STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विश्व सामु नेपालको चलचित्र पुर्याउने महोत्सवको सातौं संस्करण आरम्भ

Janjati Khabar – विजयरत्न असंबरे | २०८० चैत्र २, शुक्रबार

विशिष्ट चलचित्रकर्मि नीर शाहले निफ अर्थात् नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भनेको विश्व सामु नेपालको चलचित्र पुर्याउने महोत्सवको रुपमा अग्रपंक्तिमा रहेको उदगार व्यक्त गरेका छन् भने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मौलिक विषयमा निर्माण गरिने चलचित्रको सङ्ख्या बढाउँदै अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन आवश्यक रहेको बताएकी छिन् ।

नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा चैत्र १ गतेदेखि सुरु भएको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को सातौँ संस्करणको उद्घाटन समारोहमा मन्त्री शर्माले यस्ता महोत्सवले संस्कृतिसँगै चलचित्रकर्मीको विचारलाई आदानप्रदान गर्ने बताएकी हुन् । 

“फिल्म मनोरञ्जन मात्र नभई समाजलाई रुपान्तरण गर्ने सशक्त र प्रभावशाली आमसञ्चारको माध्यम हो । यसले पार्ने प्रभाव र दिने सन्देशका विषयमा हामी ज्ञात हुनुपर्छ”, उनले भनिन्, “सिङ्गो नेपाली फिल्मकर्मी हाम्रा लागि खुला स्टुडियो हुन् । हिमाल, पहाड र तराईका सुन्दरतासँगै कला र संस्कृतिको विविधताले फिल्मलाई झन् सुन्दर बनाउँछ ।” 

मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय बजेटका सन्दर्भमा छलफलको प्रक्रियामा रहेकाले आवश्यक कार्यक्रमका लागि फिल्म विकास बोर्डलाई आफ्नो योजनामा राखेर ल्याउन आग्रह गरिन । उनले फिल्मसम्बन्धी ऐन बन्ने प्रक्रियामा रहेको भन्दै सुझाव प्राप्त भइरहेकाले विद्यमान समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताइन् । 

“अहिले २०२६ सालको ऐनमा नै चलचित्र क्षेत्र सञ्चालित रहेकामा ‘फिल्म (निर्माण, प्रदर्शन तथा वितरण) ऐन’ प्रस्ताव गरिएको छ”, मन्त्री शर्माले भनिन्, “यसका लागि आवश्यक सुझाव, विद्यमान समस्यालगायत सुझावसहित योजना ल्याउन सरकारकातर्फबाट आग्रह गर्दछु ।”

यही चैत ५ गतेसम्म काठमाडौँमा सञ्चालन हुने महोत्सवमा ४० देशका ८८ चलचित्र छनोट भएर प्रदर्शन गरिने फिल्म तथा सांस्कृतिक प्रतिष्ठान एवं महोत्सव आयोजकका अध्यक्ष केपी पाठकले जानकारी दिए । “कान्स, लोकार्नो, बर्लिनलगायत प्रतिष्ठित चलचित्र महोत्सवमा समावेश हुनु सुखद पक्ष हो । हामी यसलाई अझैँ भव्य बनाउन अग्रसर छौँ । यसले विश्वभरका फिल्मकर्मीलाई एकैस्थानमा छलफल र शाहअकार्य गर्ने वातावरण बनाएको छ ।”

महोत्सवमा फिल्म विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रसम्बन्धी आवश्यक नीति नहुँदा चाहेर पनि यस्ता कार्यक्रमलाई प्रोत्साहन गर्न बोर्ड अगाडि बढ्न नसकेको बताए । 

आजको कार्यक्रममा निर्देशक प्रेमबहादुर बस्नेत, अभिनेता मदनकृष्ण श्रेष्ठ, चलचित्रकर्मि नीर शाह, अभिनेत्री चैत्य देवी, दीया मास्केलगायत उपस्थित थिए । महोत्सवमा फिल्म प्रदर्शनसँगै निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तरक्रियाका कार्यक्रम गरिने  छ भने यस अन्तर्गत शुक्रबार विहान ११ बजे पछी पूर्व प्रधान मन्त्री के पि अोलि र अभिनेता राजेश हमाल बीच सिनेमा सम्वाद अन्तर्गत बहस हुने कुरा आयोजकले जनाएकाे छ ।

Categorized in सिनेमा