विद्यालयमा सौभाग्य ल्याउन सात वर्षीय बालकको बलि
Janjati Khabar – Janjati Khabar | २०८१ आश्विन ११, शुक्रबार
एजेन्सी - एउटा सार्वजनिक विद्यालयमा सौभाग्य ल्याउने उद्देश्यले गरिएको कथित अनुष्ठान बलिमा एक सात वर्षीय बालकको हत्या गरेको आरोपमा पाँचजनालाई पक्राउ गरिएको प्रहरीले शुक्रबार जनाएको छ ।
प्रसिद्ध ताजमहलनजिकैको हाथरस सहरमा रहेको छात्रावासमा आफ्नै ओछ्यानमा पीडित बालकलाई आइतबार राति मृत फेला पारिएको थियो ।
अधिकारीहरूलाई सूचित गर्नुको सट्टा विद्यालयका निर्देशक दिनेश बघेलले शवलाई आफ्नो कारको डिक्कीमा लुकाएर राखेको प्रहरीले बताएको छ । प्रहरी अधिकारी हिमांशु माथुरले बघेलका पिताले आयोजना गरेको कालो जादु (तान्त्रिक विधि) समारोहअघि नै बालकको हत्या गरिएको बताए । ‘बालकलाई अनुष्ठानको हिस्साका रूपमा वेदीमा लैजाने योजना थियो, तर समारोह पूरा हुनुभन्दा अघि नै उनलाई मारियो,’ उनले भने ।
माथुरका अनुसार बघेल र उनका पितासहित विद्यालयका अन्य तीन शिक्षकलाई पक्राउ गरिएको छ । बालकको मृत्यु कसरी भयो भन्नेबारे माथुरले कुनै जानकारी दिएनन् । स्थानीय सञ्चारमाध्यमहरूले शवको परीक्षण भइरहेको बताएका छन् । भारतको राष्ट्रिय अपराध रेकर्ड ब्युरोका अनुसार सन् २०१४ देखि सन् २०२१ को बिचमा मुलुकभर एक सय तीनवटा मानव बलिका घटना दर्ता भएका छन् ।
अनुष्ठानमा गरिने हत्याहरू सामान्यतया देवताहरूलाई प्रसन्न पार्न गरिन्छ । बोक्सी र गुप्त विद्यामा विश्वास व्यापक भएको आदिवासी तथा दुर्गम क्षेत्रहरूमा मानव बलि बढी प्रचलित छ । रासस/एएफपी
Categorized in अन्तर्राष्ट्रिय