STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रेखा गुप्ता बनिन् दिल्लीको नयाँ मुख्यमन्त्री

Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण ९, शुक्रबार

काठमाडौं - रेखा गुप्ता दिल्लीको नयाँ मुख्यमन्त्री बनेकी छिन् । उनले बिहीबार मुख्यमन्त्रीको शपथ लिएकी हुन् । बुधबार उनी भारतीय जनता पार्टीको विधायक दलको नेतामा निर्वाचित भएकी थिइन् । 

भारतको राजधानी दिल्लीमा सारा विश्वको नजर छ । यस्तो अवस्थामा रेखा गुप्ताका लागि दिल्लीको ताज सहज नहुने विश्लेषकहरू बताउँछन् । रेखा गुप्ताले दिल्लीमा कडा प्रतिपक्षको सामना गर्नुपर्नेछ ।

उनले पार्टीभित्र र बाहिरका चुनौतीहरूको सामना गर्नुपर्नेछ । दिल्लीमा कुशल प्रशासन चलाउनु मात्रै होइन, चुनावअघि भाजपाले गरेका वाचाहरू पूरा गर्नु पनि रेखाका लागि चुनौती हुन्  ।

आन्दोलनबाट जन्मिएर एक दशक शासन गरेको आम आदमी पार्टी पहिलोपटक आफ्नो जन्म भएको दिल्लीमा विपक्षमा आएको छ, त्यसैले रेखा गुप्तासामु चुनौतीका पहाड साना हुने छैनन् । 

रेखा गुप्ता दिल्लीकी चौथो महिला मुख्यमन्त्री हुन् । यसअघि सुष्मा स्वराज, शीला दीक्षित र आतिशीले यो पद सम्हालेका थिए।

भर्खरै सम्पन्न विधानसभा चुनावमा उनले शालिमार वागबाट आम आदमी पार्टीकी बन्दना कुमारीलाई करिब ३० हजार मतले पराजित गरेकी थिइन् । 

चुनावपछि दिल्लीको मुख्यमन्त्री पदका लागि प्रवेश बर्मा, विजेन्द्र गुप्ता, अजय महावर र रेखा गुप्तालगायत पार्टीका केही वरिष्ठ नेताहरूको नाम दौडमा थियो। तर अन्ततः रेखा गुप्ताले यो दौड जितिन् ।

रेखा गुप्ता मूलतः हरियाणाकी हुन् । उनी वैश्य समुदायबाट प्रतिनिधित्व गर्छिन् । वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक हेमन्त अत्री भन्छन्, ‘बीजेपीले आमआदमी पार्टीका संयोजक अरविन्द केजरीवालको राजनीतिलाई एकै प्रहारले चुनौती दिएको छ।’’ उनले हरियाणाको पृष्ठभूमि भएका वैश्य वर्गलाई आकर्षित गरिरहेका थिए। भाजपाले यसलाई उल्टाएको छ ।

हरियाणाले देशको राजधानी दिल्लीलाई तेस्रो मुख्यमन्त्री दिएको छ। पहिलो थिइन् सुष्मा स्वराज । दोस्रो, अरविन्द केजरीवाल र अहिले जिन्द जिल्लाको जुलाना क्षेत्रको नन्दगढ गाउँकी रेखा गुप्ता मुख्यमन्त्री बनेकी छिन् ।

दिल्लीको मुख्यमन्त्रीका लागि प्रवेश बर्माको नाम सर्वाधिक चर्चामा रहे पनि अन्तिम समयमा आएर रेखा गुप्ताले बाजी मारिन् । 

Categorized in अन्तर्राष्ट्रिय