STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विद्युत् कटौतीले समस्या

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ११, बुधबार

सरकारले लोडसेडिङको अन्त्य भएको घोषणा गरे पनि रुपन्देहीमा विनासूचना विद्युत् कटौती हुने गरेको छ । गर्मीको समयमा अनियमित विद्युत् आपूर्ति भएपछि स्थानीयवासीलाई समस्या भएको छ । “लोडसेडिङ छैन भन्छन् तर बिजुली गइरहन्छ, आइहाल्यो भने पङ्खा पनि चल्दैन”, बुटवल उपमहानगरपालिका–१३ की गीता आचार्य भन्नुहुन्छ । बुटवल, भैरहवा, लुम्बिनीलगायतका मुख्य स्थानमासमेत विद्युत् कटौती हुने गरेको छ । विद्युत् प्राधिकरणले विनासूचना विद्युत् कटौती गरेपछि गर्मीको समयमा आम सर्वसाधारणलाई सास्ती भएको छ । पटक–पटक गरी दैनिक चार घण्टा विद्युत् जाने र आए पनि ‘लो भोल्टेज’ हुने गरेका कारण पङ्खा, मोटरलगायतका विद्युतीय साधन राम्रोसँग नचलेको रुपन्देही शङ्करनगरका लोकनाथ ज्ञवालीले गुनासो गर्नुभयो । अनियमित विद्युत् आपूर्ति हुँदा बुटवलमा पिउने पानीको समेत समस्या भएको छ । “बिजुली भएन भने धारामा पानी आउँदैन”, बुटवल–१४ का श्रीधर खनालले भन्नुभयो, “यस्तो गर्मीमा बिजुली गएपछि रातभरि सुत्न सकिँदैन ।” वर्षाको समय भएकाले नगरका विभिन्न स्थानमा तार चुडिँदा विद्युत् सेवा अवरुद्ध भएको विद्युत् प्राधिकरण वितरण केन्द्र बुटवलका प्रमुख सञ्जयकुमार मिश्रले बताउनुभयो । “पुराना तार र सडक विस्तारका कारण पोल हटाउँदा केही समय विद्युत् कटौती गर्नुपर्छ”, उहाँले भन्नुभयो, “आवश्यक स्थानमा एक÷दुई घण्टाबाहेक सबै क्षेत्रमा एकैपटक विद्युत् जाँदैन ।” प्राधिकरणले जुन वडामा काम भइरहेको छ, त्यही क्षेत्रको विद्युत् मात्रै केही समयका लागि कटौती गरी काम गरेकाले त्यसलाई लोडसेडिङको रुपमा नबुझ्न उहाँले आग्रह गर्नुभयो । उता भैरहवा–लुम्बिनी क्षेत्रमा समेत सडक विस्तरको कामले गर्दा केही समय विद्युत् सेवा अवरुद्ध हुँदै आएको छ । विद्युत् प्राधिकरण भैरहवाका प्रमुख उमाकान्त झाले यो समयमा बढी हावाहुरी आउने भएकाले विद्युत्का पोल ढल्ने र तार चुडिने हुँदा विद्युत् सेवा रोकिने गरेको बताउनुभयो । “लोडसेडिङ पूर्णरुपमा हटेको छ तर कहिलेकाहीँ मौसमका कारण विद्युत्मा समस्या आउछ”, उहाँले भन्नुभयो । प्रमुख झाले सडक निर्माणका कारण पोलहरु सार्नुपर्ने भएकाले त्यस्तो समयमा निश्चित क्षेत्रको मात्रै विद्युत् कटौती हुने गरेको बताउनुभयो ।
Categorized in राष्ट्रिय