STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छाया दर्शन’

Janjati Khabar | २०८२ माघ १७, शनिबार

काठमाडौँ, १७ माघः पशुपतिनाथ मन्दिरमा विशेष पूजा आराधना गरी भक्तजनलाई पशुपतिनाथको शिवलिङ्गको दर्शन गराएर छाया दर्शन गराइएको छ । पशुपति क्षेत्रमा छाया दर्शन हेर्न भक्तजनको घुइँचो लागेको छ । पशुपति क्षेत्रमा आज जम्मा भएर लाम लाग्ने भक्तजनलाई छाया दर्शन गराइने पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी अनिता भट्टले बताउनुभयो ।                                                                                           
  
यो पर्व प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइन्छ । हिउँद ओरालो लाग्दै गर्दा र सूर्य उत्तरायणतर्फ लागेर दिन लामा तथा न्यानो हुन थालेको सङ्केतसँगै विश्वकै आराध्यदेव पशुपतिनाथ मन्दिरमा एउटा यस्तो धार्मिक र रहस्यमयी घटना सम्पन्न हुन्छ, जसले विज्ञान, इतिहास र अध्यात्मलाई एकै ठाउँमा उनेको विश्वास गरिन्छ । 

स्वस्थानी व्रत समापनको अघिल्लो दिन पशुपतिनाथको दक्षिण मुख ‘अघोर’ को छाया जलमा प्रतिविम्बित गराएर दर्शन गराइने यो ‘छाया दर्शन’ पर्व नेपालको मौलिक तान्त्रिक पद्धतिको एक अनुपम नमुना भएको संस्कृतिविद् श्रीकृष्ण डङ्गोल बताउनुहुन्छ ।
अघोर मुखको तेज र ‘सेफ्टी फिल्टर’ का रूपमा छाया दर्शन पर्वलाई मानिँदै आएको छ । पशुपतिनाथका पाँच मुखमध्ये दक्षिणतर्फको मुख ‘अघोर’ स्वरूप हो, जसलाई संहार र शक्तिको प्रचण्ड प्रतीक मानिन्छ । शास्त्र र जनश्रुतिअनुसार अघोर मुखको तेज र ऊर्जा यति प्रखर हुन्छ कि सामान्य मानव आँखाले त्यसलाई सिधै हेर्न कठिन हुन्छ । 

वास्तुशास्त्रमा पनि पशुपतिको दक्षिण दिशालाई यम र संहारको दिशा मानिने हुनाले त्यसतर्फ घरजग्गा हुनुलाई भारी ऊर्जाको क्षेत्र मानिन्छ । यही प्रचण्ड ऊर्जालाई ‘शीतल’ र भक्तहरूका लागि दर्शनयोग्य बनाउन प्राचीनकालदेखि नै भगवान्को त्यो दिव्य स्वरूपलाई जलमा प्रतिविम्बित गराउने विधि बसालिएको उहाँले बताउनुभयो । यो वैज्ञानिक विधि हो, जसरी हामी सूर्यको कडा तेजलाई सीधा नहेरी पानी वा ऐनाका माध्यमबाट ‘रिफ्लेक्सन’ गराएर हेर्छौं । जलतत्वले अग्नि समान तेजस्वी ऊर्जालाई सोसेर सौम्य बनाउने हुनाले यसलाई एकप्रकारको ‘आध्यात्मिक सेफ्टी फिल्टर’ मानिन्छ ।
रानी भव लक्ष्मीको सङ्कल्प र ‘तिकिन्छा’ ९कुसुम० को शिल्पकलाका रुपमा पनि यो पर्वलाई लिने गरिएको छ । यो परम्पराको ऐतिहासिक कडी सुवर्णपुर अर्थात् प्राचीन काठमाडौँको एक समृद्ध हिस्साकी रानी भव लक्ष्मीसँग जोडिएको छ । उहाँले देवाधीदेवको शिरमा आकर्षक कुसुम फूल चढाउने सङ्कल्प गर्नुभएको थियो । नेपाल भाषामा ‘तिकिन्छा’ भनिने कुसुम फूलको गोलाकार बनावटमा पगरी आकारको मुकुट बनाएर भगवान्लाई अर्पण गर्ने चलन चल्यो ।तिकिन्छाको विशिष्ट बनावट हुन्छ । यो केबल एउटा फूल मात्र होइन, यो एक विशिष्ट शिल्पकला पनि भएको संस्कृतिविद् डङ्गोलको भनाइ छ । तिकिन्छा तीन तहको गोलाकार गुम्बज आकारको हुन्छ । यो बाँसबाट नभई बेतबाट निर्माण गरिन्छ । बेतको संरचनामाथि कपडाले ढाकेर प्राकृतिक रङले विभिन्न आकृति बनाई यसलाई बलियो र चिल्लो बनाइन्छ । 

