STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

वीर अस्पतालका स्वास्थ्यकर्मीमाथि प्रहरीको लाठी चार्ज

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण १७, आइतबार

काठमाडौँ - वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी लाठी चार्ज गरेको छ । सेवासुविधासहित विभिन्न ५ सूत्रीय माग राख्दै धर्ना दिइरहेका स्वास्थ्यकर्मी तथा प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमबीच छलफलको क्रममा भनाभन भएपछि प्रहरीले हस्तक्षेप गरी लाठीचार्ज गरेको हो ।

कर्मचारीसँग छलफलको क्रममा तनावपूर्णस्थिति सृजना भएपछि डा. गौतमले प्रहरी बोलाएका थिए । प्रहरीले कर्मचारीहरुलाई बैठकस्थलबाट निकाल्नका लागि बल प्रयोग गरेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कर्मचारी युनियनका सचिव दीपक मुडभरीले बताए । सो क्रममा अस्पतालका ५ जना कर्मचारी घाइते भएका छन् । उनीहरुको अस्पतालकै इमर्जेन्सीमा उपचार भइरहेको छ ।

‘हामीले आफ्नो जायज माग राखेर धर्ना दिइरहेका थियौं । सोही क्रममा उहाँसँग छलफलका लागि गएको बेलामा प्रहरी बोलाएर कुटाउनुभयो,’ सचिव मुडभरीले भने ।

कर्मचारी युनियनले २०७७ साल भदौदेखिको कोभिड भत्ता, असोजदेखिको सेवा विस्तार भत्ता र ०७७ सालको औषधि खरिद भत्ताको माग गरेर धर्नामा बसिरहेका छन् । यस्तै यथाशीघ्र कोभिड–१९ युनिफाइड अस्पताल संचालन हुनुपर्ने र डा। गौतमले अनियमित ढंगबाट म्याक्सिम इन्कर्पोरेसनलाई दिएको करोडौंको टेण्डरको अनुसन्धान हुनुपर्ने उनीहरुको माग छ ।

घटनापछि वीर अस्पतालको नेपाल स्वास्थ्यकर्मी संघले एक विज्ञप्ति जारी गर्दै डा. गौतमले फिर्ता नभएसम्म र प्रहरीले माफी नमागेसम्म कडा अन्दोलनमा उत्रन बाध्य हुने जनाएको छ ।

Categorized in राजनीति