दै पेट्रोलियम व्यवसायीहरुले कमिसन बढाउन निगमलाई दबाव दिइरहेका छन् । मासिक ६१ हजार लिटरदेखि एक लाख २० हजार लिटर इन्धन बिक्री गर्ने न्यूनस्तरका व्यवसायीलाई पेट्रोलमा ३.३९ प्रतिशत र डिजेलमा ३.१२ प्रतिशत, एक लाख २० हजार देखि एक लाख ८० हजार लिटर मासिक बिक्री गर्ने मध्यमस्तरका व्यवसायीलाई पेट्रोलमा ३.४० र डिजेलमा ३.१२ प्रतिशतले लिटरमा कमिसन बढाउनु पर्ने व्यवसायीहरुको माग छ । पछिल्लो समय लिटरमा ५० पैसा कमिसन बढाउनु पर्ने माग व्यवसायीको छ । तर निगम भने कमिसन बृद्धि बढीमा ३० पैसामा सीमित हुनु पर्ने अडानमा छ ।

Categorized in बिजनेस