STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ललितपुर सुनागुथिका बाबु–छोरी कृष्णभक्त महर्जन र सोनम महर्जनको धमाका : “नाच न माया नाच न...” भन्दै दमदार म्यूजिक भिडियोमा

Janjati Khabar – LALENDRA SHAKYA | २०७८ माघ ४, मंगलबार

ललितपुरको ऐतिहासिक नेवाः बस्ती सुनागुथिका नामुद संगीतकर्मी कृष्णभक्त महर्जन हाल सबपरिवार हङकङमा बस्नु हुन्छ । हङकङको व्यवसायिक व्यस्त जीवनमा पनि उहाँले आफ्नो मातृभाषा नेपालभाषादेखि खस नेपाली भाषाको माध्यमबाट गीत संगीत सिर्जना गर्नमा निरन्तर रुपमा समय दिदै नयाँ नौला स्वादका संगीतहरु पस्की रहनु हुन्छ । 

बेग्लै पहिचानरुपी गीत संगीत सिर्जना गर्न सिपालु संगीतकर्मी कृष्णभक्त महर्जनले हालै मात्र विल्कुलै नयाँ पुस्ताको चाहना अनुरुपको लोक आधुनिक पाराको गीतको म्यूजिक भिडियो सार्वजनिक गर्नुभएको छ । संगीतकर्मी कृष्णभक्त महर्जनकै सुमधुर स्वरकी धनी सुपुत्री सोनम महर्जनसंग संगीतकर्मी कृष्णभक्त महर्जनले युगल गीत गाउनु भई बिल्कुलै नयाँ स्वादको गीत संगीतमा म्यूजिक भिडियो सार्वजनिक गर्नुभएको छ । 

‘नाच न माया नाच न...’ बोलको डान्सिङ आइटम गीतको रचना एवं संगीत स्वयं कृष्णभक्त महर्जनको रहेको छ भने संगीत संयोजन तथा मिक्सिङ मास्टरिङ कीर्तिपुरका चर्चित संगीतकर्मी हरिशरण साय्मिले गर्नुभएको छ । सोनम पाख्रिनले निर्देशन गर्नुभएको उक्त म्यूजिक भिडियोको छायांकन पवन सुस्लिङले गर्नुभएको छ । यस्तै, म्यूजिक भिडियोमा बिज्जु पार्की र कविता नेपालीले दमदार अभिनयका साथ डान्स प्रस्तुत गर्नुभएको छ ।

ओएसआर डिजिटल यूट्युब च्यानलमा रिलिज भएको बाऊ–छोरी कृष्णभक्त महर्जन र सोनम महर्जनको दमदार डान्सिङ गीत ‘नाच न माया नाच न।।।’ म्यूजिक भिडियोले जिन्दगीमा नैराश्यता नभई हाँसी–खुशी जीवन विताऔं, त्यसैले आऊ न नाचौं भन्ने मूल सन्देश एवं आशयका साथ बजारमा आएको यो गीत मात्र युवावर्गलाई लक्षित नभई सम्पूर्ण उमेरका  संगीत प्रेमीहरुका लागि जीवन जिउँने एक बहानाको रुपमा ‘खुराक’ नै साबित भएको भन्न सक्छौं । यो गीत सुन्ने एवं म्यूजिक भिडियो हेर्ने जोसुकैले पनि यही मनन् गर्न वाध्य हुनेछ ।

गीत–संगीत भनेको संगीत सिर्जना गर्ने सर्जकको लागि नभई  सुन्ने एवं हेर्ने श्रोता तथा दर्शकको लागि समर्पित हुनुपर्ने विचार राख्ने संगीतकर्मी कृष्णभक्त महर्जन यही धारणा विचारलाई आधार बनाई समय अनुसारका गीत–संगीत सिर्जना गर्न एक सफल संगीत कर्मीको रुपमा लिन सक्छौं कृष्णभक्त महर्जनलाई । सायद उहाँ गैरनेवार कोटाभित्र पर्नुभएको भए नेपालको संगीत इतिहासमा हाल आकाशको चम्किलो ‘ध्रुवतारा’ समान हुन्थ्यो होला संगीतकर्मी कृष्णभक्त महर्जन । आदिवासी जनजाति नेवार कोटामा प¥यो, सम्बन्धित निकाय एवं क्षेत्रबाट अलिक टाढा त हुने नै भयो । संगीतकर्मी महर्जनका जति पनि गीत–संगीत सिर्जनाहरु प्रस्फुटन भएका छन्, ती सब एक से एक भिन्दै भिन्दै स्वाद एवं स्वभावका छन् र दर्शक एवं श्रोतावर्गले मन पनि पराएका छन् । चाहे नेपालभाषाको होस्, चाहे भजन नै किन नहोस्, अनि चाहे खस नेपाली भाषाका सिर्जनाहरु नै किन नहोस् । बलियो प्रमाणका रुपमा यही ‘नाच न माया नाच न...’ साक्षी छन् श्रोता एवं दर्शकसामू । फिल्मी शैलीको यो गीत कुनै फिल्ममा आइटम डान्सिङ गीतको रुपमा राखेको भए अझ यो गीतले न्याय पाउथ्यो होला । तर, यो म्यूजिक भिडियो बिल्कुलै स्तरीय एवं स्वादिला छन् ।

मिलनसार, मिजासिला, हँसिलो मुहारका संगीतकर्मी कृष्णभक्त महर्जन जति बाहिरी रुपमा आकर्षक छन्, त्योभन्दा नि बेशी भित्री प्रतिभाको रुप अति आकर्षक छन् । उहाँ पहिले रेडियो नेपालमा तबलाबादकको रुपमा जागिरे हुनुहुन्थ्यो । उहाँ ललितपुर हरिसिद्धि निवासी बरिष्ठ संगीतकर्मी निरञ्जन महर्जनलाई आफ्नो गुरुको रुपमा पुज्नु हुन्छ । उहाँ पहिले तबलाबादक मात्र नभई सम्पूर्ण बाजा बजाउन सिपालु कलाकारको रुपमा हालसम्म पनि परिचित हुनुहुन्छ । संगीतकर्मी कृष्णभक्त महर्जनले जन्म थलो ललितपुरको सुनागुथि भए पनि हाल कर्मथलो समुद्रपारी हङकङलाई रोज्नु भएको छ सब–परिवारका साथ । तर पनि आफ्नो देशको संगीत विधालाई भित्री हृदयमा मनन गरी निरन्तर रुपमा नेपालको संगीत क्षेत्रको धुकुटी भरिरहनु भएको छ । उहाँ भन्नु हुन्छ, ‘हङकङ संगीतले नै पु¥यायो । संगीत जीवनको जिउँने आधार बनिसक्यो अब त । म र संगीत औंलाको नङ र मासु हो भनौं ।’

(नाच न माया नाच न...म्यूजिक भिडियो यहाँ क्लीक गरी हेर्नुस्)

Categorized in सिनेमा