STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

लोक भजन संरक्षण अभियान

Janjati Khabar | २०८० माघ २४, बुधबार

रामपुर (पाल्पा) भजन गाउँदा र सुन्दा हरेकलाई आनन्दित तुल्याउँछ । गाउँघरमा हुने विभिन्न धार्मिक कार्यमा लोक भजन गाउने र नाच्ने चलन परम्परादेखि नै चलिआएको संस्कृति हो । पछिल्लो समय नयाँपुस्ताले भजन गाउन नसिक्दा लोपोन्मुख अवस्थामा पुगेकामा ज्येष्ठ नागरिक चिन्तित बनेका छन् ।

भजनको महत्वलाई जोगाइराख्न पाल्पाको रामपुर नगरपालिकामा ‘खुुला लोक भजन प्रतियोगिता’ हुने भएको छ । रामपुर भजनकीर्तन मण्डलीको आयोजना तथा रामपुर–६ को वडा कार्यालयको आर्थिक सहयोगमा आगामी फागुन २ गते वसन्तपञ्चमीको दिन प्रतियोगितात्मक कार्यक्रमको तयारी गरेको जनाएको छ ।

रामपुर नगर तथा आसपास क्षेत्रका प्रचलनमा रहेका, पुस्ता हस्तान्तरण हुन नसकेका मौलिक र सनातनरुपमा प्रचलित लोक भजन संस्कृतिको उजागर एवं संरक्षण गर्नका लागि प्रतिस्पर्धात्मक प्रतियोगिता गर्न लागिएको भजनकीर्तन मण्डलीका अध्यक्ष टीकाराम ढकालले बताउनुुभयो । प्राचीन समयदेखि गाउँ÷समाजमा चलिआएका मौलिक संस्कृतिका रुपमा रहेको भजनलाई नयाँ पुस्तामाँझ महत्व बुुझाउन कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ थियो ।

ढकालले परम्परादेखि चलिआएका कला संस्कृतिको जगेर्ना र संरक्षणमा ऐक्यबद्धता जनाउँदै लोक भाका, संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले वडाबाट चालु आर्थिक वर्षमा रु एक लाख ५० हजार रकम विनियोजन गरिएको रामपुर–६ का वडाध्यक्ष दिवाकर देवकोटाले जानकारी दिनुुभयो ।
      
भजन प्रतियोगितामा एक समूहमा सात जना हुनुपर्ने, प्रस्तुतिको समय १५ मिनेट रहने तथा टिम दर्ता निःशुल्क गरिने आयोजकले जनाएको छ । सात जनाको समूूहभित्रबाट गायन, वाद्यवादन र नृत्यकला व्यवस्था गर्नुपर्ने, भजन प्रचलित नेपाली भाषामा हुनुपर्ने, वाद्यवादनका साधन नेपाली प्रचलित लोक बाजामा आधारित हुनुपर्ने आयोजकले मापदण्ड तोकेको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः नगद रु १५ हजार, १० हजार, पाँच हजार र दुई हजार पाँच सय साथमा प्रमाणपत्र पुरस्कार प्रदान गरिने भजनकीर्तन मण्डलीका अध्यक्ष ढकालले जानकारी दिनुभयो ।
      
गाउँघरमा हुने पूजाआजा, विभिन्न देवीदेवताका मठ मन्दिर, धार्मिक तीर्थस्थललगायतका विभिन्न ठाउँ–ठाउँमा भगवान्कै नाम जप्दै भजनकीर्तन गाउने र नाच्ने गरिन्छ । यसमा सबै उमेर समूहका मानिस सहभागी हुने गर्दछन् । यस्ता परम्परागत मौलिक संस्कृतिले समुदायको पहिचान बोकेको हुन्छ ।

छरिएर रहेका संस्कृतिसँगै भजनलाई एकीकृत गर्दै संस्थागत रुपमा रामपुर भजनकीर्तन मण्डलीले संरक्षणका लागि ल्याएको अभियानले लोक संस्कृतिको जगेर्ना मात्र नभई नयाँ पुस्ताले अनुशरण गर्न पाउने मण्डलीका सल्लाहकार लेखनाथ शर्मा मरासिनीले बताउनुभयो ।  
 
कालीगण्डकी बेँसीका लोकभजनको साथमा स्थानीय बाजा, संस्कृतिलाई उजागर, संरक्षण र पहिचान गराउँदै नयाँ पुस्तामा लोक भजन, संस्कृतिलाई अवलम्बन गराउनका लागि संस्थागत रुपमा यसको संरक्षणमा रामपुरवासी जुटेका छन् । देवीदेवताका विभिन्न मठमन्दिर, देवालयमा दैनिक भजनकीर्तन गाउने चलन छ ।
       
धार्मिक आस्थाको रुपमा रहेको लोक भजनकीर्तन संरक्षणमा रामपुर भजनकीर्तन मण्डलीले गरेको कार्य सबैका लागि प्रशंसनीय बनेको स्थानीय ज्येष्ठ नागरिक बताउँछन् । –रासस

Categorized in राष्ट्रिय