लेटाङ घटनाबारे सर्वदलीय बैठक
Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र ८, मंगलबार
काठमाडौं - मोरङको लेटाङ नगरपालिकामा महिला प्रहरी जवानको मृत्यु हुनेगरी भएको हिसांत्मक घटनापछि बसेको सर्वदलीय बैठकले चारबुँदे निर्णय गरेको छ ।
नगरपालिका परिसरमा मङ्गलबार बसेको बैठकले घटनामा दोषी तथा अपराधमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन सहमति गरेको छ । बैठकपछि नगरपालिकाका मेयर शङ्कर राईले जारी कर्फ्युका कारण दैनिकीमा परेको असहजतालाई ध्यानमा राख्दै कर्फ्यु खुकुलो बनाउन प्रशासनलाई अनुरोध गर्ने जानकारी दिए ।
मेयर राईका अनुसार बैठकले यसअघि जाँते माविमा अध्ययनरत १४ वर्षीया बालिका करुणा राईको हत्यापछि परिवारलाई आवश्यक राहतका लागि केन्द्रीय सरकारसमक्ष अनुरोध गर्ने भएको छ । सो घटनामा राईको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरिसकेको र कानुनी कारबाही प्रक्रियामा रहेको उनले जानकारी दिए ।
बैठकले नगरबासीको सुरक्षाका लागि खटिने सुरक्षा निकायलाई दरिलो बनाउन जनशक्तिको सङ्ख्या वृद्धि र सवारी साधनको माग गर्ने जनाएको छ । मेयर राईका अनुसार लेटाङ भौगोलिक अवस्था विकट रहेको हुँदा सुरक्षा निकायलाई घटनास्थलसम्म पुग्नसमेत सवारीसाधन पुरानो भइसकेकाले गृहमन्त्रालयसमक्ष माग राखिएको जानकारी दिए ।
बैठकमा मेयर राई, उपमेयर कृष्णकुमारी निरौला, प्रदेश १ का यातायात तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरे, नेपाली काङ्ग्रेसका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू, पूर्वसांसद घनश्याम खतिवडा, सुरक्षानिकायका पदाधिकारीलगायतको उपस्थिति थियो ।
आइतबार लेटाङको खेरुवास्थित शिक्षा विकास माविमा भएको घटनामा आक्रोशित भिडले एक महिला प्रहरी जवानको हत्या गरेको थियो । सो विद्यालयका शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत १४ वर्षीया बालिकामाथि दुव्र्यवहार गरेको घटना सार्वजनिक गरेसँगै आइतबार विद्यालय परिसर ‘रणभूमि’ बन्न पुगेको थियो । घटनाबारे विद्यालयदेखि व्यवस्थापन पक्षसमेत छलफल गरी घटना ‘सामसुम’ पार्नतर्फ लागेको जनाउँदै आक्रोशित भिडले आक्रमण गरेको प्रहरीको भनाइ छ ।


