STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विश्वकप २०२२ - कांस्यका लागि आज क्रोएसिया र मोरक्को भिड्दै

Janjati Khabar – Janjati Khabar | २०७९ पौष २, शनिबार

एजेन्सी - कतारमा जारी फिफा विश्वकपको कांस्य पदकका लागि क्रोएसिया र मोरक्कोे बीच भिडन्त हुँदैछ। आज शनिबार राति खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुने खेलबाट तेस्रो स्थानको टुंगो लाग्नेछ।

ज्लाट्को डालिचको क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० को नतिजामा पराजित भयो र तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने अवस्थामा आइपुगेको हो। अर्कातिर, वालिद रेग्राग्वीको एट्लस लायन्स (मोरक्को) साबिक विजेता फ्रान्ससँग प्रतिस्र्धात्मक खेलमा २–० ले पराजित भएको थियो।

लियोनेल मेसीको उत्कृष्ट प्रदर्शन प्रेरित अर्जेन्टिनासामु निरीह बन्दा क्रोएसियाको लगातार दोस्रो पटक विश्वकपको फाइनल पुग्ने सपना टुटेको थियो। डालिचकै नेतृत्वमा क्रोएसिया चार वर्षअघि रूसमा भएको विश्वकपको फाइनलमा पुगेको थियो। उपाधि भिडन्तमा डिडियर देस्च्याम्पको फ्रान्ससँग पराजित भएको क्रोएसिया यसपालि सेमिफाइनलसम्म मात्रै पुग्यो।

तर, ३७ वर्षीय लुका मोड्रिच नेतृत्वको क्रोएसियासामु कांस्य पदक लगाउने अवसर छ। क्रोएसियाका लागि तेस्रो स्थानको प्रतिस्पर्धा नयाँ होइन। यसअघि सन् १९९८ मा फ्रान्समा भएको विश्वकपको सेमिफाइनलमा पराजित भएको क्रोएसियाले तेस्रो स्थान हासिल गरेको थियो।

आयोजक फ्रान्ससँग पराजित भएर तेस्रो स्थानका लागि प्लेअफमा पुगेको क्रोएसियाले नेदरल्यान्ड्सलाई २–१ गोलको नतिजामा पराजित गरेको थियो। अझ रोमाञ्चक कुरा के छ भने, त्यो क्रोएसियाले खेलेको पहिलो विश्वकप थियो।

पेनाल्टी सुटआउट र अतिरिक्त समयमा बलियो देखिएको क्रोएसिया हालसम्म विश्वकपको तेस्रो स्थानका लागि भएको प्लेअफ कहिल्यै स्पट किकमा निर्णय भएको छैन भन्ने सुन्न चाहँदैन। अर्कातिर, जारी विश्वकपमा सनसनी मच्चाएको मोरक्को बाक्लो संख्यामा उपस्थित हुने समर्थकसामु कम्तीमा कांस्य पदक जित्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ।

फिफा विश्वकपको फाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनेको मोरक्कोले अविश्वसनीय यात्रा तय गरेको छ। रोमन सेइस नेतृत्वको मोक्कोले समूह चरणमा क्रोएसियालाई गोलरहित बराबरीमा रोक्दै बेल्जियमलाई पराजित गरेको थियो। अन्तिम १६ मा स्पेनलाई स्तब्ध बनाएको एट्लस लायन्सले अन्तिम आठमा पोर्चुगलविरुद्धको जितसँगै इतिहास बनाएको थियो।

अफ्रिकाबाट पहिलो मुलुक बन्दा विश्वकपको सेमिफाइनल खेल्ने दक्षिण अमेरिका र युरोपेलीबाहेक तेस्रो टिम बन्यो। यसअघि विश्वकपको पहिलो संस्करणमा अमेरिका र सन् २००२ मा आयोजक दक्षिण कोरियाले सेमिफाइनल खेलेका थिए।

रेग्राग्वीको टिमले साबिक विजेता फ्रान्सलाई सेमिफाइनलमा कठिन चुनौती दिएको थियो। तर, थियो हर्नान्डेज र रान्डल कोलो मुआनीको गोलसँगै २–० को जितसहित फ्रान्सलगातार फाइनलमा पुग्यो।

जारी विश्वकपको छैटौं खेलमा आइपुगेर मात्र विपक्षी टिमबाट पहिलो गोल खाएको मोरक्कोको रक्षापंक्ति साँच्चै संगठित छ। समूह चरणमा क्यानडाविरुद्ध नाइफ अग्वेर्डको आत्मघाती गोलबाहेक मोरक्कोले क्वार्टरफाइनलसम्म आइपुग्दा कुनै गोल खाएको थिएन। अन्ततः साबिक विजेताले रेग्राग्वीको रक्षापंक्ति चिरेको थियो। 

Categorized in खेलकुद