STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विषादीरहित तरकारी उत्पादन आवश्यक

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २४, मंगलबार

देशभन्दा बाहिरबाट आयात हुने विषादीयुक्त तरकारी प्रयोग न्यूनीकरणका लागि स्थानीयस्तरमै विषादीरहित तरकारीको उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औँल्याइएको छ । भारतबाट नेपाल भित्रिने तरकारी एवं फलफूलको कीटनाशक विषादी परीक्षण सम्बन्धमा चर्चा चलिरहेको सन्दर्भमा यहाँका सरोकारवालाले भने स्थानीयस्तरमै विषादीरहित तरकारीको उत्पादन बढाउन सकिए तरकारीका लागि परनिर्भर हुनुनपर्नेमा जोड दिएका छन् । स्वास्थ्य कार्यालय तनहुँले आज आयोजना गरेको विषादीरहित खाद्य तथा पोषण प्रवद्र्धनसम्बन्धी गोष्ठीमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले विषादी प्रयोगबाट हुने बेफाइदाका बारेमा सर्वसाधारणलाई सचेत गराउँदै स्वच्छ तरकारी उत्पादनका लागि अभिप्रेरित गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो । जिल्लाका प्रत्येक स्थानीय तहलाई एउटा खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिए विषादीरहित तरकारी उपभोग गर्न सकिनेमा वाग्लेले जोड दिनुभयो । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बाहिरबाट आउने तरकारीमा रोक लगाउन स्थानीयस्तरमा विषादीरहित तरकारीको उत्पादन बढाउनुपर्नेमा जोड दिनुभयो । नगरपालिकाका प्रत्येक टोलटोलमा पुगेर विषादीरहित तरकारी उत्पादनका लागि सचेतना जगाउन नगरपालिकाका प्रतिबद्ध रहेको न्यौपानेले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले विषादी न्यूनीकरणका लागि सचेतना आवश्यक रहेको र त्यसका लागि सबै पक्षको हातेमालो आवश्यक रहेकोमा जोड दिनुभयो । तनहुँ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्रले कौशीमा तरकारीखेतीलाई प्राथमिकता दिन सकिए विषादीरहित तरकारीको आयात घटाउन सकिनेमा जोड दिनुभयो । विषादीले मानव स्वास्थ्य, वातावरण र अर्थतन्त्रलाई असर पार्ने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख तेजप्रसाद दवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार विषादीले मानव स्वास्थ्यमा तत्कालीन र दीर्घकालीन असर पार्ने गरेको छ । तत्कालीन असरमा आँखा दुख्नु, छाला चिलाउनु, टाउको दुख्नु, कमजोरी, श्वास फुल्नुलगायतका असर हुन् भने दीर्घकालीनमा क्यान्सर, श्वासप्रश्वाससम्बन्धी रोग, प्रजनन् र विकाससम्बन्धि असर हुन् । दवाडीका अनुसार विषादीलाई औषधिको रुपमा बुझ्नु, जथाभावी विषादी छर्नु, सानो समस्यामा पनि विषादी छरिहाल्ने बानीका कारण यसको दुरुपयोग बढेको छ । “जैविक तथा वनस्पतिजन्य विषादीको प्रयोग बढाउन जनमानसमा प्रचारप्रसार हुन आवश्यक छ”, उहाँले भन्नुभयो ।
Categorized in विचार