वर्ष २०७५ः पर्यटनमा उत्साह र वियोग
Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २९, शुक्रबार
विसं २०७५ मुलुकको पर्यटन क्षेत्रका लागि उत्साह र वियोगान्तको संयोग बन्यो । नेपालको उड्डयन इतिहासमै पहिलोपटक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्स ले दुई नयाँ वाइडबडी जहाज भित्र्याएको घटना विश्वबजारमा छायो भने वर्षको उत्तरार्धतिर हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसहित पर्यटन क्षेत्रमा योगदान गरेका महत्वपूर्ण व्यक्तिको निधनले उत्साहलाई वियोगान्तमा परिणत गरिदियो ।
गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी पर्यटनमन्त्रीसहित सातको निधन भएको थियो । पर्यटन आगमनको हिसाबले हालसम्मकै उच्च सङ्ख्यामा पर्यटक भित्र्याएको वर्षका रुपमा विसं २०७५ दर्ज भएको छ । इतिहासकै सबैभन्दा बढी १२ लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । यसले पर्यटन क्षेत्रका लागि निकै ठूलो उत्साह फैलाएको छ ।
नेपाल पर्यटन बोर्डको विवरणमा सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । अध्यागमन विभागको पछिल्लो विवरणअनुसार सन् २०१९ को दुई महीना जनवरी र फेब्रुरीमा मात्रै दुई लाख १६ हजार २१४ विदेशी पर्यटक नेपाल आएका छन् ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । चालू अव २०७५÷७६ को बजेटमा भ्रमण वर्ष मनाउने उल्लेख गरिएको थियो । सोहीअनुरुप प्रवद्र्धनका कार्यक्रम तय भइसकेको छ ।
वर्षको शुरुआतमै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणमा उत्साह मात्रै थपिएन विभिन्न कीर्तिमान पनि कायम भए । वसन्त ऋतुको हिमाल आरोहण ४०० बढीले सगरमाथा आरोहण गरेका थिए । कामीरिता शेर्पाले सगरमाथाको २२ पटक आरोहण गरेर कीर्तिमान कायम गर्नुभएको थियो । यसअघि कामीरितासहित आप्पा शेर्पा र फुर्वातासी शेर्पाको नाममा २१ पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम थियो । हिमालबाट रु ४१ करोड २८ लाख ८४ हजार ६३८ रोयल्टी सङ्कलन भएको थियो ।
यस वर्षको वसन्तु ऋतुमा हालसम्म ७२ आरोही समूहका ६३६ आरोहीले हिमाल आरोहण अनुमति पाएका छन् । यीमध्यै सबैभन्दा बढी सगरमाथा आरोहणका लागि २८ आरोही समूह छन् । पर्यटन विभागको पर्वतरोहण शाखाका अनुसार हिमाल आरोहणबाट बिहीबारसम्म रु ४१ करोड ४७ लाख ६८ हजार १४५ रोयल्टी सङ्कलन भएको छ ।
सरकारले मुलुभर थप एक सय पर्यटकीय गन्तव्यको घोषणा गरी प्रवद्र्धनका लागि बजेट विनियोजन गरी काम अघि बढाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई बुटिक एयरपोर्टका रुपमा स्थापित गर्ने उद्देश्यका साथ आवश्यक तयारी पूरा भएको छ । नयाँ वर्षको शुभारम्भसँगै बुटिक एयरपोर्टको घोषणा गरिनेछ । उड्डयन इतिहासमै पहिलोपटक मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत ‘रनवे रिह्याब’ को काम यही चैत १८ देखि शुरु भएको छ । राति १० बजेदेखि विहान ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गरेर धावनमार्ग मर्मतको काम भइरहेको छ ।
Categorized in राष्ट्रिय


