STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

लम्पी स्किनविरुद्ध पनौतीमा निःशुल्क खोप अभियान

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख ९, आइतबार

काभ्रेपलाञ्चोक - पनौती नगरपालिकाले आजदेखि किसानका गोठमै  पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरेको छ । नगरले गर्मी बढेसँगै पशुमा विभिन्न रोग लाग्ने ठानेर पूर्वतयारीस्वरुप खोप अभियान थालेको हो ।

पनौती नगरले गाई, भैँसीमा लाग्ने लम्पी स्किन तथा भेडाबाख्रामा लाग्ने पिपिआर रोगविरुद्धको खोप निःशुल्क लगाउने नगरका पशुपक्षी शाखा प्राविधिक अधिकृत लीलानाथ सापकोटाले बताए । पनौती नगर क्षेत्रभित्रका सम्पूर्ण पशुमा रोग रोगथामका लागि डेढ महिना अभियानको रूपमा किसानका गोठमा गई निःशुल्क खोप लगाइने छ ।

बाह्र वडा रहेका नगरमा विभिन्न मितिमा अभियान जेठ २५ गतेसम्म सञ्चालन हुने जनाइएको छ । शाखाले यसअघि सार्वजनिक अपिल गर्दै यस अभियानलाई किसानले साथ दिन र आफूले पालेका निरोगी गाई, भैँसी तथा भेडाबाख्रालाई खोप लगाउन अनुरोध गर्दै आएको थियो । गत वर्ष नगरले नगरका नौ हजार नौ पशुमा लम्पी स्किनविरुद्धको खोप लगाइएको सापकोटाले जानकारी दिए ।

गत वर्ष पनौती नगरमा लम्पी स्किन रोगले महामारीको रूप लिँदा तीन सय किसानका पाँच सय पशु मरेका थिए । पशुचौपाया मरेका किसानलाई २०८० असोजमा  प्रतिपशुचौपाया रु १० हजारका दरले राहत रकम वितरण गरिएको थियो ।

जिल्ला पशु सेवा कार्यालयका अनुसार लम्पी स्किनका कारण काभ्रेपलाञ्चोकमा गत वर्ष ३१ हजारभन्दा बढी पशु सङ्क्रमित बनेको जनाएको छ । यसमध्ये जिल्लाको १३ स्थानीय तहमा छ सय ८१ पशुचौपाया मरेका थिए । उक्त रोगका कारण गाई, गोरु, बाछाबाछी र केही भैँसी मरेका हुन् । बनेपा नगरका छवटा वडामा एक सय १८ पशु मरेका थिए ।  रासस

Categorized in कृषि-पर्यटन