
वैदिक ध्यान एवं महर्षि योगासनको अभ्यास कार्यक्रममा कलाकारहरुको सक्रिय सहभागिता
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ आषाढ २६, बुधबार

नेपाल चलचित्र कलाकार संघ तथा नेपाल महर्षि वैदिक फाउण्डेसनको संयुक्त आयोजनामा दक्षिणकाली नगरपालिका–१ स्थित ब्रह्मानन्द सरस्वती ग्राममा वैदिक गतिविधि ध्यान एवं महर्षि योगासनको अभ्यास कार्यक्रम भव्य रुपमा आयोजना गरिएको छ । मंगलवार बिहानदेखि आयोजित उक्त कार्यक्रममा करिब ७० जना चलचित्रकर्मीहरुको सहभागिता रहेको थियो । सोही अवसरमा फाउण्डेसनको दैनिक रुद्राभिषेक कार्यक्रममा समेत कलाकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा भावातित ध्यानकासाथै विभिन्न योगाशनका विषयमा चर्चा गरिएको थियो ।
काठमाडौंको दक्षिणकाली नगरपालिकामा विश्वविख्यात धर्मगुरु महर्षि महेश योगीको नाममा स्थापना भएको उक्त नेपाल महर्षि वैदिक फाउण्डेशनले नेपालमा सनातनी धर्मको रक्षा गर्नुका साथै विभिन्न वैदिक सनातनी कार्यहरुमा आफूलाई क्रियाशिल गर्दै आईरहेको फाउण्डेशनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले बताएका छन् । नेपाल चलचित्र कलाकार संघसंग यस्ता कार्यहरुमा सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै अध्यक्ष बासकोटाले निकट भविष्यमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन कलाकार संघसंग अध्यक्ष बास्कोटाले आग्रहसमेत गरेका थिए ।
चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ, वरिष्ठ अभिनेता लय संग्रौला , अभिनेत्री गौरी मल्ल , द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान लगायतको विशेष उपस्थिति रहेको सो कार्यक्रममा फाउण्डेशनका समीक्षा बास्तोला ले स्वागत मन्तव्य तथा प्रशिक्षक मिन राज अधिकारीले योग र ध्यानबारे प्रशिक्षण दिएको सो कार्यक्रमका सहजकर्ताहरुमा कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र.खडका, संघका सचिव रामेश्वर बुर्लाकोटी र संघका सहायता तथा अनुगमन समिति संयोजक उद्दव प्रसाद भट्टराई तथा फाउण्डेशनका भरत राज पौडेल रहेका थिए भने कार्यक्रममा अभिनेत्री गौरी मल्ल ले पनि ध्यान भावनाको उपादेयता बारे मन्तव्य राखिन् भने कलाकार संघका अध्यक्ष मोहन निरौलाले मानिस को जीवनमा ध्यान र योगको ठुलो महत्व हुन्छ भन्दै कलाकारलाई त यो झन धेरै उपयोगी हुने विचार व्यक्त गरे ।
Categorized in साहित्य-कला