STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रुपन्देही र बाँकेका दर्जनौँ गाउँ डुबे

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र ११, शुक्रबार

अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्ला बाढी र पहिराेले आक्रान्त बनेका छन् । पहिराेले कतै राजमार्ग नै थुनेकाे छ । कतै पुल नै भासिएकाे छ । रुपन्देही र बाँकेका दर्जनाैँ गाउँ डुबानमा परेका छन् । उता राप्ति उर्लेकाे देखेर आसपासका बासिन्दा डराइरहेका छन् ।

रुपन्देहीकाे दक्षिणी क्षेत्र लुम्बिनी, मर्चवारलगायतका धेरै ठाउँमा बाढी पसेकाे छ । वर्षाका कारण भैरहवा, ओमसतिया, तिलोत्तमा, रुद्रपुरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

यद्यपि, अहिलेसम्म मानवीय क्षति भने नभएको उनले बताए । 'क्षतिको विवरणहरू सङ्कलन गरिहेका छौँ', उनले भने ।

यसैगरी हिजाे बेलुकादेखि परेको पानी नराेकिँदा पूर्व-पश्चिम लोकमार्गको देवदह–७ शीतलनगरस्थित घोडाहा खोलाको पक्की पुल भासिएको छ ।

पुल दबिएपछि सडकमा सवारी आवागमन रोकिएको प्रवक्ता थापाले बताए । पुल भासिएपछि बुटवलतर्फबाट जाने र आउने सवारी साधन सडकमै रोकिएका छन् । यसकाे वैकल्पिक व्यवस्था छैन ।

गएरातिदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपासको क्षेत्र जलमग्न बनेकाे छ । निरन्तरको वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत न्यूरोड, सेतु विक चोक, बेलासपुर, कोरियनपुर, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर, रामलिला मैदान, बाँके गाउँलगायतका स्थानमा पानी जमेर जलमग्न भएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्जमा २० मिलीमिटर वर्षा भएको छ । ढल निकासको उचित व्यवस्थापन नहुँदा नेपालगञ्जमा सामान्य वर्षामा पनि डुबान हुने गरेको छ ।

पानी जमेपछि पैदलयात्रीलाई आवतजावतमा समस्या भएको छ । निरन्तरको वर्षाले सहरका विभिन्न स्थान डुबानमा भएकाले थप जोखिम हुन नदिन उपमहानगरपालिकाले सरसफाइ शाखाका कर्मचारीलाई परिचालन गरेको प्रवक्ता प्रमोद रिजालले जानकारी दिए ।

निरन्तरको वर्षासँगै राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । वर्षाले नदीमा बाढी आउने जोखिमले स्थानीय त्रसित बनेका हुन् ।

बाढी र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

बाँकेको कुसुममा राप्ती नदीको पानीको सतह तीन मिटर पुगेको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत ज्ञवालीले जानकारी दिए । कुसुममा साढे पाँच मिटर सतह पुग्नेबित्तिकै राप्ती नदीको तल्लो तटीय क्षेत्रका दर्जनौँ गाउँ डुब्छन् ।

भारतले अन्तर्राष्ट्रिय नियमविपरीत लक्ष्मणपुर बाँध, कल्कलवा तटबन्ध र सीमा सडक निर्माण गरेपछि वर्षेनी गाउँ डुब्ने गर्दछन् । वर्षाले डुबानको जोखिम बढाएपछि स्थानीय प्रशासनले उद्धार कार्यमा तयारी रहन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ ।

Categorized in अपराध-दुर्घटना