STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

वरिष्ठ समाजसेवी रामचन्द्र साहको निधन

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र १, शुक्रबार

महेन्द्रनगर वरिष्ठ समाजसेवी रामचन्द्र साहको ९५ वर्षको उमेरमा आज बिहान निधन भएको छ । जनकपुरधाम निर्माण तथा यहाँको शिक्षा र स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासका लागि अर्बौ रकम बराबरको जग्गा, जिन्सी र नगद गरी योगदान पुर्‍याउनुभएको उहाँ रामसागर रामस्वरुप परिवारको ज्येष्ठ सदस्य हुनुहुन्थ्यो । विसं १९८५ रामनवमीका दिन जन्मनुभएका
उहाँ राराब क्याम्पस र सरस्वती माध्यामिक संस्थापक पनि हुनुहुन्थ्यो ।

    साहलाई श्रद्धाञ्जली दिन उहाँका जेठा छोरा ताराचन्द्र साहको मुजेलियास्थित निवासमा यहाँका ज्येष्ठ सदस्य, राजनीतिज्ञ, पत्रकार, समाजसेवीलगायतका मानुभाव पुग्नुभएको छ । साहका माइला छोरा ई प्रकाशचन्द्र साह र कान्छा छोरा सुभाषचन्द्र साह पनि साथमै हुनुहुन्छ ।

    स्थानीय रामनगिना राउतले समाजसेवी साहको निधनले जनकपुरधामलाई ठूलो क्षति पुगेको भनाइ राख्नुभयो । समाजलाई विभिन्न माध्यमबाट पुर्‍याउनुभएका साहको योगदानको उचित मूल्याङ्कन गरी राज्यले सम्मान गर्नुपर्ने उहाँले धारणा राख्नुभयो ।

    श्रद्धाञ्जली अर्पणका लागि पुग्नुभएका जनकपुरधाम उपमहानगरपालिकाका पूर्वप्रमुख लालकिशोर साहले स्व साहले आधुनिक जनकपुरधामको जग बसाउने काम गर्नुभएको स्मरण गर्नुभयो । जनकपुरधामलाई शिक्षाको केन्द्रका रुपमा स्थापित गर्न पनि स्वर्गीय साहले विशेष योगदान दिनुभएको पूर्वप्रमुख साहको भनाइ छ ।

    स्व साहका भतिजा समेत रहनुभएका धर्मसंस्था रामस्वरुप साह, रामसागर साह मिल्स एरिया जनकपुरधामका उपसभापति प्रभाकरप्रसाद साहले काका साहासिक व्यक्ति भएको बताउनुभयो । “काकाले देखाउनुभएको हिम्मत र समाजसेवाप्रतिको लगनशिलता सबैका लागि प्रेरणाको स्रोत पनि हो, हामी सबैले अनुसरण गर्नेछौँ”, उहाँले भन्नुभयो । स्वर्गीय साहको पार्थीव शरीरलाई आजै बेलुका रत्नसागर सरोवरस्थित स्वर्गद्वारीमा दाहसंस्कार गरिने भतिज विद्याकर साहले जानकारी दिनुभयो ।

स्व साह सभापति रहेको ट्रष्टले गरेको मुख्य दानहरु

    विसं २००१ मा भारु १० हजार एक नगद भारु र एक मन धान पुँजीसहित स्थापना भएको धर्मसंस्था रामस्वरुप साह, रामसागर साह मिल्स एरिया जनकपुरधाम ९ट्रष्ट०ले जनकपुरधामका साथै धनुषा र यसक्षेत्रमा विभिन्न योगदान पुर्‍याएको छ ।

    स्व साहले जनकपुरधाममा सञ्चालित राराब क्याम्पसका लागि ७५ बिघा जमिन दान गर्नुभएको थियो । उहाँले सरस्वती उच्च मावि, मुजेलियास्थित उच्च माविका लागि पनि जग्गा दान गर्नुभएको थियो । जनकपुरधामको शिवचौकस्थित शिवमन्दिर, गङ्गासागरघाट धर्मशाला, जटहीमा पुल र मन्दिर, मुजेलियामा धर्मशाला र मन्दिर, रत्नसागर मन्दिर तुल्सी स्मारण, महिनाथपुर संस्कृत महाविद्यालय, धनुषाको कुशमाहा सतोषरस्थित मन्दिर निर्माणमा पनि जग्गा दान गरी योगदान दिनुभएको थियो । त्यसैगरी बेङ्गाडाबरमा साढे चार बिघा जग्गामा विद्यालय र शौचालय निर्माणका लागि पनि उहाँको योगदान रह्यो ।

    यस क्षेत्रको कुशमाहा, गम्हरिया, पर्सा, बगरासहितका ठाउँमा अहिलेसम्म कूल तीन सय ४२ बिघा जग्गा दान गर्नुभएका साह ट्रष्टको सञ्चालक, उपसभापति र सभापति हुँदै विगत ४२ वर्षदेखि परिवारको ज्येष्ठ सदस्यका रुपमा नेतृत्व गर्दै आउनुभएको थियो ।

Categorized in व्यक्तित्व