STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राहतको तस्बिर सामाजिक सञ्जालमा नहालौं : कीर्तिपुर मेयर

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २८, शुक्रबार

ललेन्द्र शाक्य

कीर्तिपुर – लकडाउनको समय नगरपालिकाबाट वितरण भइरहेको राहत वितरणको तस्बिर सामाजिक सञ्जालमा पोष्ट नगर्न कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले अनुरोध गरेका छन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जारी लकडाउनको समय नगरबासीको खाद्यान्न समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले राहत वितरण गरिरहेको छ । राहत वितरण प्रचारात्मक कार्य नभएको जनाउँदै मेयर महर्जनले भने, “नगरभित्र दैनिक ज्यालादारी गर्ने मजदुर र विपन्न वर्गलाई राहत दिनु नैसर्गिक अधिकार, कर्तव्य, दायित्व र मानवीय कार्य हो । यो कुनै प्रचारात्मक कार्य हैन । वडा सदस्यहरुले राहत वितरणको तस्बिर रेकर्डको लागि राख्नसक्ने भए पनि सामाजिक सञ्जालमा पोष्ट गरेर प्रचारबाजी नगर्न म अनुरोध गर्दछु ।” सामाजिक सञ्जालमा राहत वितरणका तस्बिर पोष्ट गर्नु ढोंगी र स्वार्थपूर्ण कार्य भएकोले राहत वितरणलाई प्रचारात्मक नबनाएर मानवीय कार्यको रुपमा अघि बढाई यसप्रति सम्वेदनशील हुन पनि मेयर महर्जनले अनुरोध गरेका छन् । कीर्तिपुर नगरपालिकाले विभिन्न संघसंस्थासँग समन्वय गरी नगरभित्रका १० वटै वडामा राहत वितरण गरिरहेको छ । यसको साथै लकडाउनको समय नगरपालिकाले ट्यांकरबाट पानी वितरण पनि गरिरहेको छ ।
Categorized in उपत्यका