STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठको निधन

Janjati Khabar – Janjati Khabar | २०७९ कार्तिक ६, आइतबार

चितवन- वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठको ९५ वर्षको उमेरमा आज बिहान निधन भएको छ । पछिल्लो समय निमोनियाबाट अस्वस्थ भइ नेपाली कांग्रेसकी वरिष्ठ नेतृ श्रेष्ठ यही कात्तिक ४ गतेदेखि चितवन मेडिकल कलेजको अस्पतालमा उपचाररत थिइन् । उनी अविवाहित थिइन् । 

उनलाई गत असोज २५ गते अस्पताल भर्ना गरिएकामा पाँच दिनपछि घर लगिएको थियो । पुनः उनको स्वास्थ्य अवस्था जटिल भएपछि सो अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा पूर्व सांसद श्रेष्ठको आज बिहान निधन भएको उनका धर्मपुत्र टङ्कनाथ पौडेलले जानकारी दिए । 

नेपाल आमा सम्मानबाट सम्मानित श्रेष्ठ यहाँस्थित मैयादेवी कन्या क्याम्पसको संरक्षक थिइन् । धर्मपुत्र पौडेलका अनुसार दानवीरका रूपमा परिचित श्रेष्ठले हालसम्म दान गरेका सम्पत्ति एक अर्ब भन्दा माथिको रहेको छ ।  विसं १९८५ असोज ५ गते फूलपातीका दिन तनहुँको बन्दीपुरमा श्रेष्ठको जन्म भएको थियो । 

आज बिहान ९ः३० बजेबाट १०ः३० बजेसम्म उनको पार्थिव शरीरलाई  कांग्रेसको पार्टी कार्यालय कमलनगरमा राखिने  र  त्यसपछि उनी संरक्षक रहेको मैयादेवी कन्या क्याम्पसमा केहीबेर राखेर दिउँसो १ बजे देवघाट लगिने कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए । पार्टीले शोक वक्तव्य जारी गर्दै आजका सबै कार्यक्रम स्थगन गरी शोक मनाउने जनाएको छ । रासस

Categorized in व्यक्तित्व