STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रोजगारीको थलो बन्यो महाकालीको बगर

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर २२, आइतबार

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाकी ५० वर्षीया विमला महताको दिन महाकाली नदीको बगरमै मजदूरी गर्दै बित्ने गर्छ । पारिवारिक अवस्था कमजोर भएकाले तीन वर्षदेखि बस्ती छेउमै बगिरहेको महाकालीको बगरमा बालुवा र गिट्टी छानेर परिवारको खर्च चलाउन लागिपरेको महताको भनाइ छ । उहाँको परिवारको आम्दानीको स्रोत भनेकै बालुवा बनेको छ । “आपूmसित भएको चार कठ्ठा खेत पनि चार वर्षअघि आएको बाढीले बगाइदियो” उहाँले भन्नुभयो, “गरिबीले च्यापेपछि छाक टार्न दिनभरि बालुवा छाल्नु नियति नै बन्यो ।” दिनभरिको मजदुरीले साँझबिहान हातमुख जोर्नु नै उहाँको लागि मुख्य चुनौती रहेको छ । महताजस्तै यतिबेला महाकाली तटीय क्षेत्रका सयौँ बासिन्दा महाकालीको बगरमा मजदूरी गरिरहेका भेटिन्छन् । “असोजदेखि जेठ मसान्तसम्मका लागि हाम्रो रोजगारी स्थल भनेकै महाकालीको बगर हो ।” खल्लाका मनोज लावडले भन्नुभयो, “बगरकै कमाइले बच्चाको स्कूल खर्च चलाउन सकिएको छ । विदेश जानुभन्दा यहीँको बालुवामा भाग्य खोज्नु उपयुक्त ठानेँ ।” गाउँका प्रायः बेरोजगार स्थानीयबासी दैनिक बिहानदेखि साँझ अबेरसम्म बालुवा छान्न र गिटी कुट्नमै व्यस्त हुने गरेको लावडको भनाइ छ । “गिट्टीको प्रतिट्रली रु तीन हजार र बालुवाको रु एक हजारमा बगरमै बिक्री गछौँ ।” उहाँले भन्नुभयो, “अहिले भारत जानेको सङ्ख्याभन्दा बगरमै काम गर्नेहरु बढ्दै गएको छ ।” आफूहरुले छानेर निकालेको बालुवा बिक्रीको समस्या भने उहाँहरु बताउनुहुन्छ । ठेकेदारहरुले खोलामै आएर बालुवा किन्ने गरेका छन् । त्यसैगरी भीमदत्त नगरपालिका वडा नं ११, १२ र १३ को क्षेत्रमा पनि बगरमा गिट्टी छान्नेको भीडभाड नै छ । भीमदत्त नगरपालिकाको ऐरी घाटमा एक दशकदेखि मजदुरी गर्दै आउनु भएकी कलावती खड्काले पनि बगरको मजदुरीबाट घर खर्च टरेको बताउनुभयो । “गिट्टी र बालुवामा कडा मेहनत गरी प्राप्त आम्दानीले छोराछोरीलाई क्याम्पस पढाउन सकेकी छु,” उहाँले भन्नुभयो, “श्रीमान भारतमा मजदुरी गर्नुहुन्छ । अब उहाँलाई पनि घरमै फर्केर केही व्यवसायमा लगाउने सोच बनाएको छु ।” त्यसैगरी महाकाली नदीमा हिउँदको समयमा मजदुरी गर्न जिल्लाका अन्य क्षेत्रबाट पनि आउने गरेका छन् । “जग्गा छैन बालुवा बेचेर घरखर्च चलाउनुपर्छ ।” खड्काले भन्नुभयो, “सरकारले अन्य कुनै सीपमूलक तालीम दिएको भए यहाँ बालुवासित सङ्घर्ष गर्नुपर्ने अवस्था आउने थिएन ।” त्यसैगरी भीमदत्त नगरपालिका–१२ का तुलसी औजी पनि हरेक दिनजसो महाकाली बगरमै मजदुरी गरिरहेको अवस्थामा भेटिनुहुन्छ । “बगरमै गरिएको मेहनतले परिवार धानिएको छ” औजीले भन्नुभयो, “गरिबीले बगरमा मजदुरी गर्न नआएको दिन छाक टार्नै सकस हुन्छ ।” बिदाको दिनमा बालबच्चा पनि उनीहरुसँगै बगरमा काम गर्न आउने गर्दछन् । महाकाली बगर नै हामीहरुको रोजगारीको थलो बनेको छ । नदीले बगाएर ल्याएको बालुवामा नै हामी भविष्य खोज्दैछौँ ।” उहाँले बगरमा नौ महिना काम गर्दा रु ४० हजार कमाइ हुने गरेको बताउनुभयो । भारतमा मजदुरी गर्न जाँदा त्यति कमाइ गर्न कठिन हुने उहाँको भनाइ छ । ९तस्बीर उपलब्ध छ ।०
Categorized in राष्ट्रिय