STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विभिन्न मानन्धर समूहद्वारा धाः बाजा प्रदर्शन

Janjati Khabar – केके मानन्धर | २०८० भाद्र २४, आइतबार

देशभरका मानन्धरहरुको साझा संस्था केन्द्रीय मानन्धर संघले बसन्तपुरमा सामुहिक धाः बाजा प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिकासँग सहकार्य गरी संघले १२ वटा टोलका विभिन्न खलः, पुचः र गुठीलाई सम्मिलित गराएको छ । काठमाडौं उपत्यका र काभ्रे जिल्लामा सघन बसोबास गर्दै आएका मानन्धरहरुले बाजा प्रर्दशनीमा सहभागिता जनाएका हुन् । काठमाडौंको लाय्कूसाः मानन्धर समाज, भिंद्यः गुथि कालिमाटी, चस्वांद्व मानन्धर सनाःगू खलः, थँहिटी मानन्धर गुथि, दैसाः टोल मानन्धर समाज, न्यागःमणि फेदी मानन्धर संघ, मानन्धर सनाःगू खलः न्हूसाः, पाक्व पुखूद्यां सनाः खलः, कीर्तिपुरको श्रीपञ्चमी मानन्धर गुथि, चन्द्रागिरीको मच्छेगाँ मानन्धर गुथि, फयख्वाः मानन्धर गुथि रामकोट र जापाली (वाँख्यो दाफा भजन खलः) काभ्रेका मानन्धरहरुले मौलिक बाजा प्रदर्शनी गरेका थिए ।

बाजा प्रस्तुति गरेका कलाकारहरु मध्ये अधिकांस १५ देखि ४० वर्षभित्रका किशोर, किशोरी, युवा तथा महिलाहरु थिए । संघले सांस्कृतिक पहिचानलाई नयाँ पुस्तामा हस्तान्तरण गरी अमूर्त सम्पदा संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले बाजा प्रदर्शनी कार्यक्रम गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वाग्मती प्रदेश सांसद तथा पूर्वमन्त्री माननीय बसन्त मानन्धरले पुर्खाले हस्तान्तरण गरेको मौलिक बाजाको संस्कृतिलाई संरक्षण गर्ने काममा सक्दो सहयोग गर्ने बताए । सांस्कृतिक सेतुमार्फत समुदायलाई जोड्नुपर्ने सैद्धान्तिक मान्यतालाई आधार बनाएर अघि बढ्नुपर्ने माननीय मानन्धरको भनाइ थियो । त्यस्तै, काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले देशकै गहनाको रुपमा रहेको अमूर्त सम्पदा संरक्षण, प्रवद्र्धन र विकासको लागि स्थानिय सरकारले काम गर्दै आएको बताए । 

 केन्द्रीय मानन्धर संघका सभापति मनोज कुमार मानन्धरको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा प्रतिनिधिसभाका सांसद माननीय सपना राजभण्डारी जोशी, वाग्मती प्रदेशका सांसद माननीय बसन्त मानन्धर, शैलेन्द्र बज्राचार्य, काठमाडौं महानगरपालिका वडा नं. १७ का वडाध्यक्ष तथा महानगरका प्रवक्ता नवीन मानन्धर, १३ का ध्रुवनारायण मानन्धर, २० का राजेन्द्र मानन्धर, श्री शार्दूल जंग गुल्मपति नेपाली सेनाका मेजर पूर्ण प्रजापति, सम्पदा विभाग उपप्रमुख श्रीजु प्रधान, १२ वटै टोलका कजि तथा बाजा गुरुहरु, संघका प्रवुद्ध व्यक्तिहरुको सहभागिता थियो । कार्यक्रमलाई केन्द्रीय मानन्धर संघको सञ्चार उपसमिति र युवा उपसमितिले संयोजन गरेको थियो ।

Categorized in उपत्यका