STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

रासस नेपाल भाषा समाचार सेवा’ सुरु भएकामा स्वागत

Janjati Khabar – रासस | २०८१ कार्तिक १, बिहिबार

काठमाडौँ, नेपाल भाषा समुदाय र सम्बद्ध विभिन्न  सङ्घसङ्गठनले राष्ट्रिय समाचार समितिबाट ‘नेपाल भाषा समाचार सेवा’ आरम्भ भएकामा खुसी व्यक्त गर्दै स्वागत गरेका छन् ।
नेवा देय् दबु, नेपाल भाषा एकेडेमी, काठमाडौँ महानगरपालिका, भाषा आयोग, विराट् नेपाल भाषा सम्मेलन, न्हूदँ समारोह समिति, मङ्का खलःका प्रतिनिधि, सञ्चारकर्मी, पूर्वमन्त्री तथा  भाषिक आन्दोलनका अगुवाले रासस कार्यालयमा उपस्थित भएर यसको निरन्तरताका लागि सहयोग र समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनीहरूले रासस मातृभाषा सेवा सुरु गर्न पहलकदमी लिने रासस व्यवस्थापन, कर्मचारी र  सरकारलाई धन्यवाद पनि दिँदै राससका कार्यकारी अध्यक्ष  धर्मेन्द्र झा र महाप्रबन्धक सिद्धराज राईलाई खादा ओढाएर सम्मान गर्नुभयो । राससले गत वर्ष पुस २३ मा नेपालगन्ज उपमहानगरपालिकाका सहयोगमा  मातृभाषा ‘अवधी’ तथा गत असोज २९ गते ‘मैथिली’ र ‘नेपाल भाषा’ सेवा सुरु गरिसकेको छ ।  रासस ‘मैथिली’ र ‘नेपाल भाषा’ समाचार सेवाको विधिवत् उद्घाटन भने सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङबाट यही कात्तिक ४ गते अपराह्न हुँदै छ ।
सो अवसरमा नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले  समावेशी नेपाल निर्माण गर्न राज्यले सबै समुदायका भाषा, संस्कृति आदि पक्षलाई समेट्नुपर्नेमा जोड दिनुभयो । पूर्वराज्यमन्त्री दिलीप महर्जनले राससबाट  नेपाल भाषा समाचार सुरु हुनु एकदमै खुसीको कुरा भएको बताउँदै यसलाई उत्कृष्ट बनाउन सबैले सहयोग र मेहनत गर्नुपर्छ भन्नुभयो ।
राससका पूर्वअध्यक्ष तथा महाप्रबन्धक मल्ल के सुन्दरले राससले नेपाल भाषा समुदायको भावनाको प्रतिनिधित्व गरेकामा खुसी व्यक्त गर्दै यसको स्थायित्व, निरन्तरता, गुणस्तरीयता र विकासका लागि कामना गर्नुभयो ।  भाषा आन्दोलनका अगुवा मल्लले भन्नुभयो, “रासस मातृभाषा समाचार सेवाको प्रचारप्रसार गर्न र यसको बजारीकरणका लागि  हामी पनि टेवा दिन्छौँ । नेपाल भाषाको हिज्जे र व्याकरणगत शुद्धाशुद्धिका लागि रासस नै दृष्टान्त, मानक र नमुना बन्नुपर्छ । यसका आफ्नै विसर्ग, प्रत्यय, हलन्त, संयुक्त वाक्य प्रयोगका नियम छन् । राससको जनशक्तिलाई विशेषज्ञबाट अभिमुखीकरण गराउनु जाती होला । नेवारी संस्कृतिबारे  भने नेपाल भाषा एकेडेमीबाट प्रकाशित ज्ञानकोशलाई पनि सन्दर्भ सामग्रीका रूपमा लिन सकिन्छ ।”
‘नेवाः अनलाइन न्युज’ का प्रकाशक । सम्पादक सुजीव बज्राचार्यले रासस नेपाल भाषा प्रयोग गर्ने सबै सेवाग्राही अनलाइन, पत्रपत्रिका, टेलिभिजन  र  रेडियोसँग अन्तरक्रिया गर्न  तथा समाचारको ‘डेटलाइन’मा  नेपाल संवतमा महिना र तिथि पनि समावेश गर्न सुझाव दिनुभयो । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले रासस नेपाल भाषा समाचार सेवाको निरन्तरताका लागि कामपाबाट सहयोग गरिने वचनबद्धता व्यक्त गर्नुभयो ।
सहभागी भाषा आयोगका सदस्य सुरेश किरण, नेवा देय् दबुका अध्यक्ष पवित्र बज्राचार्य तथा भाषा आन्दोलनकर्मी डा पुष्पराज राजकर्णिकार, प्रा डा नरेशमान बज्राचार्य, महेन्द्रगोपाल कर्माचार्य, ज्ञानराम श्रेष्ठ, उमेश स्थापितलगायतले काठमाडौँ उपत्यका र  अन्य जिल्लामा हुने भाषिक, साहित्यिक एवं सांस्कृतिक गतिविधि रासस समाचारका रूपमा दैनिक समेट्न सुझाव दिनुभयो ।    
प्रत्युत्तरमा राससका अध्यक्ष झाले राससले मातृभाषा सेवा सुरु गर्न दुई वर्षदेखि गृहकार्य गरेको र सरकारबाट तीन भाषाका लागि चालु आवमा रु २४ लाख विनियोजन गरेको जानकारी दिँदै यसको दिगोपनाका लागि मातृभाषा समाचार कोष खडा गर्न आह्वान गर्नुभयो । उहाँले स्थानीय तहबाट अनुदान आएमा मातृभाषा सेवालाई निरन्तरता दिन सकिने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँका अनुसार तीनै भाषाका समाचार निःशुल्क दिइने र  बढीभन्दा बढी मिडियामा सेवा पु¥याउन प्रयत्न गरिने छ ।
राससका महाप्रबन्धक राईले बढीभन्दा बढी समुदायसँग राससलाई  जोड्न प्रयत्न  गरिने जनाउँदै मातृभाषी समुदायसँग पनि नियमित अन्तरक्रिया गरिने कार्यक्रम संस्थाको रहेको बताउनुभयो  ।
रासस मैथिली र नेपाल भाषा समाचार सेवा वर्तमान सरकारको सयदिने र तिनमहिने कार्यक्रममा पनि समाविष्ट छ । राससले गत भदौ १७ गतेदेखि २४ घन्टाको सेवा पनि दिन थालेको छ ।

Categorized in राष्ट्रिय