वन्यजन्तुका हाडखोरको कारोबार बन्द गर्न अफ्रिकी मुलुकको आग्रह
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ५, बिहिबार
स्वीट्जरल्यान्डको जेनेभामा भइरहेको अन्तर्राष्ट्रिय वन्यजन्तु सम्मेलनका क्रममा दर्जनौं अफ्रिकी मुलुकहरुले जापान समक्ष जोखिममा पुगिसकेका हात्तीका हाडखोरको स्थानीय बजार बन्द गर्न आग्रह गरेका छन् । हाडखोरको कारोबारमा जापानी बजार विश्वमै अग्रपंक्तिमा आउँछ ।
जापानको बजारमा हात्तीका हाडखोर खुलेआम किनबेच हुने गरेको छ । हात्ती बचाऊ सम्बन्धी अफ्रिकाका ३२ वटा मुलुकको अफ्रिकी हात्ती गठबन्धन ९अफ्रिकन इलिफेन्ट कोएलिसन० ले अन्तर्राष्ट्रिय व्यापारका कारण उत्पन्न त्रासबाट हात्ती जोगाउन यस्तो आग्रह गरिएको हो । जेनेभामा हाल साइटिसको १८औं सम्मेलन जारी छ ।
अफ्रिकी गठबन्धनले जापानी बजारका कारण हात्तीका हाडखोरको अवैध कारोबार बढेको जनाएको छ । विश्व बजारमा हात्तीका हाडखोरको बढ्दो अवैध कारोबारले अप्रत्यक्ष रुपमा अफ्रिका र अरु मुलुकमा हात्ती मार्नेक्रम बढेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
अफ्रिकी गठबन्धनले जापान समक्ष चीन, फ्रान्स, लग्जेम्बर्ग, सिंगापुर र अरु मुलुकको जस्तै उदाहरण प्रस्तुत गर्न आग्रह गरेको छ । सन् २०२० को टोकियो ओलम्पिक्स अघि नै जापानले हात्तीका हाडखोरको कारोबार बन्द नगरे जापान घुम्न आउने लाखौं पर्यटकले हात्तीका हाडखोरबाट बनेका सामान अझ बढी खरिद गर्ने सम्भावना रहने अफ्रिकी मुलुकको चिन्ता छ ।
अफ्रिकामा हरेक दिन औसतमा ५५ वटा हात्तीजस्तै विशाल जनावर मारिने गरेको गठबन्धनको भनाई छ । समयमै हात्तीको संरक्षण गर्नेतर्फ ठोस पाइला नचाले हाम्रै जीवनकालमा यी जनावर विलुप्त हुनेछन् । विश्वका सबैजसो मुलुकले हात्तीका हाडखोरका बजार बन्द गरिसकेका छन् ।
अफ्रिकामा अवैध रुपमा हात्ती मार्नेक्रम प्रमुख समस्याका रुपमा रहेको छ । साइटिसका अनुसार अफ्रिकी हात्तीको संख्या विगत २५ वर्षमा ज्यादै बढेको छ । सन् २००६ देखि २०१५ का १० वर्षको अवधिमा एक लाख ११ हजार वटा हात्ती मारिएका छन् ।
साइटिसले हात्ती समेतका अरु जोखिममा रहेका जनावरका हाडखोरको खुलेआम बिक्री र ओसारपसार रोक्न विश्वव्यापी अभियान नै चलाएको छ ।
Categorized in अन्तर्राष्ट्रिय