STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रुसविरुद्ध पश्चिमा देशहरु एकजुट हुँदै

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र ११, शुक्रबार

एजेन्सी - रुसविरुद्ध पश्चिमा देशहरु एकजुट हुँदै गएका छन् । युक्रेनमा रुसले अतिक्रमण गरेको ठीक एक महिना पछाडि डाकिएको नेटो, ईयू र जी सेभेन सम्मेलनमा पश्चिमा देशहरूले रुसी राष्ट्रपति पुटिनविरुद्ध ऐक्यबद्धता जनाएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडन र युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले रुसले विनाकारण गरेको अनुचित युद्धका विरुद्ध उनीहरू एकताबद्ध भएको बताए । ब्रसल्समा ती सम्मेलनहरूमा ३० जनाभन्दा बढी विश्व नेताहरू सहभागी भएका थिए ।

पश्चिमा देशहरूको सैन्य गठबन्धन नेटो, युरोपेली सङ्घ ईयू अनि सम्पन्न देशहरूको समूह जी सेभेनको अभूतपूर्व शिखर सम्मेलनहरूमा पश्चिमा नेताहरूले रुसविरुद्ध एकता प्रदर्शन गरेका छन् ।

पुटिनले विनाकारण आक्रमण गरेको भन्दै उनीहरूले युक्रेनलाई थप सैन्य सामग्री उपलब्ध गराउने सहमति गरेका छन् ।

उनीहरूले रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाउने र पूर्वी युरोपका चार नेटो सदस्य देशमा थप फौज परिचालन गर्न सहमति जनाए । साथै युक्रेनलाई थप अस्त्र उपलब्ध गराउन पनि उनीहरू सहमत भएको बीबीसीले जनाएको छ ।

ब्रिटेनले युक्रेनलाई दिने क्षेप्यास्त्रको सङ्ख्या दोबरले बढाउने भएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भिडियाे लिङ्कमार्फत् सम्बोधन गर्दै थप मद्दतका निम्ति आह्वान गरेका थिए । जेलेन्स्कीले ट्याङ्कहरू एवं लडाकू विमान माग गरेका थिए ।

नेटो नेताहरूले युक्रेनमा नेटो फौज परिचालन गरिए त्यसले सङ्कट झन् चर्कने र विश्वयुद्धको खतरा बढ्ने जानकारहरू बताउँछन् ।

राष्ट्रपति बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई क्रुरको संज्ञा दिँदै मस्कोले अतिक्रमणबाट चाहेको भन्दा विपरीत अवस्था पाइरहेको बताए ।

रुसविरुद्ध आर्थिक प्रतिबन्धमा समन्वय गर्नुका साथै अमेरिका र ईयूले ऊर्जा आपूर्तिमा सहयोग वृद्धि गर्ने अनि विश्वव्यापी खाद्य सुरक्षा सुधार्न योजना बनाउने सहमति गरेका छन् ।

Categorized in अन्तर्राष्ट्रिय