राहदानी विभागमा थेगिनसक्नु भीड
Janjati Khabar – Janjati Khabar | २०८२ कार्तिक १९, बुधबार
काठमाडौं - त्रिपुरेश्वरस्थित राहदानी विभागमा यतिबेला राहदानी बनाउनेहरूको ठूलो घुइँचो देखिएको छ। जेनजी आन्दोलन र दसैँ–तिहारलाई मुख्य कारण मान्दै विभागका अधिकारीहरूले भीड व्यवस्थापन गर्न हम्मेहम्मे परेको बताएका छन्।
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा भीड बढ्नुका मुख्य तीन कारण रहेको बताएका छन्। पहिलो, जेनजी आन्दोलनका क्रममा करिब ६ हजार राहदानी जलेर नष्ट भएका छन् र केही उपकरणमा क्षति पुगेको छ। यसले गर्दा जिल्लाबाट हुने राहदानी वितरणमा ढिलाइ भएपछि सेवाग्राही विभागमा ओइरिएका हुन्।
दोस्रो कारण, आन्दोलन र दसैँ–तिहारका कारण सेवा अवरुद्ध हुन पुग्यो। विदेशबाट पर्व मनाउन आएका धेरै नेपालीहरूले नेपालबाटै राहदानी बनाएर फर्कन खोज्दा पनि चाप बढेको अर्यालले बताए। तेस्रो कारण, अहिले राहदानीका लागि पुरानो सम्झौता सकिन लागेको र फागुन ११ बाट मात्रै नयाँ सम्झौता अनुसार आपूर्ति सुरु हुने भएकाले सङ्क्रमणकालीन अवस्था सृजना भएको छ। यस अवधिमा पुस्तिका अभाव नहोस् भनेर अहिले वितरण सीमित गरिएको उनको भनाइ छ।
महानिर्देशक अर्यालका अनुसार अहिले विभागसँग १ लाख ७९ हजार राहदानी स्टक छ, जुन नियमित माग ९मासिक ९० हजारदेखि १ लाख० अनुसार अझै २ महिनालाई पुग्नेछ।
हाल दैनिक झन्डै ४ हजार ५ सयदेखि ५ हजार राहदानीको माग छ। सामान्य अवस्थामा विभागबाट दैनिक १ हजार २ सय राहदानी वितरण हुने गरेकोमा अहिले विभागले दैनिक १ हजार सामान्य प्रक्रियाबाट र थप २–३ सय जरुरी पर्ने सेवाग्राहीलाई राहदानी दिने गरेको छ। अहिले दैनिक २ हजारदेखि २ हजार ५ सयको हाराहारीमा राहदानी उत्पादन भइरहेको छ।
जलेका करिब ६ हजार राहदानीमध्ये जसलाई जरुरी छ, उसैलाई प्राथमिकता दिएर रि-प्रिन्ट गर्ने काम भइरहेको अर्यालले जानकारी दिए।
महानिर्देशक अर्यालले अहिलेको भीडभाड एक-दुई हप्ताभित्र समाधान हुने र त्यसका लागि विभाग, परराष्ट्र मन्त्रालय र नेपाल सरकारले विभिन्न प्रयास गरिरहेको बताए। उनले सबैलाई आत्तिनु नपर्ने र जरुरी पर्ने सबैले सहज रूपमा राहदानी पाउने व्यवस्था मिलाइने भन्दै एक–दुई हप्ता धैर्य गरिदिन आग्रह समेत गरेका छन्।
Categorized in राष्ट्रिय

