STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लागुऔषधसहित तीन युवक पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १०, मंगलबार

महोत्तरी प्रहरीले गए राति भारतीय नाकामा लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बर्दिबास नगरपालिका–१४ का २१ वर्षीय रामभरोस महतो र २२ वर्षीय अजय कुमार बैठा, त्यस्तै गौशाला नगरपालिका–४ का ३६ वर्षीय राजाराम साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताउनुभयो । गए राति करीब साढे ९ बजेतिर भारत बिहारको सीतामढी जिल्लाको कन्हमा शहरबाट ज७प ७५६ र ज४प ६१०१ नंको दुई मोटरसाइकलमा लागुऔषध बोकी महोत्तरी जिल्लाको सम्सी गाउँपालिका–४ स्थित सीमानाकाबाट नेपाल प्रवेश गरेका तीनै जनालाई प्रहरीले शङ्का लागि जाँच गर्दा उनीहरु लागुऔषधसहित पक्राउ परेका हुन् । पक्राउ परेकाहरुको साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित लागुऔषध नाइटोभेट ट्याब्लेट ३० थान, एक्सपाम ट्याब्लेट ५२ थान र डाइजेपाम झोल १०० एमएलको २ बोतल बरामद गरेको हो । लागुऔषधसहित प्रक्राउ परेका तीन युवकलाई गए राति नै प्रहरीले आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याई आवश्यक अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाइसकेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो । २० क्विन्टल माछा नष्ट महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–१ स्थित श्री माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको पोखरीमा गए राति अज्ञात व्यक्तिले विषादी हालिदिँदा २० क्विन्टल माछा नष्ट भएको छ । प्रहरी नायब उपरीक्षक बुढाथोकीका अनुसार सो विद्यालयको पोखरीमा अज्ञात व्यक्तिले नाम नखुलेको विषादी हालिदिँदा विभिन्न जातका २० क्विन्टल माछा नष्ट भएको हो । विद्यालयकै स्वामित्वमा रहेको तथा त्यसको आम्दानीसमेत विद्यालयले नै लिने गरेको पोखरीमा अज्ञात व्यक्तिले विषादी हालिदिँदा विद्यालयको रु पाँच लाख मूल्य बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो । विषादी हाल्ने व्यक्तिको व्यापक खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
Categorized in अपराध-दुर्घटना