STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ललितपुरमा ३२ महाविहारका दिपंकर भगवानको भेला गरी सम्यक महादान सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८० चैत्र २, शुक्रबार

ललितपुरको नागबहालमा काठमाडौं उपत्यकाका ३२ महाविहार (बहाःबही)का दिपंकर भगवान लगायका देवीदेवतालाई भेला गराइ सम्यक महादान पर्व सम्पन्न गरेको छ ।

पाँच-पाँच वर्षको अन्तरालमा हुने सम्यक् महादान पर्वको अवसरमा १२५ देवीदेवतालाई एकै स्थानमा भेला गराइएको हो ।

सम्यक् महादान पर्वको अवसरमा फागुन ३० गते विहीबार राति विशेष रौनक थियो । सो दिन बेलुकी मंगलबजारमा देवीदेवता भेला गरे पश्चात राति १० बजेदेखि १ बजेसम्म विभिन्न स्थानबाट भक्तजनहरुले परम्परागत बाजा बजाउँदै देवीदेवताका मूर्तिहरुलाई  नागबहाल पुर्‍याएका थिए ।

त्यसपछि बसुन्धरादेवीको रथजात्रा गरिसकेपछि पाटन दरबार क्षेत्रमा राखिएका ती मूर्तिहरुलाई नागबहालमा क्रमबद्ध राखिएको हो ।

यो क्रममा गौतम बुद्धभन्दा अघिको मानिने दीपंकर बुद्ध, गौतम बुद्ध र भविष्यको बुद्धको रुपमा चिनिने मैत्री बुद्धको सुनौलो मूर्ति राखिएको थियो ।

सम्यक् दानमा पूरा गर्नुपर्ने विधि र प्रक्रियाहरु भने गत फागुन १ गतेदेखि नै सुरु भएको थियो । फागुन ३ गते नागबहालमा प्रतिस्थापित वासुकी र चम्पक नागराजको प्राणप्रतिष्ठा गरिएको थियो ।

फागुन २४ गते यःसिं द्यः ठड्याउने तथा हलिपताका अर्थात् विश्व ध्वजोत्थान गरिएको थियो । फागुन २८ गते सम्यक् महादानमा भाग लिन  विभिन्न महाविहारमा गएर परम्परा अनुसार निमन्त्रणा गरिएको थियो ।

सम्यक् दान पर्वमा बौद्ध गुरु तथा भिक्षुहरुलाई दान गर्ने परम्परा छ । यही दानलाई सम्यक् दान भनिन्छ । सम्यक् दानमा खीर, लाखामरी सहितका मिठाइका परिकार, रोटी, फलफूल आदि राखिन्छ । यसरी दान दक्षिणा गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

सम्यक् महादान पर्व गौतम बुद्धको उपदेश दानपारमिता र त्यसको महत्वसँग सम्बन्धित छ ।

ललितपुरमा ७७३ वर्षअघि ठकुरी वंशका राजा भाष्करदेवको पालादेखि सम्यक् महादान पर्व निरन्तर सञ्चालन भइरहेको विश्वास गरिन्छ । वि.सं. १८६१ सम्म हरेक वर्ष हुँदै आएको सम्यक् महादान पर्व त्यसपछि पाँच वर्षमा एकपटक सञ्चालन हुँदै आएको छ ।

Categorized in उपत्यका