STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

वज्रयान विहारको निम्ति अनुदान चेक हस्तान्तरण

Janjati Khabar – जनजाति खबर | २०७६ माघ २५, शनिबार

काठमाडौं र लुम्बिनीमा निर्माण भइरहेको नेपाल वज्रयान विहारको निम्ति काठमाडौं महानगरपालिकाले अनुदान स्वरुप ४ करोड २९ लाख १८ हजारको चेक हस्तान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वज्रयान विहारका प्रमुख प्रा.डा. नरेशमान वज्राचार्यलाई उक्त चेक हस्तान्तरण गरेका थिए । चेक हस्तान्तरणका निम्ति काठमाडौंको खुसिबुँस्थित नेपाः बैंक्वेटमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी, संंघीय सांसदहरु जीवनराम श्रेष्ठ, बिना श्रेष्ठ, प्रदेश सांसद डा. अजयक्रान्ति शाक्य, पूर्वमन्त्री बुद्धिराज वज्राचार्यको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै महाविहार प्रमुख प्रा.डा. नरेशमान बज्राचार्यले भने, “हाम्रा पूर्खाले धेरै सम्पदा बनाएर गए तर कुनै विदेशी अनुदान लिएको थिएन । त्यसैले हामीले लुम्बिनीमा निर्माण गरिरहेको विहारको निम्ति पनि कुनै सहयोग लिन चाहेनौं । नेपालकै जनताको लगानीमा यो विहार निर्माण हुँदै आएको छ । आज काठमाडौं महानगरले यसलाई अपनत्व सम्झेर हामीलाई आर्थिक अनुदान गरेको छ जुन गर्वको विषय हो । यसअघि नेपाल सरकारको पनि विहारप्रति अपनत्व विकास गर्नुपर्छ भनेर हामीले प्रयास गरेका थियौं । हामीले लाचार भएर सहयोग मागेको भने हैन ।” कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले स्वागत मन्तव्य राख्दै महानगरपालिकाले सम्पदा क्षेत्रमा गरिरहेको कार्यबारे जानकारी गराएका थिए । चेक हस्तान्तरणपछि काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले भने, “लुम्बिनी विश्व बौद्ध जगतको निम्ति महत्वपूर्ण स्थल हो । त्यहाँ बनिरहेको नेपाली विहार निर्माणको निम्ति सहयोग गर्नु हाम्रो पनि दायित्व हो ।” उनले यस विहारको बाँकी निर्माण कार्यको निम्ति पनि महानगरपालिकाले सहयोग गर्ने बताए । कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरका प्रमुख मनमोहन चौधरीले शुभकामना मन्तव्य राख्दै आफ्नो कार्य क्षेत्र बाहिर गएर लुम्बिनीमा समेत सहयोग र्पुयाउने कार्य गरेकोमा धन्यवाद ज्ञापन गरे । मन्तव्यको क्रममा लुुुम्बिनी विकास कोषका उपाध्यक्ष मेत्तेय भन्तेले काठमाडौं महानगरपालिकाको अनुदानको सराहना गर्दै लुम्बिनी विकास कोषले मायादेवी कोष स्थापना गर्न लागेको र यो कोष लुम्बिनीको कार्य सम्पादनमा प्रयोग गर्ने बताए । कार्यक्रमको अन्त्यमा नेपाल वज्रयान विहारका तर्फबाट चक्रेश्वर नरेशमान वज्राचार्यले मेयर विद्यासुन्दर शाक्यलाई लुम्बिनीस्थित वज्रयान विहारमा निर्माण गरिएको चैत्यको प्रतिमूर्ति मायाको चिनोको रुपमा प्रदान गरे ।
Categorized in उपत्यका