पहिलेपहिले ‘बारा बिस्केट नाइके’ को घरमा बनाएर टोलवासीलाई बाँड्ने चलन पनि थियो । जुन अहिले लोप हुँदै गएको छ । रानीले यस पर्वलाई स्थायित्व दिन नवरत्न जडित हीरामणि र पन्नाको पत्तुका ९कम्मरमा बाँध्ने कपडा० र नेत्र चढाउनुका साथै जात्रा सञ्चालनका लागि जग्गासमेत दान दिएको इतिहास रहेको पशुपति क्षेत्रका स्थानीय वृद्धहरुको भनाइ छ ।
  
‘तिकिन्छा द्य’ः लाई हिन्दू र बौद्ध दुवै धर्मावलम्बीको सेतुका रुपमा मानिन्छ । माघ शुक्ल चतुर्दशीका दिन बाजागाजासहित नगर परिक्रमा गराई यो प्रतिमालाई पशुपतिनाथको शिरमा विराजमान गराइन्छ । स्थानीय नेवाः समुदायले यसलाई ‘तिकिन्छा द्य’ का रूपमा पुज्ने गर्छन् । यसले शिवलिङ्गको पिँधको ऊर्जालाई ‘छाया’ ९शून्य० र शिरको ऊर्जालाई ‘प्रतिमा’ ९पूर्ण० का रूपमा दर्शन गराउँदै हिन्दू र बौद्ध दर्शनको मिलन गराउँछ । कतिपयले यसलाई ‘पद्मपाणि लोकेश्वर’ को स्वरूपका रूपमा पनि आराधना गर्छन् । जसले काठमाडौँ उपत्यकाको धार्मिक सहिष्णुतालाई पुष्टि गर्दछ ।

छाया दर्शनको विधि र स्थान
  
यो दर्शन पशुपति मन्दिरको दक्षिणपट्टिको ‘मझेरी’ अर्थात् भण्डारीहरूको मासिक पालो फेरिने र गरगहना राखिने स्थानमा हुने गरेको छ । जल भरिएको सो स्थानमा दिउँसोदेखि साँझको आरती अघिसम्म भगवान्को प्रतिविम्ब हेर्न पाइन्छ । यो ‘छाया दर्शन’ को  छ महिनापछि ‘पवित्रारोपण’ हुने गर्दछ । जसले समय र ऋतुको चक्रलाई सन्तुलनमा राख्छ ।
  यो पर्वको संरक्षणमा चुनौती देखिएको छ । पशुपतिनाथको छाया दर्शन र तिकिन्छा जात्रा केबल एउटा धार्मिक विधिमात्र होइन । यो वनस्पति विज्ञान ९कुसुम फूल०, खगोल विज्ञान ९उत्तरायण र परावर्तन० र राजकीय इतिहासका जीवन्त प्रमाण हुन् । बेतबाट तिकिन्छा बनाउने शिल्प लोप हुँदै जान थालेकाले यो संस्कृति नाशिएला भनी चिन्ताको विषय बनेको छ । पानीमा देखिने त्यो दिव्य छायाले ईश्वरको शक्ति अपार छ र त्यसलाई महसुस गर्न कहिलेकाहीँ विनम्रताका साथ आफ्नो दृष्टिकोण बदल्नुपर्छ भन्ने सिकाउने गर्दछ । 

सुवर्णपुरकी रानीको त्यो सङ्कल्प र कुसुम फूलको त्यो रङ आज पनि पशुपतिनाथको मझेरीमा पानीको छाया बनेर बाँचिरहेको छ । यसलाई जोगाउनु सबैको साझा दायित्व भएको पशुपति क्षेत्रको सांस्कृतिक परम्पराका बारेमा र अध्ययन अनुसन्धान गरिरहनुभएका गौरी आध्यात्मिक मासिकका सम्पादक अर्जुन लामिछाने बताउनुहुन्छ । पशुपति क्षेत्रमा मनाइने यो पर्वलाई हिउँदको बिदाइ र आध्यात्मिक जागरणका अवसरमा लिने गरिएको छ । 

Categorized in उपत्यका