STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विवेकशील साझा पार्टीकाे अध्यक्षबाट मिश्रले दिए राजीनामा

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ ११, बुधबार

काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । स्थानीय निर्वाचनमा पार्टीको लज्जास्पद पराजयसँगै मिश्रले अध्यक्षबाट राजीनामा दिएका हुन् । 

‘५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु’, मिश्रले वक्तव्यमा भनेका छन्, ‘म पार्टीको साधारण सदस्य रहिरहने छु ।’ 

उनले आफ्नो पार्टीका उम्मेदवारहरू इमान्दार र सक्षम हुँदाहुँदै पनि नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी आफैँले लिने पनि बताएका छन् । 

‘हाम्रा उम्मेदवारहरू ‘इमानदार र सक्षम’ हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रूपमा मैले लिनुपर्छ । बाराको फेटा गाउँपालिका र त्यहाँको दुईवटा वडामा हासिल भएको विजयको सम्पूर्ण श्रेय सो क्षेत्रका अत्यन्तै लोकप्रिय व्यक्तित्व र प्रतिष्ठित समाजसेवी तथा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रुस्तम अन्सारीलाई जान्छ । मैले पार्टी अध्यक्षबाट राजीनामा दिए पनि नमुना गाउँपालिका निर्माण गर्न उहाँलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु’, मिश्रले भनेका छन् । 

मिश्रले ५ वर्षमा पार्टी प्रतिकूल अवस्थामा हुँदा पनि कत्ति विचलित नभई पार्टी निर्माणमा दृढताका साथ लागिरहने नेता तथा सदस्य, आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गर्ने नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुकहरूलाई नमन गर्दछु भन्दै अगाडि लेखेका छन्, ‘तपाईँहरूप्रतिको श्रद्धाभाव शब्दमा व्यक्त गर्न सक्दिनँ । तपाईँहरूलाई सम्झेर म भावुक भएको छु र तपाईँहरूको अपेक्षा पूरा गर्न नसक्दा अत्यन्तै दुखित छु ।’ 

Categorized in राजनीति